• १ असार २०८२, आइतबार

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

blog

उपाधि विजेता बागमती टोली ।

काठमाडौँ, जेठ ३१ गते । बागमती प्रदेशले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ सात प्रदेश सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप(को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो स्थानमा सीमित भयो । 

सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पारेको छ । ११, १२ र १३औँ संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेश्रो स्थानमा चित्त बुझायो । लुम्बिनीले पाँच स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्यसाथ चौथो, कर्णाली प्रदेश चरा स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पाँचौँतथा मधेश प्रदेश तीन स्वर्ण, दुई रजत र १० कांस्यसाथ छैटौँ स्थानमा रहे । सातौँ स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले सात रजत र आठ कांस्य जित्यो ।

विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा  ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।