गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते । गत वर्षको फागुन २९ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘अञ्जिला’ ऐतिहासिक एक सय दिनको नजिक पुगेको छ । काठमाडौँको क्युएफएक्स सिनेमा हलमा ९२ औँ दिनमा चलिरहेको चलचित्रले बिहीबार तीन सो पाएको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले सय दिननजिक पुग्दै गर्दा क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा एक सयका दरमा चलचित्र देखाउने तयारी गरेको बताउनुभयो । उहाँले सय दिन पुग्नै लागेको समयमा क्युएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको बताउँदै यसमा निर्माण पक्षले सहमति दिएको बताउनुभयो । मिलन चाम्स निर्देशित ‘अञ्जिला’ गत वर्ष उत्कृष्ट व्यापार गर्न सफल भएको थियो । चलचित्रले हालसम्म १२ करोड माथिको व्यापार गरिसकेको निर्माता श्रेष्ठले बताउनुभयो । चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ ।