• ८ वैशाख २०८२, सोमबार

बोराङखोला–बिचौर सडक अलपत्र

blog

निर्माणाधीन बोराङखोला–बिचौर सडक । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदाता

लमजुङ, फागुन २२ गते । गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफ लाइन’ सडकका रूपमा रहेको बोराङखोला–बिचौर सडक कालोपत्रको काम अलपत्र परेको छ ।

राइनास नगरपालिका–२, बोराङखोला बजारदेखि दुधपोखरी बिचौर जोड्ने ४.०२ किलोमिटर सडक कालोपत्रको काम बजेट नआउँदा अगाडि बढ्न नसकेको हो । भ्याटसहित ११ करोड ३५ लाख रुपियाँमा ठेक्का लागेको यो सडकमा २२ प्रतिशत मात्र काम भएको छ । चालु आर्थिक वर्षमा आएको दुई करोड रुपियाँको काम भए पनि बाँकी रकम नआउँदा कामको गति दिन नसकिएको निर्माण कम्पनी रामसागर विके एसके जेभीले जानकारी दिएको छ । बजेट नभएपछि सडक निर्माणबाट निर्माण व्यवसायीले कामदार घटाएको छ । 

पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी इन्जिनियर नरेशराज जोशीका अनुसार सो सडकमा स्ट्रक्चरको काम सम्पन्न भएको छ । मेसिनरी टेवा पर्खालको काम भइरहेको छ । सम्याउने, बेस राख्नेलगायता काम बाँकी नै छ । जोशीले भन्नुभयो, “मन्त्रालयबाट थप बजेट नआउँदा काम अलि सुस्त भएको हो । अब दुई/तीन महिनामा रकमान्तर भएर बजेट आउने सुनेका छौँ । त्यसपछि काम अघि बढ्छ ।”

सडक निर्माणको काम रोकिएपछि स्थानीय चिन्तित भएका छन् । सडक निर्माणको काम नहुँदा धुलाम्मे भएर हिँडडुल गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन् । इलमपोखरीका केबी गुरुङले भन्नुभयो, “छिटो काम सम्पन्न भए सुबिस्ताले हिँड्न पाइन्छ कि भन्ने आशमा थियौँ । बजेट अभावले काम रोकियो भन्ने सुन्दा दुःख लागेको छ । सरकारले छिटो बजेट पठाइदिए हुन्थ्यो ।”