• १३ साउन २०८१, आइतबार

वरिष्ठ पत्रकार दाहालसहित पाँच पत्रकार सम्मानित

blog

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई सम्मान गर्नुहुँदै पूर्वराष्ट्रपति डा‍. रामवरण यादव । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २४ गते। पूर्वराष्ट्रपति डा. रामवरण यादवद्वारा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सम्मानित हुनुभएको छ। 

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलले धर्मपत्नी तेजमाया डंगोलको नाममा स्थापना गर्नुभएको तेज–तीर्थ ट्रष्टद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विचारको स्वतन्त्रता, मानवअधिकार, शान्ति र लोकतन्त्रका लागि अनवरतरुपमा कलम चलाउँदै आउनुभएका दाहाललाई एक लाख रुपियाँ राशिसहित सम्मान गरिएको हो।



यसैगरी, वरिष्ठ पत्रकार कविर राणा, युवा पत्रकार राधिका बुढाथाकी र नेवारी भाषा तथा साहित्यमा योगदान पुराउँदै आउनुभएका काशीनाथ तमोट र श्रीमती प्रकाश प्रधानांगलाई जनही ५० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ। 

कार्यक्रममा सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति डा. यादवले संघीय लोकतान्त्रिक गणतन्त्र सामान्य संघर्षबाट नआएको स्मरण गर्नुभयो। उहाँले वर्तमान संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न नसके के हुन सक्छ भन्ने प्रश्न गर्नुभयो। १०९ औं बीपी जयन्तीको सन्दर्भमा उहाँले बीपीको आदर्शलाई राजनीतिक दलहरुले बुझ्न जरुरी रहेको भनाइ राख्नुभयो।

कार्यक्रममा ट्रष्टका अध्यक्ष डंगोलसहित कांग्रेस नेता भीमसेनदास प्रधानले मन्तव्य राख्नुभयो। यसैगरी, सम्मानित हुनुहुने वरिष्ठ पत्रकार राणा र तमोटले पनि वक्तव्य राख्नुभएको थियो।