• १० साउन २०८२, शनिबार

महिलाले वडाबाटै पाउन थाले गर्भ परीक्षण सेवा

blog

सिदिङ्वा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् ।

सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । 

गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखु र नजिकैको वडा ५ लिम्बुदिनबाहेक अन्य वडामा शिविर सञ्चालन गरिएको थियो । 

वडाहरुमा पुगेर सञ्चालित शिविरमार्फत पालिकाभित्रका ३९ जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेको शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी वडा ७ सुरुम्खिममा १२ जना गर्भवती महिलाले शिविरमार्फत गर्भ परीक्षण गराएका छन् । यस्तै, वडा २ सादेवा र वडा ३ आङ्खोपमा नौ–नौ जना, वडा ६ मेहेलेमा पाँच जना र वडा ५ लिम्बुदिनमा चार जना गर्भवती महिलाले गर्भ परीक्षण सेवा प्राप्त गरेका छन् । 

स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार वडा १ कालिखोलामा रहेका तीन जना गर्भवती महिला गाउँबाहिर भएकाले उहाँहरु गर्भ परीक्षण सेवाबाट छुट्नुभएको छ । त्यस्तै, गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा ४ साब्लाखुमा रहेका गर्भवती महिलाले  साब्लाखु स्वास्थ्य चौकीमार्फत नै सेवा लिने हुँदा सो वडामा शिविर सञ्चालन नगरिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाभरिका गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी वडाहरुमै घुम्ती शिविर सञ्चालन गरेर गर्भ परीक्षण सेवा प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।