• ५ असार २०८२, बिहिबार

भूकम्प गएको १९ महिना पूरा

भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

blog

सानीभेरी गाउँपालिका–२, गिठाकोटमा निर्माण भएका भूकम्प प्रभावितका टहरा । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार ५ गते । रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो भइरहेको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भएका दुई हजार एक जना प्रभावितले अझैसम्म पनि टहरा निर्माणको रकम पाएका छैनन् । 

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक कुलबहादुर जिसीका अनुसार मुसीकोट नगरपालिकाका एक हजार ३५६, त्रिवेणी गाउँपालिकाका २४३ र बाँफीकोट गाउँपालिकाका ४०२ जना भूकम्प प्रभावितले टहरा निर्माणको रकम पाएका छैनन् । 

उनीहरूलाई टहरा निर्माण पहिलो र दोस्रो किस्ताबापत १० करोड ५० हजार रुपियाँ आवश्यक रहेको छ । जिल्लामा ३४ हजार ९९७ लाभग्राही रहेका छन् । जसमध्ये ३२ हजार ९९६ जनाले पहिलो किस्ता र ३१ हजार ८८१ लाभग्राहीका लागि रकम निकासा पठाइसकिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार एक जनाको फाइल तोकिएको मितिमा आउँदा पनि विपत् पोर्टलमा समावेश हुन छुटेका कारण टहरा निर्माणको रकम नआएको बताइएको छ । 

बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले अहिलेसम्म प्रभावितलाई प्राधिकरणले चिन्न नसकेको बताउनुभयो । पुनर्निर्माण नै सकिनुपर्ने बेलामा टहराको रकम नआउनु दुर्भाग्य भएको उहाँको भनाइ छ । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले दुई हजार एक जना भूकम्प प्रभावितले टहरा निर्माण गरेर पनि राज्यले दिने भनेको अनुदान नपाउनु संवेदनशील विषय रहेको जनाउनुभयो । 

यस विषयमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राधिकरणका उपसचिव ज्ञाननाथ ढकालले पहिलो किस्ता नै नपाएका दुई हजार एक जनाको विषयमा प्राधिकरणको कार्यकारी समितिमै कुरा लग्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

भूकम्पका कारण रुकुमपश्चिममा मात्र ५३ जनाको मृत्यु भएको थियो भने ४०७ जना घाइते भएका थिए । २६८ वटा विद्यालयमा क्षति भएको थियो भने बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिसमेत गरेर २५ हजार ५८४ जनसङ्ख्या प्रभावित भएको थियो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्क अनुसार १२ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो भने ४० करोड १० लाख बराबरको सडक क्षति भएको थियो ।