काठमाडौँ, फागुन २१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरूसँग छलफल गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि मन्त्री भण्डारीले दुवै पक्षसँग छलफल गर्नुभएको हो ।
छलफलका क्रममा निर्माण व्यवसायीले सिमेन्ट उत्पादकले बढाएको मूल्य यथावत् राखेको गुनासो गरेका छन् भने उत्पादकले मूल्य घटेको दाबी गरेका छन् । उद्योगमन्त्री भण्डारीले सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरेको अवस्थामा सरकारले अन्य विकल्प खोज्न बाध्य हुने बताउनुभयो ।
सिमेन्ट उद्योगीले बढेकै मूल्यमा कारोबार गरिरहेको गुनासो
गत महिना सिमेन्टको भाउ अस्वाभाविक रूपले बढाइएको आमउपभोक्ता तथा निर्माण व्यवसायीको गुनासो थियो । सिमेन्ट उत्पादक र निर्माण व्यवसायी एकअर्काका परिपूरक भएकाले नजिकको दुरी बनाएर अघि बढ्न मन्त्री भण्डारीले सुझाव दिनुभयो ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रविसिंहले अधिकांश सिमेन्ट उद्योगीले बढेकै मूल्यमा कारोबार गरिरहेको गुनासो गर्नुभयो । “जिल्ला दररेटमा केही रकम थप गरेर बिक्री गर्न भएको सहमति कार्यान्वयन भएको छैन,” उहाँले भन्नुभयो, “केही उद्योगीले धेरथोर मूल्य घटाए पनि अधिकांशको मूल्य यथावत् छ ।”
सिमेन्ट उत्पादकले कार्टेलिङसमेत गरिरहेको निर्माण व्यवसायीको आरोप छ । सिमेन्ट उत्पादकले भने गत महिनामन्त्री भण्डारीकै पहलमा भएको सहमतिलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । उनीहरूले जिल्ला दररेट कायम गर्ने बेलाको औसत मूल्यभन्दा ११५ रुपियाँ बढीमा सिमेन्ट बिक्री गरिरहेको दाबी गरेका छन् । सो मूल्यभन्दा दायाँबायाँ भएको अवस्थामा आफूहरू कारबाही सहन तयार रहेको उनीहरूको प्रतिबद्धता छ ।
सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघु नन्दन मारूले सिमेन्टको मूल्य घटाएको दाबी गर्नुभयो । उहाँले मन्त्रीसामु गरेको प्रतिबद्धता पूर्णपालना गरेको दाबी गर्दै कुनै कम्पनीले उधारोमा कारोबार गर्दा केही रकम बढी लिएको हुन सक्ने भए पनि समग्रमा त्यस्तो छैन भन्नुभयो । सहमतिका आधारमा कारोबार भइरहेको बताउँदै उहाँले सिमेन्टमा कार्टेलिङ नभएको दाबीसमेत गर्नुभयो ।