सपना थामी
काठमाडौं, भदौ २० गते । सत्ता गठबन्धनको कार्यदलको सोमबारको बैठकमा सिट बाँडफाँटको प्रतिवेदन शीर्षस्थ तहमा बुझाउने सहमति भएको छ ।
कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा १६५ निर्वाचन क्षेत्रमा कुन दलको कस्तो अवस्था छ भन्नेबारे छलफल भएको जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘शीर्षस्थ तहबाट कार्यदललाई जुन जिम्मेवारी वहन गर्न दिइएको छ । एक सय ६५ निर्वाचन क्षेत्रमा कसको के अवस्था छ, त्यसबारे छलफल गरेका छौँ । भोलि फेरि छलफललाई निरन्तरता दिएर बैठक बस्छ ।’’
मन्त्री कार्कीले बैठकमा कार्यदललाई दिइएको जिम्मेवारी पूर्णपुरले वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति भएको उल्लेख गर्नुभयो । बैठकमा राजनीतिक परिस्थितबारे पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा सञ्चारमन्त्री कार्कीसहित महामन्त्री गगनकुमार थापा सदस्य हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट डा. वेदुराम भुषाल, प्रदेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ ।