• ११ असोज २०८१, शुक्रबार

सार्वजनिक स्थानमा गमलासहितको फूल राखिँदै

blog

कार्यक्रममा नगर प्रमुख थापा र उपप्रमुख भट्टराई । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, भदौ २४ गते । दमकमा बसपार्कसहितका सार्वजनिक स्थानमा फूल तथा बिरुवासहितका गमला राख्ने अभियान सुरु गरिएको छ । शुक्रबार दमक नगर प्रमुख राम थापा र उपप्रमुख गीता अधिकारीले यो अभियानको औपचारिक उद्घाटन गर्नुभएको छ ।

दमकमा रहेको साथीभाइ समूहको संयोजनमा अभियान सुरु भएको हो । दमकको बसपार्क क्षेत्रमा १ सयभन्दा गमलासहित बोटबिरुवा तथा फूल रोपेर अभियानको उद्घाटन भएको छ । अब हरेक शुक्रबार सार्वजनिक स्थलमा यस प्रकारको कार्यक्रम हुनेछ दमक नगर प्रमुख थापाले भन्नुभयो ।

‘हरित नगर, सम्बृद्ध नगर’ बन्ने नगरपालिकाको नारा रहेको भए पनि यसको कार्यान्वयन पक्ष कमजोर रहेको छ । फलफूल तथा सुन्दरता बढाउने बोटबिरुवा रोपणलाई अभियानको रूपमा अघि बढाएर सुरु गरिएको यस प्रकारको अभियानले सबै नगरबासीको मन जित्ने समेत थापाको भनाई छ । हरेकले आफ्नो घरआँगन तथा आसपासमा रहेको सार्वजनिक स्थललाई सफा राख्दै बोटबिरुवा एवम् फूलबारी बनाउन लाग्नुपर्छ, उहाँले भन्नुभयो ।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बोटबिरुवा तथा फलफूलका बिरुवा रोप्ने तर त्यसपछि बिर्सने काम गर्न नहुने बताउँदै संरक्षण गर्न पनि आग्रह गर्नुभयो । एक दिन बिरुवा रोपेर जिम्मेवारी पुरा हुँदैन, यसर्थ त्यसलाई हुर्काउन र बढाउन समेत सक्रियता आवश्यक रहेको भट्टराईले बताउनुभयो । अभियानलाई निरन्तरता दिन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउँदै लगाएका बोटबिरुवा तथा फलफूल संरक्षणमा ध्यान दिन उहाँको आग्रह छ ।

साथीभाइ समूह दमकका अध्यक्ष गंगा सिटौलाले प्रारम्भिक चरणमा दमकको बसपार्कलाई हरियाली र आकर्षक बनाइने बताउनुभयो । बसपार्क आउँदा मानिसलाई कुनै पार्क वा फूलबारी आएजस्तो होस् भन्ने बनाउने हाम्रो सोच छ, उहाँले भन्नुभयो । हामी नगरपालिकासँग सहकार्य गरेर नगरभित्रका सार्वजनिक र खाली ठाउँहरूमा गमलासहितका फूल तथा बोटबिरुवा लगाउने अभियानलाई निरन्तर अघि बढाउँछौ, सिटौलाले भन्नुभयो ।