• १६ भदौ २०८१, आइतबार

नेपाली चलचित्रलाई हल दिएन भनेर बदनाम गर्न खोजियो : भुवन केसी

blog

काठमाडौं, भदौ २८ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको बताउनुभएको छ । मङ्गलवार नेपाली चलचित्र 'सायरा' निर्माण घोषणा कार्यक्रममा बोल्दै उहाँले आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, "नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ । तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरूले खेलेका सिनेमालाई हुनुपर्छ । बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन साे दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ ।"

उहाँले नेपालमा नेपाली फिल्मले सोचेजति माया र साथ नपाएको गुनासो पोख्दै आगामी दिनमा नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरूको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । चलचित्र 'सायरा'मा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ । 

चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नुहुनेछ भने सोसल ड्रामा र लभ स्टोरीमा आधारित फिल्मको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । 

अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।