• १२ साउन २०८१, शनिबार

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझायो

blog

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, भदौ २३ गते । सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । 

कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बालुवाटार बसेको बैठकमा प्रतिवेदन शीर्ष नेता समक्ष प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘कार्यदलद्वारा शीर्षस्थ नेतृत्वमा प्रतिवेदन पेस भयो । त्यो प्रतिवेदबारे कार्यदल र नेतृत्व बीचमा लामो समय छलफल भयो ।’’

बैठकमा कार्यदलले शीर्षस्थ नेतृत्वमा आफ्नो दृष्टिकोण राखेको र अब शीर्षस्थ तहमा छलफल भएर निष्कर्ष निस्कने उहाँको भनाइ छ ।

‘‘जुन कुरा बाहिर उठेका छन्, ती विश्लेषणसहित प्रतिवेदनमा उठाएका छौँ । पहिलादेखि भन्दै आएको हो, न्यायोचित र सम्मानजनक ढङ्गले सिट बाँडफाँट हुन्छ । मैले जितेको छु भन्ने भावनाले सिट बाँडफाँट हुन्छ’’, उहाँले भन्नुभयो ।

उहाँले यस सम्बन्धमा शुक्रबार दिउँसो ३ बजे फेरि छलफल हुने जानकारी दिनुभयो । ११ सदस्यीय कार्यदलमा कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक हुनुहुन्छ । सञ्चारमन्त्री कार्कीसहित महामन्त्री गगनकुमार थापा सदस्य हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ, वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ सदस्य हुनुहुन्छ।

यसैगरी, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ । मङ्सिर ४ गते हुने सङ्घीय चुनावका लागि सत्तामा रहेको दलले गठबन्धन गरेर जाने गरी सिट बाँडफाँटको लागि कार्यदल गठन भएको हो । लामो समयदेखि भएको छलफलपछि प्रतिवेदन बिहीबार शीर्ष नेतालाई बुझाएको कार्यदलले शीर्ष नेताबाट आएका सुझाव समेटेर सहमति सार्वजनिक गर्ने तयारी गरेको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।