• १३ साउन २०८१, आइतबार

युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै

blog

बाबुराम देवकोटा

सिन्धुलीगढी (सिन्धुली), भदौ २५ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा नेपाली सेनाले बनाएको युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै गएको छ ।

एक वर्षअघि सेनाबाट नगरपालिकाले युद्ध सङ्ग्रहालयको स्वामित्व पाएसँगै अवलोकनका लागि खुला गरेपछि अहिले सङ्ग्रहालय हेर्न आउनेहरूको सङ्ख्या दैनिक बढ्दै गएको छ । युद्ध सङ्ग्रहालय हेर्न भनेर नै सर्लाहीको लालबन्दीबाट आउनुभएका मनीष साह सङ्ग्रहालय लोभ लाग्दो पाएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्ग्रहालयभित्र सङ्ग्रह गरी राखिएका ऐतिहासिक वस्तुहरू भोलिका पुस्ताका लागि समेत उत्तिकै उपयोगी रहेछन् । पहिलो पटक सिन्धुलीगढी घुम्न आएको थिएँ, उत्साही भएर फर्किंदै छु ।” अहिले दैनिक कम्तीमा चार सयभन्दा बढी मानिस युद्ध सङ्ग्रहालय र सिन्धुलीगढी घुम्न आउन थालेको कमलामाई नगरपालिकाले जनाएको छ । 

सङ्ग्रहालयको परिसरमा निर्माण भएको वीर योद्धाहरू श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण शाहको पूर्णकदको सालिकले सिन्धुलीगढीको ऐतिहासिक महìवलाई बढावा दिएको गढी घुम्न आउनुभएका स्थानीय बलराम बरालले बताउनुभयो । नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार सङ्ग्रहालय दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने र अवलोकन गरेबापत नेपाली नागरिकले प्रतिव्यक्ति ५० रुपियाँ र विदेशी नागरिकले त्यसको दोब्बर शुल्क तिर्नुपर्दछ । उहाँले भन्नुभयो, ‘युद्ध सङ्ग्रहालय हेर्न आउनेमध्ये ४५ प्रतिशत भारतीय नागरिक हुन्छन् ।’ 

सिन्धुलीगढीमा बागमती प्रदेश सरकारको साढे चार करोड रुपियाँ लगानीमा रानीदरबार निर्माण कार्य आन्तिम चरणमा पुगेको छ । त्यस्तै सिन्धुलीगढी युद्धमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको रक्ते छाँगोमा समाधिपार्क निर्माणको तयारी भइरहेको छ । यी संरचना निर्माण भएपछि सिन्धुलीगढी घुम्न आउनेबाट थप आम्दानी हुने नगरपालिकाले जनाएको छ । 

पहिले नाममात्रको रहेको सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माणपछि घुम्न लायक ठाउँ भएको स्थानीय खनिया खर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेत बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जतिसुकै व्यस्त मान्छे अहिले सिन्धुलीगढी पुगेपछि कम्तीमा पनि डेढ घण्टा समय खर्च भएको पत्तै पाउँदैन ।”

सङग्रहालयभित्र गढीको ऐतिहासिक र सामरिक महìवको वृत्तचित्र थिएटरमार्फत हेर्न पाउने व्यवस्था मिलाइएको छ । सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल माघदेखि वद्र्धबहादुर गणले बनाउन सुरु गरेको युद्ध सङ्ग्रहालय करिब सात करोड रुपियाँ लागतमा निर्माण भएको हो । 

नेपाल एकीकरणका बेला वि.सं. १८२४ असोज १५ गते काठमाडौँ कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले हराएको थियो ।