• १० साउन २०८२, शनिबार

एक यायावर [कथा]

blog

“बाबा ! यो उमेरमा हजुर ट्राभल गर्नुहुन्छ ?” “अहिले मेरो उमेर नै के भएको छ र ?” महेन्द्र मुस्काए र भने, “मेरो गन्तव्य सुन्यौ भने तिमीहरू जिल खान्छौ ।”

महेन्द्र मनैदेखि यायावरी थिए । उनमा घुम्ने रस सानैदेखि बसेको थियो । आमा र बुवासँग धार्मिक यात्रा महिनौँ गरेका थिए उनले । त्यही भएर यात्रा उनको पहिलो सोख बनेको थियो तर जीवनले उनलाई कहिल्यै स्वच्छन्द छोडेन । जीवनका अनेक शिखर र घुम्ती पार गर्दै उनी बल्ल आफू अनुकूल हुँदै छन् । वा भनौँ, ६० औँ वसन्तपछि पात झरेको वृक्षमा पुनः मुना पलाएको छ ।  

धार्मिक यात्रा मात्रै होइन, व्यावसायिक रूपले महेन्द्रले देशविदेशको अनवरत यात्रा गरेकै हुन् । छोराछोरीले व्यावसायिक विरासत समालेपछि मात्र उनलाई अघोषित विश्राम दिइएको हो । तर मन त मन न हो, यो यति चाँडै कहाँ निर्वासन खोज्छ र ? शरीरको एउटा सीमा भए पनि मनको सिमाना कोर्न गाह्रो छ । मन त कहाँ पो बुढो हुन्छ र ?

महेन्द्र अचेल तन्नेरी मनको लयमा बग्न थालेका छन् । कलेज पढ्दै गर्दा उनको मनले एउटा सङ्कल्प लिएको थियो, आफ्नो देशका विभिन्न भेगको यात्रा, पदयात्रा गर्ने; जो समयक्रमसँगै ओझेल पर्दै गएको थियो । 

जोखिमपूर्ण स्वतन्त्र यात्राका लागि उनले सधैँ पारिवारिक अवरोध झेल्दै आएका थिए । यद्यपि यस पटक परिवारको अवरोधले उनको चट्टानी सङ्कल्पलाई तोड्न सकेन । अहिलेसम्म उनी अनेक अवरोधमा जीवन बाँचेका थिए । सबैको इच्छा, खुसी र रहरमा आफूलाई बाँडेका थिए; बाँड्दै आएका थिए । अब भने उनी आफ्नो रहर पूरा गर्न स्वतन्त्र छन् ।

काठमाडौँको ‘बन्द’ जीवनशैलीले महेन्द्र निसास्सिएका थिए । एसएलसी पास गरेर काठमाडौँ के छिरेका थिए उनी, पुनः आफ्नो गामठाम फर्कनै पाएनन् । मान्छे अनेक बहानामा सहरको परिबन्दमा पर्दा रहेछन् । हो उनी पनि यस सहरको गिरफ्तारीमा परे । बुवाले काबिल नबनेसम्म घर फर्किने सबै बाटा बन्द गरिदिएपछि उनी यहीँका भएर बसे । हजुरआमा, आमा, बालसखा र घरमा पालिएका गाईबाख्रासमेतको स्मृतिले उनलाई सधैँ काठमाडौँमा एक्लो र असहाय बनाउँथ्यो । उनी छटपटिन्थे तर एकाध पटकबाहेक उनी पहिले जस्तो गरी गाममा बस्न पाएनन् ।  

धेरै दिन भएको थियो, उनी कतै निस्केका थिएनन् । उनलाई ताजा हावा र नयाँ परिवेशको तलतल लाग्न थालेको थियो । त्यही भएर देश घुम्ने आफ्नो पुरानो सपना साकार गर्न उनी निस्किने भए । यात्रामा निस्कन उनलाई कुनै अवरोध थिएन । उमेर एउटा सङ्ख्या न हो । उत्साहले ऊर्जा थपिदिएपछि उमेरलाई पनि साथ दिन कर लाग्दो रहेछ ।

उनी मोटरमै भए पनि यात्रामा निस्किने तयारी गरिसकेका थिए । १५ दिने मध्यमा परिक्रमाभरि हिँडेर जान सक्ने ल्याकत राख्थे उनी । नसके मोटरमै जाने तयारी गरे । युवाकालदेखि जनकपुरको १५ दिने धार्मिक पदयात्रामा जाने रहर थियो उनको तर कहिल्यै जान सकेनन् । यस पटक उनको यात्रा १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलको परिक्रमा गर्ने थियो । नेपालका धार्मिक ऐतिहासिक ठाउँहरूको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गर्नु थियो । 

घरमा गन्तव्यको अनावरण गरेको दिन वास्तवमा सबै जिल खाएका थिए यद्यपि उनलाई रोक्न कसैले सकेनन् ।      

आफ्नो मोटर लिएर महेन्द्र जनकपुरका लागि बिहानै प्रस्थान गरे । गाडीमा मधुरो स्वरमा गीत बजिरहेको थियो र उनी आफ्नै लयमा बगिरहेका थिए । बनेपा, धुलिखेल क्रमशः पछाडि छुट्दै गए । राजमार्गमा गाडीको गति मानौँ वायुपङ्खी हुँदै गयो । 

महेन्द्र यी बाटाहरूका पुरानै बटुवा थिए । उकाली ओरालीले उनलाई सधैँ आकर्षित गथ्र्यो । मोटर निरन्तर ओरालो झर्दै बादलभित्र हराउँथ्यो । मौसम आज खुलेको थिएन । मसिनो ओसका कणहरूले उनलाई भित्रैसम्म स्पर्श गरेर जान्थ्यो । यही त खोजिरहेका थिए उनी । उनलाई ताजा हावा र जङ्गली गन्धले सधैँ बाल्यकालको स्मरण गराउँथ्यो; जो जीवनकै सबैभन्दा सम्मोहक समय थिए उनका लागि । उनी घरि मोटरको झ्याल उघार्थे घरि बन्द गर्थे । मानौँ, मौसमसँग उनको मनको भावले पनि लुकामारी खेल्दै थियो । 

बाटोभरि नै देखिने तराईका विस्तीर्ण फाँट र गाउँहरूले रोमाञ्चित बनाउँदै थियो उनलाई । मौसमले भने बेला बेला धोका दिइरहेको थियो । जति तल झरे पनि गर्मीले छोएको थिएन । उल्टै चिसो सिरेटोले हानेपछि बल्ल उनलाई चियाको तलतल लागेर आयो । नेपालथोकमा चिया खान रोकिए उनी । चिसो मौसममा चियाको स्वाद झन् बढेर जान्छ । त्यसमाथि गाउँघरको चियाको ‘फ्लेवर’ नै बेग्लै ।  बाटाछेउको चिटिक्कको सानो चियापसलमा एकदुई जना बसेर चिया खाइरहेका थिए । महेन्द्र त्यहीँ रोकिए । उनलाई यो पसलमा चिन्ने कोही थिएनन् । उनी बर्सौंपछि आफ्नो परिचय हराएर मानौँ भुतुक्कै भएका थिए । ठुलो नामको बोझ पनि त ठुलै हुन्छ । जहाँ उठ्नेबस्नेदेखि हाँस्नेसम्म काइदा मिलाउनु पर्छ तर यहाँ उनीमाथि कुनै बोझ थिएन । कुनै काइदा बघार्नु थिएन । अखबारमा फोटो छापिने ठुला व्यापारी थिएनन् उनी । उनी साधारण बटुवा झैँ चिया खान पसे ।  त्यहाँ चिया खाइरहेका स्थानीयसँग महेन्द्रले भलाकुसारी गर्दै थिए, जानकारी पाए परिक्रमामा जाने र फागुमा घर फर्किनेहरूले यतिबेला गुल्जार छ रे बिपी राजमार्ग । उनी झनै उत्साहित भए, लाग्यो मिथिलाको संस्कृतिमा समाहित १५ दिने परिक्रमाले कतिको मुहारमा उज्यालो थपेको होला ? कतिको घरमा परिक्रमा जाने उल्लास र हतारो होला यतिबेला ? फागुको स्वागतमा गुलाफी होला मिथिला । उनी यसरी पुलकित भइरहेका थिए, मानौँ फागु राग फाँटभरि गुञ्जायमान होस् । मानौँ ‘ढोलक’ माथि ढोलकियाले भर्खर मात्र ताल दिए ‘जोगिरा सररर’ ।  

जनकपुर पुग्दा रात परिसकेको थियो । आफ्नो टोलका सबै सबै घर उज्यालो देखे उनले तर एउटा घर थियो जहाँ अँध्यारोको साम्राज्य विद्यमान थियो । त्यो थियो उनको आफ्नै घर । महेन्द्रको मन अनेक कुराले विचलित हुन खोज्थ्यो तर उनी समालिन्थे । 

घरअगाडि मोटर रोकिएपछि आफ्नो बरन्डामा आराम फर्माइरहेका जुगेसरा टर्च बालेर आए, “के महिन्दर ?”

दुवैले अँगालो हाले । “खबर गरेर किन आइनस् ? घरको सफाइ गराइदिन्थेँ । हेर कोही नबसेपछि घरको के दुर्गति हुँदो रहेछ । दुईचार महिनामा यसो भौजीलाई लिएर आएर बस न । आखिर आफ्नै घर, आफ्नै गामठाम हो ।”

“कसैलाई मतलब छैन दोस्त ।” 

“अच्छा छोड यी सब कुरा, हिँड मेरै घर बसे आज, भोलि सरसफाइ गराऊँला ।”

महेन्द्रले घरको ढोका खेले, ढुसीको चर्को गन्ध व्याप्त थियो घरभरि । उनले सबै बत्ती बालिदिए । मन थोरै उज्यालियो । यद्यपि, उनी आफ्नो ब्याग उठाएर बालसखा जुगेसराको पछि लागे । १० मिनेटपछि नै आमोद र शम्भु पनि त्यहीँ आइपुगे । लामो समयपछि यसरी निस्फिक्री भेट्दै थिए सङ्गातिहरू ।  महेन्द्रले भने, “रे जुगेसरा ! म त मध्यमा परिक्रमा गर्न भनेर आएको हुँ । हिँड न तिमीहरू पनि ।”

“के मखौल गर्छ यसले ? कति हिँड्नु पर्छ भन्ने थाहा छ ? उमेरको ख्याल गर न ।” जुगेसरा हाँस्दै बोले ।

“मेरो त केही उमेर भाको छैन यार ! हिँड्न सक्छु जत्ति पनि । हिँड्न नसके मोटरमै जाऊँला नि ।”

शम्भुले भन्यो, “कुरो त ठिकै गरिस् महिन्दर ! अबको एकाध वर्ष त हो हामी यसरी हिँड्ने । उमेर झन् बढेपछि त त्यही घरको बरन्डासम्म ।”

साथीहरू हौसिएको देखेर जुगेसराले पुनः थपे, “धेरै जोसमा नआऊ, मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी त्यसपछि जलेश्वर, मडई, कुवकुण्ड, कञ्चनवनबाट धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही हुँदै अनवरत १५ दिन हिँड्नै पर्छ । बाटो बाटोको हावापानी, खानपिन र खुलामा सुत्नुपर्ने हुन्छ । कतै विश्रामको राम्रो व्यवस्था हुन्छ, कतै हुँदैन । यस्तोमा हाम्रो शरीरले त्यति धपेडी सहन सक्ला ? बिरामी प¥यौ भने ?”

“आफ्नो गामघरको हावापानी र मौसमसँग पनि के डराएको ? हिँड्न गाह्रो भए मोटर छँदै छ त ।”

आमोदले भने, “ल जाऊँ, एकाध घण्टा मात्र हिँड्नु पर्छ, त्यसपछि दिनभरि विश्राम त गर्ने हो । महिन्दरका लागि भए पनि हामी जानु पर्छ यार । बच्चामा हराएको आफ्नो दोस्त घर फर्केछ ।” “गाडी चलाउन त आउँछ नि तँलाई ठिकठाकसँग, ठोकी त दिँदैनस् ? बहुत भिडभाड हुन्छ ।” शम्भुले त्यसो भनेपछि सबै गललल हाँसे ।

“साइकलमा तँलाई पछाडि बसाएर कति घुमाएको हुँ, बिस्र्यौ ?”

जुगेसरा सहमत भए, “ल ठिक छ, तयारीमा लागौँ त्यसो भए । जानकीजीको डोलाको पछि पछि हिँड्नु पर्छ हामी ।” 

शम्भु जोरले बोले, “बोलो सियावर रामचन्द्रकी !”

“जय,” एक स्वरले कराए चारै जना ।

भित्रबाट जुगेसरका नाति कागती निचोरेको सर्वतको बाल्टिन लिएर आए र सबैलाई एक एक लोटा सर्वत खुवाए । महेन्द्रको मन चञ्चल भएको थियो, मेला घुम्न जाने सानो बच्चा जस्तो ‘लाडे’ भएका थिए उनी ।