गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा परिवर्तनको अनुभूति हस्तान्तरण गर्न नसकिएको बताउनुभएको छ ।
मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशन समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताउनुभयो ।
अहिले समाजमा निराशा, असन्तुष्टि र अराजकता उत्पन्न हुनुको कारण उपलब्धी गर्न नसकेकै कारण भएको बताउनुभयो । ‘आफूले गरेको काम समाजमा सम्प्रेषण गर्ने कुरामा हामी चुकेका छौँ’ उहाँले भन्नुभयो । राजनीतिक र सामाजिक क्षेत्रमा गरेको कामको अनुभूति नयाँ पुस्तालाई गराउने कुरामा पार्टी र सामाजिक संस्था चुकेको उहाँले बताउनुभयो ।
कुनै पनि राष्ट्रको समृद्धि र विकासका लागि बलियो राजनीतिक दल आवश्यकता रहेको उहाँले बताउनुभयो । यसको लागि जनमतलाई ध्रुवीकरण गर्नुपर्ने पोखरेलले बताउनुभयो । ‘त्यस कारण अब नेपाली समाजमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ, धेरै संघ संगठन होइन बलियो संगठित शक्ति आवश्यक पर्दछ’ उहाँले भन्नुभयो ।
समाजलाई अघि बढाउन नागरिक कर्तव्यसहितको अधिकारको अवधारणा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । नागरिक कर्तव्यविनाको अधिकार अराजक हुने पोखरेलले स्पष्ट पार्नुभयो । जनतासँग नजोडिएको राजनीतिले मुलुकको विकास र समृद्धि गर्न नसक्ने उहाँले बताउनुभयो । मुलुकको विकासको लागि व्यक्ति मात्र बलियो भएर नहुने बताउँदै उहाँले त्यसको लागि राज्य बलियो हुनुपर्ने स्पष्ट पार्नुभयो ।
नेपालको राजनीतिमा महिलाको सहभागिता शत प्रतिशत हुनसक्ने कानुनी प्रबन्ध रहेको बताउँदै पोखरेलले व्यवहारमा त्यो ३३ प्रतिशत मात्र सीमित रहेको बताउनुभयो । अधिकार दिएर मात्र नहुने बताउँदै उहाँले त्यो आर्थिक र सामाजिक कुरामा केन्द्रित हुने स्पष्ट पार्नुभयो । त्यसैले अबको लक्ष आर्थिक सामाजिक परिवर्तनको दिशामा केन्द्रित हुनुपर्ने उहाँले धारणा राख्नुभयो ।
राजनीतिक दलहरूले शासन गरेको समयमा पनि राजनीतिक अस्थिरताको कारण काम गर्ने वातावरण नबनेको उहाँले बताउनुभयो । ३२ सिटे दलले ठुला पार्टी माथि शासन गर्ने अवस्थामाले देश अस्थिरताको भुमरीमा फसेको उहाँले बताउनुभयो ।
सात बुँदे सहमतिका जगमा कांग्रेस र एमालेको सरकार बनेको पोखरेलले स्पष्ट पार्नुभयो । देशको विकास र समृद्धिको लागि नियन्त्रणकारी कानुन होइन सहजीकरण गर्ने कानुन बन्नुपर्छ भनेर अहिलेको सरकारले कानुनी र शासकीय सुधारको काम अघि बढाएको पोखरेलले बताउनुभयो । देशलाई स्थायित्वतर्फ लैजानु पर्छ भन्ने कुरामा कांग्रेस र एमाले स्पष्ट रहेको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बन्नबाट अब कसैले रोक्न नसक्ने बताउँदै पोखरेले पार्टीलाई निर्णायक शक्ति बनाउने अभियानमा जुट्न पार्टी र जनसंगठनका नेतालाई आह्वान गर्नुभयो । त्यसको लागि एमालेविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम चिर्ने काममा लाग्ने पनि उहाँले आग्रह गर्नुभयो ।