• १३ साउन २०८१, आइतबार

सहकारीमा बढ्यो चोरी

blog

रेखीराम राना

पाल्पा, भदौ २४ गते । पाल्पा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूमा चोरी हुने क्रम बढेको छ । सहकारी संस्थाहरूको सेफ, गेट, ढोका र दराज फोडेर नगद तथा जिन्सी सामग्री चोरी भएका छन् । सीसीक्यामरा जडान गरिएका सहकारीमा समेत चोरी हुन थालेपछि चोरी घटना रहस्यमय हुन थालेको छ । ती घटनामा संलग्न कोही व्यक्ति पक्राउ पर्न सकेका छैनन् । 

“सहकारी चोरी भयो भनेर उजुरी आएका छन्,” जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “तर कोही पनि पक्राउ परेका छैन ।” 

अधिकांश सहकारीले नगद चोरी भएको निवेदन दिएको जानकारी उहाँले दिनुभयो । सहकारी संस्थामा नगद सुरक्षित राख्नका लागि प्रयोग गरिएका सेफसमेत फोडेर चोरीका घटना भएका छन् ।

पाल्पाको बगनासकालीस्थित बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थामा गत २०७९ जेठ ३० गते पाँच लाख २८ हजार चोरी भएको थियो । उक्त सहकारी संस्थामा सेफ, गेट, ढोका नै फोडेर चोरी भएको प्रहरीले जनाएको छ । यस्तै गत भदौ ११ गते रिब्दीकोटस्थित भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयको च्यानल गेट फोडेर २६ हजार ८२ रुपियाँ चोरी भएकोे छ । रम्भा गाउँपालिकास्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा भदौ १६ गते राति सीसीक्यामरा बिग्रिएको मौका छोपेर चोरी भएको छ ।

ग्राहकका लागि निकालिएको रकम दराजमा राखिएको अवस्थामा दुई लाख ८६ हजार रुपियाँ चोरी भएको सहकारी संस्थाका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । प्रहरीले भने सहकारी संस्थामा भएका चोरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । सहकारीमा चोरी हुने क्रम बढेको छ, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “सहकारी संस्थाले पनि असुरक्षित रूपमा रकम राखेको देखिन्छ ।”

सहकारी संस्थामा असुरक्षित रूपमा रकम राखेका बेला मात्र चोरीका घटना हुनुले सहकारी संस्थाका कर्मचारी र सम्बन्धित माथि नै शङ्का गर्नुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ ।

सहकारीका कर्मचारी र सञ्चालकबाट भएको कमीकमजोरीका कारण घटनाको अनुसन्धानमा अप्ठ्यारो भएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । करोडौँको कारोबार गर्ने संस्थाले सुरक्षाका लागि आवश्यक तयारी र उपायसमेत नअपनाउँदा उक्त घटना भएको दाबी प्रहरीको छ ।