काठमाडौँ, जेठ ३० गते । चलचित्र ‘उनको स्वेटर’ र ‘नरसिंहा : अवतार’ ले दर्शकलाई हलसम्म डो¥याइरहेको बेला गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जन्तेबाख्रो’ ले दर्शकलाई निराश बनाउँदैन भन्न सकिन्न । उही पुरानौ शैलीको प्रेमकथा र हास्यरस भरिएको चलचित्र हो ‘जन्ते बाख्रो’ । गाउँघरका कथा धेरै बिक्ने देखिएपछि निर्देशक सिमोस सुनुवारले एउटा ‘अर्गानिक’ चलचित्र पस्कन खोजे पनि कहीँ कतै चुकेको देखिन्छ । गाउँघरकै विषयवस्तुलाई उठान गरिए पनि प्रेमकथालाई भने बलिउडको पारामा प्रस्तुत गरिएको छ । जहाँ एउटा नायिकाप्रति दुई नायक प्रेममा लट्टु हुन्छन । चलचित्र ‘हात्तीछाप’ निर्देशन गर्नुभएका सुनुवारले प्रदीप भारद्वाजको लेखनमा पुरानै शैलीको चलचित्र दर्शकलाई पस्कन खोज्नुभएको भान हुन्छ ।
कमले (सौगात मल्ल), हरि (आशिफ शाह) र सम्झना (गरिमा शर्मा) बिच देखिने मायाप्रेम र बिछोडको कथालाई चलचित्रले बोकेको छ । कमलेकी आमा (रमा थपलिया) छोराले बिहे गर्ला र गाउँलेलाई जन्तेबाख्रो खुवाउँला भन्ने सपना बुनिरहेकी छिन् तर जति केटी देखाए पनि कमलेले मन पराउँदैन । कमले मनमा खोट नभएकी, राम्रो परिवार भएको र आफ्नो आमाबुवाको इज्जत गर्ने केटीको खोजीमा हुन्छ । उसले आफूले सोचेको जस्तो केटी नभेटिएको बेला साथी लमी पाँडे (कमल देवकोटा) ले सम्झनाको तस्बिर देखाउँछन् । त्यसपछि कमलेको प्रेमको किस्सा अघि बढ्छ ।
चलचित्रमा अनेकन मोड आउँछन् । हरि र सम्झनाको मायाप्रेमका बारेमा कमलेलाई थाहा नहुनु, सम्झनाका बुवा काशीराम (लोकेन्द्र लेखक) ले छोरी सम्झनालाई हरिसँग विवाह हुन नदिन गरेका अनेकन प्रयास, कुसुम शर्मा, समापिका गौतम र रुषा न्यौपानेले कमलेको विवाह भाँड्न गरेको अनेक दुष्प्रयासलाई निर्देशकले घुमाउन खोजेका छन् ।
चलचित्रको बलियो पक्ष भनेको यसका केही कमेडी र गीतसङ्गीत नै हो । बिलकुलै फरक चरित्रमा देखिनुभएका नायक सौगातलाई कमलेको पात्र सुहाएको छ । उहाँको अभिनय तारिफयोग्य छ । चुलबुले शैलीको भूमिकामा आशिफ खासै जम्न सक्नुभएको छैन । उहाँले आफ्नो पुरानै ढर्राको अभिनयलाई बिर्सन सक्नुभएको छैन । चलचित्र ‘लन्डन टु पेरिस’ मा अभिनय गर्नुभएकी नायिका गरिमा शर्माको अभिनय सुधारोन्मुख लयमा छ । लोकेन्द्र, विशाल पहाडी, समापिका र रुषाको अभिनय औसत छ ।
निर्देशक सुनुवारले चलचित्रको लोकेसन र गीतसङ्गीतमा भन्दा कथा, पटकथामा थोरै मात्र ध्यान दिनुभएको भए यो चलचित्रले अर्गानिकको स्वाद दिन सक्थ्यो । निर्देशक सुनुवारले त्रिकोणात्मक प्रेमकथा त बनाउनुभयो तर प्रेमकथाले मात्र दर्शक अघाउँदैनन भन्ने कुरा उहाँले बुझ्नु भएन । साथै हास्य विधाको चलचित्र सजिलै चल्छ भन्ने भ्रमले पनि उहाँलाई छाड्न सकेन । चलचित्र राम्रो बन्न कथासँगै कलाकारको अभिनय पनि राम्रो हुनु पर्छ भन्ने कुरा निर्देशक सुनुवारले हेक्का राख्नुपर्ने देखिन्छ ।