गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २१ गते । जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ ।
बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट २०२५ु को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट टुरिजम् मिनिस्टर अफ द एयर अवार्ड प्रदान गरिएको हो । सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदैआएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ ।
नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु मन्त्री पाण्डेको कुशल नेतृत्व तथा नेपाल सरकारको पर्यटन प्रबर्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाको अन्तर्राष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीले प्रतिक्रिया दिएका छन् । नेपालको पर्यटन प्रबर्धनमा गरेको योगदानका लागि अन्तर्राष्ट्रियस्तरमा सम्मानित गरिएकाले यो अवार्ड नेपालकै पर्यटन क्षेत्रका लागि गौरवको विषय भएको बताइएको छ ।
अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि सम्मानका रूपमा लिनुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठुलो योगदान गरिरहेको बताउनुभयो । प्रविधिलाई समुदाय सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ, मन्त्री पाण्डेले भन्नुभयो ।
यसअघि मन्त्री पाण्डेले आईटीबी मिनिस्टर्स समिट २०२५ मा सहभागी हुनुभएको थियो । लगानी वृद्धि, शान्ति सुनिश्चितता, विकासको उपयोग, भविष्य निमार्ण विषयक उक्त सम्मेलनमा मन्त्री पाण्डेले नेपालमा पर्यटन क्षेत्रलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गर्नुभएको थियो ।