अमरगढी समाचारदाता
डडेल्धुरा, भदौ २४ गते । गौरा पर्व समापन भएपछि डडेल्धुरामा देवताका मन्दिर एवं थानमा धमाधम जाँत (देवीको शोभायात्रा) भइरहेका छन्। गौराघरमा गौरादेवी भित्र्याएपछि यहाँ विभिन्न मन्दिर एवं देवताका थानमा धार्मिक परम्पराअनुसार पूजाआजासहित जाँत मेला भइरहेका छन्।
स्थानीयले आ–आफ्ना इष्ट कुलदेवताको पूजाआजा गरी जाँत मनाइरहेको पण्डित लोकराज भट्टले बताउनुभयो। गौरापर्वपछि भाद्र शुक्ल दशमीका दिन अजयमेरुको शिखरमा जाँत सम्पन्न भएको छ। अजयमेरु गाउँपालिका–१ को समैजी क्षेत्रको उच्च पहाडको घना जङ्गलमा रहेको भगवान् शङ्करको शिला रहेको मानिने शिखरमा पूजाआजा गरी मनाइएको छ। शिखरमा समजैजी क्षेत्रका भट्ट, भण्डारी, ऐर, बोहरा, साउद, महर, ताम्राकार जातिका एक दर्जनभन्दा बढी गाउँका स्थानीयले पूजाआजा गर्ने प्रचलन रहेको पण्डित भट्टले बताउनुभयो। यसै दिन अमरगढी नगरपालिका–७ को उच्च पहाड शिखरमा समेत पूजाआजा गरी शिखर जाँत मनाइन्छ।
डडेल्धुराको गन्यापधुरामा अवस्थित लाटागन्यापसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा ‘शिखर जाँत’ (मेला) बिहीबार राति भयो। अजयमेरु गाउँपालिका–२ को खाले भन्ने स्थानमा बेताल देवताको पूजाआजा गरी जाँत मनाइयो। प्रत्येक वर्ष भाद्र चतुर्दशीको राति डडेल्धुरा, डोटी र दार्चुलामा लाग्ने शिखर मेलाको आफ्नै महत्व छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को महाभारत वनक्षेत्रको घना जङ्गलमा शिखर नामको स्थानमा भगवान् शिवका रूपमा लाटागन्यापको धूमधामसँग पूजाआजा गरिन्छ। यिनै देवताको नामबाट गाउँपालिकाको नाम गन्यापधुरा नामाकरण गरिएको हो। शिखरमा ठूलो मेला लाग्ने गर्छ। गन्यापधुराको शिखरको जाँत लाग्ने ‘ठूलो ढुङ्गा’सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा छ।
शिखर पुग्नुअगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७/८ बजेतिर गात शिखरमा पुग्छन्। शिखरमा ६ गाउँबाट देउरो जाने गर्छ। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल, डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रूपमा देउरो जाने परम्परा रहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताउनुभयो।
देउरो जानेक्रममा पनि विभिन्न ठाउँमा दाइन, दमाहा तथा भोक्कर बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाई जातिले मात्रै बजाउने गरेका छन्। मेला भर्नका लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध भोजन गर्नुपर्ने परम्परा छ।
यसरी चोखो भोजन गर्ने र पूजाको दिन उपासना गरी मेलामा सहभागी भई चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास छ।