• २२ फागुन २०८१, बिहिबार

पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न निर्देशन

blog

मुख्यमन्त्री सतिशकुमार सिंहसँग छलफल गर्दै कुखुरापालक संघका पदाधिकारी।

धीरेन्द्रप्रसाद साह

जनकपुर, फागुन २१ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका उच्च सुरक्षा अधिकारीलाई खुला सीमा नाकाबाट भित्रिरहेको अवैध पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गर्न निर्देशन दिनुभएको छ। भित्रिरहेको अवैध पोल्ट्रीजन्य पदार्थका कारण पोल्ट्री व्यावसायमा संकट उत्पन्न भएको र बर्ड फ्लु जस्ता रोग फैलिने जोखिम रहेको बताउँदै उहाँले अवैध आयात नियन्त्रणका लागि सुरक्षा उपायको कडाइ गर्न निर्देशन दिनुभएको हो।

मधेश प्रदेशका विभिन्न नाकामा अवैध ढंगले अण्डा, चल्ला, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार भइरहेको कुरा नेपाल बोइलर कुखुरा पालक संघले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो। 

पोल्ट्रीजन्य पदार्थको खुला बिक्रीवितरणमा साना पूँजी भएका व्यक्तिको संलग्नता रहेको र यसका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने आशंका व्यक्त गर्दै मुख्यमन्त्री सिंहले चेतनामूलक कार्यक्रमको महत्त्वमा जोड दिनुभएको छ। उहाँले सुरक्षा अधिकारीलाई अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो।

मधेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार र दोस्रो चरणमा कानुनी कार्यवाही गरेर अवैध पोल्ट्रीजन्य पदार्थलाई नियन्त्रणमा लिने योजना तयार भएको जानकारी दिनुभयो। 

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नं. २ मुख्यालयका प्रमुख कालीदास धौवजीले सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेको र यसलाई थप तीव्रता दिने कुरा बताउनुभयो। कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले मुख्यमन्त्री सिंहको नेतृत्वमा अवैध अस्पतालविरुद्धको अभियान जस्तै पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पनि प्रभावकारी कदम चालिने विश्वास व्यक्त गर्नुभयो।