धर्तीका ढुङ्गा जति सबैलाई
आकाशमा तारा बनाएर राख्छु
तारा झारेर धर्तीमा
चट्टान बनाउँछु ।
हावालाई पानी बनाउँछु
पानीभित्र आगो बाल्छु
किनाराबिनाको नदी बहाउँछु
आकाश खसाल्छु धर्ती उचाल्छु ।
तिमीले भन्दै गयौ
मैले सुनिरहेँ,
विश्वास गरिरहेँ ।
म नतमस्तक बनिरहेँ
म मूर्ति जस्तै उभिइरहेँ
टाँगाको घोडा जस्तै भएँ ।
मलाई लाग्थ्यो, संसार भनेको यही हो ।
असिनाले तिम्रो खेत सिञ्चित हुन्छ भन्यौ
बाख्राको गोठालो बाघ हुन्छ भन्यौ
भैँसीले घरको धुरी चढ्छ भन्यौ
मान्छेले चरा जस्तै उड्छ भन्यौ
चरो रुखबाट लडेर मर्छ भन्यौ
म पत्याउँदै गएँ
तिमी भन्दै गयौ ।
तिमीले भन्दै जाँदा
मैले पत्याउँदै जाँदा
जुनकिरीले बत्ती बुझायो
पूर्णिमाको जून ओझेलमा प¥यो
ताराहरूले टिलपिल गर्न छाडे
पूर्वमा उषाकाल छायो
हिमाल खित्का छाडेर हाँस्यो ।
अनि म
निद्राबाट ब्युँझिए
तिम्रो भ्रमजालको पर्दा च्यातियो
सच्चाइको घुम्टो उघारियो
देखियो कञ्चन खुला आकाश
लाग्यो, संसार त अर्कै पो रहेछ ।