• १० साउन २०८२, शनिबार

बलात्कारका घटना बढे

blog

फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते। ताप्लेजुङमा जबरजस्ती करणी (बलात्कार) का घटना वृद्धि भएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा वर्षेनि जबरजस्ती करणीजन्य घटना बढेको पाइएको छ। गएको आर्थिक वर्ष २०८१/८२ मा मात्र जबरजस्तीजन्य २६ वटा घटना भएका छन्। उक्त सङ्ख्यामध्ये जबरजस्ती करणीका २१ र करणी उद्योगका पाँच वटा घटना भएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका बस्नेतका अनुसार जबरजस्ती करणी घटनामा ४० वर्ष उमेर नाघेका महिलादेखि नाबालिकासम्म पीडित छन्। अघिल्लो दई आव २०८०÷८१ र २०७९/८० मा १६–१६ वटा जबरजस्ती करणीका घटना भएका छन्। उक्त आवहरुमा पनि महिला र नाबालिकासम्म जबरजस्ती करणी घटनामा पीडित भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो तीन आर्थिक वर्षमा चोरी, ज्यान मार्ने उद्योग, भवितव्य ज्यान र अभद्र व्यवहारका घटना पनि वृद्धि भएको पाइएको छ। गएको आवमा भवितब्य ज्यानसम्बन्धी ४१ वटा घटना भएका छन्। आव २०८०/८१ मा ५३ वटा र आव २०७९/८० मा ३८ वटा भवितव्यसम्बन्धी घटना भएको प्रहरीको तथ्याङ्क रहेको छ। 

यस्तै आव २०७९/८० मा ३३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने आव २०८०/८१ मा ४१ जनाले झुण्डिएर पासो लगाई आत्महत्या गरेका छन्। गएको आव २०८१/८२ मा भने २९ जनाले आत्महत्या गरेका छन्। आव २०८१/८२ मा अभद्र व्यवहारका ३२ वटा घटना हुँदा आव २०८०/८१ मा २४ वटा र २०७९/८० मा २१ वटा घटना भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार जबरजस्ती करणीसहित विभिन्न मानवअधिकार उल्लङ्घन तथा आपराधिक घटना वृद्धि हुँदै गएको पाइएको छ। प्रहरी निरीक्षक बस्नेतका अनुसार गत आव २०८१÷८२ मा १९२ वटा आपराधिक घटना दर्ता भएका छन्। आव २०८०/८१ मा १८१ र २०७९/८० मा १६५ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए। प्रहरीमा दर्ता भएका घटनामध्ये सबैभन्दा बढी जबरजस्ती करणीजन्य रहेका छन्।