यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), फागुन २१ गते ।बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरबाबा नगरपालिका वडा १ की राधा बोहोराको हत्याको आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षिय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षिया उमाकुमारी खत्री पक्राउ परेका हुन् ।
गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरमा राधा बोहोराको लाश फेला परेको थियो । प्रहरीले लाश फेला पारेपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।
हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताउनुभयो । हालसम्म लेनदेन र घरायसी दुस्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उहाँले बताउनुभयो ।
घटना कहिले र के कसरी भएको भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताउनुभयो । मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खामोमा बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइ अनुसन्धान सुरु गरेको थियो ।