नारद कोहार
तौलिहवा(कपिलवस्तु), फागुन २१ गते। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कपिलवस्तुको मोतिपुर–तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा तौलिहवा वितरण केन्द्रको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ। उहाँले ३३ केभीका स्वीच अन र भवनको शिलामा लेखिएको ब्यानर उघारेर उद्घाटन गर्नुभएको हो।
कार्यकारी निर्देशक घिसिङ लामो समयदेखि अवरुद्ध रहेको ३३ केभीको डबल सर्किट लाइन सुचारु गर्न सरकार र गृह मन्त्रालयले सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ । तौलिहवा वितरण केन्द्र कपिलवस्तुले राखेको कार्यक्रममा उहाँले विद्युत लाइन प्रसारण विस्तारमा आउने अवरोधमा सरकार र गृह मन्त्रालयबाट पुरा सहयोग पाइरहेको बताउनुभयो।
उहाँले जिल्लास्थित सुरक्षा निकायबाट विशेष सहयोग पाइरहेकोले विद्युत प्रसारणमा आउने समस्या समाधान हुने गरेको समेत बताउनुभएको छ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले विकास निर्माणमा समन्वयकारी भूमिका खेल्ने गरेको बताउनुभयो। विद्युत प्रसारण लाइन विस्तार गर्ने क्षेत्रका जग्गाका लागि केही प्रवधान परिवर्तन गर्नु आवश्यक रहेको प्रजिअ अर्यालको भनाइ छ।
प्राधिकरणको प्रादेशिक प्रमुख हरिप्रसाद पाण्डेले चुहावट नियन्त्रणमा बिगतमा जस्तै सुरक्षा निकायले साथ दिनुपर्ने बताउनुभयो। उहाँले विद्युत विस्तार कार्य जारी रहेने बताउनुभयो।
कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निञ्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी. लगायतलाई प्रमाणपत्रसहित सम्मान गरेका छन्।
कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्बिनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, विभिन्न वितरण तथा ग्रिडका प्रमुख लगायतको सहभागिता रहेको थियो।