• १६ भदौ २०८१, आइतबार

'महापुरुष' विदेशमा पनि नियमित 'साे'मा प्रदर्शन हुँदै

blog

काठमाडौं, भदौ २३ गते । कात्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि नियमित 'साे'मा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गर्नुभएको चलचित्र संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरूमा एकसाथ रिलिज हुँदैछ ।

यीमध्ये अमेरिका र अस्ट्रेलियामा प्रदर्शनका लागि लगभग रेगुलर 'साे'को चाँजोपाँजो मिलेको छ । एसएमएस इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् ।

पाँच सदस्य मिलेर सञ्चालनमा ल्याएको एसएमएस इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने साे र एकै सर्भरमार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

निर्देशक भट्टराईका अघिल्ला चलचित्रले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एसएमएस इभेन्ट्सका एक प्रतिनिधिले बताउनुभयो । अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले प्रदीप भट्टराई र निर्माता रवीन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका चलचित्रले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बत्ताउनुभयो ।उहाँले 'मोमो इन्टरटेनमेन्ट'का विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानडामा साे गर्नुभएको छ । उहाँले त्यहाँका दर्शकलाई नेपालमा झैँ रेगुलर साेमा चलचित्र देखाउने काम गरिरहेका छन्।

नियमित 'साे'मा चलचित्र देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बत्ताउनुभयो । "जसरी चलचित्र देखाउने शैली कम्युनिटी हलबाट चलचित्र हलमै पुग्यो । अब दर्शकलाई एउटा साे दिनेभन्दा पनि रेगुलर सोमै चलचित्र देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले अन्य विदेशी चलचित्र झैँ आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ", बानियाँले भन्नुभयो ।

अमेरिकामा पनि नेपालमा रिलिजकै दिन ३० साेको हाराहारीमा चलचित्र प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०-५० लाखमा बिक्री भएको हो । सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारको अभिनय छ ।

दीपक बज्राचार्यले खिच्नुभएको चलचित्र कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको सङ्गीत, शङ्कर महर्जनको एक्सन, वाइल्ड रिपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित चलचित्र रवीन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दीपेश खत्री चलचित्रका निर्माता हुन् ।