संयुक्त राष्ट्रसङ्घ, भदौ २४ गते । खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरू युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरू युक्रेनबाट इथियोपिया पुगेका बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको बताइएको हो ।
सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइनेछ । युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुँदै इथियोपियासम्म पुर्याएको हो ।
आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पुर्याइनेछ । एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिनेछ ।
इथियोपियाको आदमा सहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती ढुवानीहरू त्यहीँबाट फर्काइएको बताइएको छ ।आदमा सहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ ।
आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा सहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन् ।
उनीहरूका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको छ । रासस/सिन्ह्वा