राजकुमार भट्टराई
खोटाङ, साउन ९ गते । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो ।
नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै विकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो ।
निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिन्टरमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले जानकारी दिनुभयो ।
रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उहाँको भनाइ छ । आवश्यक परेमा दैनिक उपभोग्य सामान पनि तार्न सकिने रेग्मीले बताउनुभयो ।
निर्माण व्यावसायी रेग्मीका अनुसार घिर्नी जडान गरेर साउन ८ गते परीक्षण गरिएको छ । इटहरीबाट ल्याएर प्राविधिकहरुले परीक्षण गरेर सञ्चालनको लागि अरुलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनमा घिर्नी पूर्णरुपमा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । सुनकोशीमा हिउँदमा मात्र बेलिब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रेका लागि आवश्यक सामान ल्याउन कुनै बिकल्प नभएपछि घिर्नी जडान गरिएको उहाँले बताउनुभयो ।
खोटाङको खोटेहाङ गाउँपालिका –९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका –५ आँपटार जोड्ने फोक्सिन्टारको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल गत असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा बनेको पुल बगाएपछि पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो ।
कोशीमा पानीको बहाब बढेपछि जेठ ५ गतेबाट पूर्णरुपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दूरीको बाटो हो ।
फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्कविच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पुःन फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । हाल घुर्मी–कटारीको बाटोबाट तराइका जिल्लामा सवारीसाधन आवतजावत हुँदैआएको छ । बाटो लामोहुँदा विशेषगरी निर्माणसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा कष्ट हुने गरेको छ ।
निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।
ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नुपरेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । हाल बर्खामा कुनै विकल्प नभएपछि घिर्नी जडान गर्नुपर्ने बाध्यता छ ।
फोक्सिन्टारमा पुल पुनः निर्माणका लागि सङ्घीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर हालसम्म ठेक्का भने खुलेको छैन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग कालोपत्रेको काम निर्माण कम्पनीले नगरेपछि ठेक्का तोडेर फोक्सिन्टार–महुरे सडक दुई खण्डमा पुनः नयाँ ठेक्का लागेको छ ।
अहिले फोक्सिन्टार–महुरे सडक हिलाम्मे छ । दिक्तेलबाट रेग्मीटार हुँदै फोक्सिन्टार जाने अर्को छोटो सडक खानीडाँडा–रेग्मीटार सडक पनि वर्षाको कारण ठाउँ ठाउँमा भत्किएपछि पूर्णरुपमा बन्द छ ।