अहिले मध्यपूर्व तनावग्रस्त छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला गएको सातादेखि इजरायल र इरानबिच युद्ध चर्केको छ । दुवै मुलुक एकअर्काविरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भएका छन् । विवादास्पद परमाणु कार्यक्रमलाई लिएर इजरायलले शुक्रबार बिहानै इरानमाथि भीषण हवाई आक्रमण सुरु गरेपछि इरान प्रत्याक्रमणमा उत्रेको हो । सात दिनदेखिको युद्धमा जनधनको व्यापक क्षति भएको छ । एक अर्काविरुद्ध गोलाबारुद, क्षेप्यास्त्र, बम, ड्रोन प्रहार गरी आक्रमण भइरहँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । अहिलेसम्मको घटनाक्रमले के देखाएको छ भने यो युद्धमा इरानभन्दा इजरायल शक्तिशाली देखिएको छ । जनधनको क्षतिको हिसाबले पनि इरानको तुलनामा इजरायलमा कम क्षति भएको छ । इजरायलले बङ्करमा राखेर नागरिकलाई सुरक्षा दिइरहेको छ । तैपनि दुवै देशमा अशान्ति छ, आमनागरिक त्रासमा छन् । कति बेला को कहाँ मारिने हो वा घाइते हुने हो भन्ने त्रासमा नागरिक सुरक्षाको खोजीमा छन् । यस्तो अवस्थामा नेपाल सरकारले इरान र इजरायलमा रहेका नेपालीको आवश्यक उद्धारका लागि तयारी सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युद्धरत इजरायलमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित गर्दै उद्धार गर्ने विषयमा कार्ययोजना बनाएको छ । श्रम मन्त्रालयमा बसेको आपत्कालीन बैठकले कार्ययोजना बनाएको हो । बैठकले गएको शुक्रबारदेखि इजरायल र इरानबिच युद्ध चर्किन थालेसँगै मध्यपूर्वी देशमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षित गर्ने र उद्धार गर्ने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने विषयमा सहमति गरेसँगै स्वदेश फर्कन चाहने नेपालीमा आशा पलाएको छ । बैठकमा नेपाली श्रमिकको उद्धार गर्न राज्यका सबै संयन्त्र परिचालन गर्ने र आवश्यक स्रोत जुटाउने निर्णय भएको छ । त्यस्तै स्थलगत मार्गबाट उद्धार गर्न छिमेकी देशमा प्रवेश गर्न सीमामै भिसा उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल सरकारले आपत्कालीन कामबाहेक मध्यपूर्व क्षेत्रमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ ।
अहिले युद्धग्रस्त क्षेत्रका नेपालीलाई मानसिक परामर्श सेवा सुरु गर्ने, मध्यपूर्वमा श्रमिक नलैजान रोजगारदातालाई अनुरोध गर्ने, श्रमिकको हवाई टिकट सार्न लाग्ने खर्च मिनाहा गर्न पर्यटन मन्त्रालयमार्फत उडान कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै नेपाली दूतावासलाई आवश्यक स्रोत उपलब्ध गराउने र आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि स्थान दिन भारत र चीनलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । भारत र चीनले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार सुरु गरेका छन् । इजरायलमा कार्यरत नेपाली श्रमिकमध्ये धेरैले आफू सुरक्षित भएर काम गर्ने तर अहिले नै स्वदेश नफर्कने जानकारी पनि गराएका छन् । कतिपय चाहिँ स्वेदश फर्कन आतुर पनि छन् । युद्धसँगै असुरक्षा पनि बढेकाले त्रसित भएको मनोविज्ञान प्रकट गरेको हुँदा नेपाली श्रमिकलाई मनोपरामर्श सेवा दिनुपर्ने अवस्था पनि देखिएको छ । इजरायलमा रहेको नेपाली दूतावासका अनुसार त्यहाँ पाँच हजारभन्दा बढी नेपाली छन् । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो पटक दुई सरकारबिच जिटुजी गरेर गएकाको सङ्ख्या एक हजार ८८८ जना छन् । अन्य कृषिमा काम र अध्ययन गर्न र अन्य देशबाट विभिन्न काम गर्न त्यहाँ पुगेका छन् । इजरायलको अवस्था सहज नभएकाले अहिले सहायक श्रमिक केयर गिभरमा इजरायल जाने भिसा र टिकट लिएर बसेका ३५ जनाको टिकट रद्द गरिएको छ । इजरायलमा केयर गिभरमा जान असार ७ गते शनिबारका लागि टिकट लिएकालाई तत्काल नपठाउन इजरायली पक्षबाट पत्राचार भएपछि उनीहरूको टिकट रद्द गरिएको हो ।
युद्धबाट बढी प्रभावित इरानमा पनि केही नेपाली कार्यरत छन् । त्यहाँको अवस्था अत्यारलाग्दो छ । इजरायलले इरानको राजधानी तेहरान खाली गर्न आदेश गरेसँगै त्यहाँ झन् ठुलो त्रास छ । तेहरानबाट धमाधाम मानिसहरू अन्यत्र जान थालेका छन् । त्यहाँ भीषण रूपमा बमबारी भइरहेको छ । इजरायलभन्दा पनि इरानमा रहेका नेपालीलाई छिटोभन्दा छिटो उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्था छ । इरानलाई आत्मसमर्पण गर्न वा घातक परिणाम भोग्न अमेरिकाले चेतावनी दिएको छ । इरानले आत्मसमर्पण गर्न मानेन भने इजरायललाई साथ दिँदै इरानविरुद्ध थप कारबाही गर्ने सङ्केत अमेरिकाले गरेको छ । इरानले भने आत्मसमर्पण नगर्ने बताएको छ । यसले गर्दा युद्ध लम्बिने र परिस्थिति अरू जटिल बन्ने खतरा देखिएको छ । यस्तो अवस्थामा इजरायल र इरानमा मात्र होइन खाडी क्षेत्रमा रहेका लाखौँ नेपालीको जीवन सुरक्षा गर्न नेपाल सरकारले भरपर्दो व्यवस्थाका लागि पहल गर्नुपर्ने अवस्था देखिएको छ । युद्ध रोकी वार्ताद्वारा समस्या समाधान गर्नतिर लाग्ने हो भने अहिले त्यस क्षेत्रमा देखिएको यो अत्यासलाग्दो अवस्थाले सहजै निकास पाउने छ ।