• २२ असार २०८२, आइतबार

धेरैको रोजाइ व्यवस्थापन

blog

माध्यमिक शिक्षाको सुनौलो ढोका मानिने एसइईमा सफल विद्यार्थी यतिबेला उच्च शिक्षाको आधार मानिने कक्षा ११ अध्ययन गर्दा कुन विषय छनोट गर्ने ? कहाँ अध्ययन गर्ने ? भन्नेमा उत्सुक छन् । व्यवस्थापन, विज्ञान, मानविकी, शिक्षालगायत व्यावसायिक तथा प्राविधिक शिक्षणका लागि विभिन्न कोर्स र प्रचारप्रसारसहित कलेजले भर्ना अभियान सुरु गरिरहेका छन् ।

एसइईभन्दा अघि एसएलसी (विद्यालय तह प्रमाणपत्र) को परीक्षा सञ्चालन हुन्थ्यो । जुनबेला परीक्षार्थीले विशिष्ट, पहिलो, दोस्रो/तेस्रो श्रेणीको नम्बर पाउँथे । त्यसलाई हटाएर पछिल्लो समय जिपिए ग्रेडिङमा नतिजा प्रकाशित हुने गरेको छ । विगतमा एसएलसी उत्तीर्ण हुने र पछि एसइई पास हुनेमध्ये अधिकांश विद्यार्थीको रोजाइमा व्यवस्थापन सङ्काय हुने गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको विवरण अनुसार एसइई उत्तीर्ण (ग्रेडेड प्राप्त) गर्ने विद्यार्थीमध्ये ४८. १२ प्रतिशत विद्यार्थीको रोजाइ व्यवस्थापन शिक्षा हुने गरेको छ । यो सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुने क्रममा रहेको देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार व्यवस्थापन सङ्कायको विवरण अनुसार एसइई उत्तीर्ण (ग्रेडेड प्राप्त) गर्ने विद्यार्थीमध्ये ४८.१२ प्रतिशतले विद्यार्थीको रोजाइ व्यवस्थापन शिक्षा हुने गरेको छ । यो सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुने क्रममा देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन महेन्द्र चालिसे व्यावहारिक र जीवनोपयोगी हुनुका साथै सहज शैक्षिक प्रणालीका कारण व्यवस्थापन शिक्षा विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको बताउनुहुन्छ । जुनसुकै विषयको अध्ययन पनि उत्तिकै महत्वपूर्ण हुने भए पनि व्यावसायिक तथा निजी जीवनमा समेत व्यवस्थापन अध्ययनको उपयोगिता बढी हुने भएकाले विद्यार्थीको आकर्षण रहेको बताउँदै चालिसे भन्नुहुन्छ, “व्यवस्थापन भनेको सङ्गठन, योजना, नेतृत्व र नियन्त्रणको कला हो जसले कुनै पनि संस्था वा व्यक्तिगत लक्ष्यलाई प्रभावकारी रूपमा प्राप्त गर्न मद्दत गर्छ ।”

उहाँका अनुसार संसाधनको उचित उपयोगमार्फत मानिस, समय, पुँजी र सामग्रीलाई सही ढङ्गले व्यवस्थित गर्न सहज हुने भएकाले पनि व्यवस्थापन अध्ययनको विश्वव्यापी आकर्षण बढ्दो छ ।

सेवामूलक वा व्यावसायिक संस्थालगायत कलकारखाना, उद्योग, व्यवसायसँगै अस्पतालको प्रमुख हुन पछिल्लो समय व्यवस्थापन अध्ययन अनिवार्य जस्तै बन्दै जानुले पनि यसको आकर्षण थप बढ्दै गइरहेको चालिसेको तर्क छ । 

व्यवस्थापन अध्ययनपछि विश्वव्यापी रूपमा रोजगारीको अवसर खुल्ने र आफैँ उद्यमी वा स्वरोजगार तथा कुशल व्यवस्थापनका लागि उपयोगी हुने भएकाले पनि व्यवस्थापन अध्ययनको महìव बढ्दो छ । शिक्षा, स्वास्थ्य, रोजगार, उत्पादन, वित्तीय तथा व्यवसायी संस्थामा व्यवस्थापन अध्ययन गरेको जनशक्ति अपरिहार्य जस्तै बन्दै गइरहेको छ । उच्च शिक्षाका लागि स्वदेश तथा विदेशी कलेजमा सहज भर्ना अध्ययन पूरा गरेपछि व्यवस्थापन, बैङ्क तथा वित्तीय संस्थामा रोजगारी र आफैँ उद्यमी बन्नसमेत यो शिक्षा उपयोगी मानिन्छ । नेपाल जस्ता विकासोन्मुख र अविकसित राष्ट्रमा समेत कर्पोरेट क्षेत्रमा व्यवस्थापन अध्ययन गरेको जनशक्ति अपरिहार्य जस्तै बन्दै छ । विकसित र सम्पन्न मुलुकका जुनसुकै कम्पनीको नेतृत्वमा पुग्न व्यवस्थापन अध्ययनबिना सम्भव छैन ।

विद्यार्थीको सहज पहुँच 

व्यवस्थापन अध्ययन उत्कृष्टदेखि मध्यम तहका विद्यार्थीले सहज रूपमा अध्ययन गर्न सक्ने भएकाले व्यवस्थापन शिक्षा विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पुराना तथा नयाँ कलेजमध्ये अधिकांशमा व्यवस्थापन शिक्षा अध्यापन हुने गरेको छ । सहरदेखि दुर्गम गाउँमा खुलेका कलेजसमेत व्यवस्थापन विषय पढाइ हुन थालेको छ ।

त्रिभुवन विश्वविद्यालयका देशभरका आङ्गिक क्याम्पसमध्ये ८५० भन्दा बढीमा व्यवस्थापन विषय अध्यापन हुने गरेको छ । त्यसै गरी पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, संस्कृत, बौद्धलगायतका विश्वविद्यालयमातहतका कलेजमा पनि यसको अध्यापन हुने गरेको छ । व्यवस्थापन सङ्कायमा एक सयभन्दा बढी विषय समेटिएका छन् । अध्ययनको विविधता र व्यवहार उपयोगी शिक्षा रहेका कारण पनि यसमा विद्यार्थीको आकर्षण बढ्दो पाइको डिन चालिसेको तर्क छ । व्यवस्थापन अध्ययन पूरा गरेपछि रोजगारीका सहज अवसर स्वरोजगारमूलक व्यवसाय गर्नेका लागि अत्यन्त उपयोगी रहने भएकाले विद्यार्थी व्यवस्थापन सङ्कायप्रति आकर्षित भएका छन् । व्यवस्थापन अध्ययन हुने मुलुककै पुरानो नेपाल कमर्स क्याम्पसका प्रमुख जितेन्द्रप्रसाद उपाध्याय व्यवस्थापन शिक्षा व्यावहारिक, सरल र जीवनोपयोगी रहेका कारण अधिकांश विद्यार्थीको रोजाइमा पर्ने गरेको अनुभव सुनाउनुहुन्छ ।

व्यवस्थापनलगायत हरेक विषय अध्ययन उत्तिकै महत्वपूर्ण र सम्भावनायुक्त रहने भए पनि व्यवस्थापन शिक्षाको दायरा थप फराकिलो, व्यावहारिक र जीवनोपयोगी रहेका कारण विद्यार्थी तथा अभिभावकको समेत रोजाइमा पर्ने गरेको उपाध्याय बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यवस्थापनको अध्ययन विश्वव्यापी रूपमै बढ्दो क्रममा छ । श्रम तथा रोजगारीमा व्यवस्थापन शिक्षा अध्ययन गरेका जनशक्तिको माग ठुलो छ । शिक्षा, स्वास्थ्य, रोजगार, स्वरोजगार, उत्पादन, बजारीकरण मात्र नभई निजी जीवन सफल बनाउन पनि व्यवस्थापन अध्ययनको विशेष महत्व हुन्छ ।” 

एसइईमा उच्च तथा मध्यम ग्रेड हासिल गरेका विद्यार्थीले व्यवस्थापन विषय सहज रूपमा अध्ययन गर्न सक्ने भएकाले पनि यसमा विद्यार्थीको थप चाप रहने उपाध्यायको अनुभव छ । एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी हल्ला र सुनेको भरमा विषय छनोट नगरी आफूलाई रुचि भएको जुनसुकै विषय लिएर अध्ययन गरे सफलता प्राप्त हुने उपाध्यायको सुझाव छ । नेपालमा पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या वृद्धिसँगै यसको दायरा पनि फराकिलो बन्दै गइरहेको छ । बहुराष्ट्रिय कम्पनीको आगमन, अर्थतन्त्रको दायरा थप फराकिलो बन्दै गइरहेका बेला आकर्षक रोजगारी र व्यावसायिक प्रवर्धनका लागि व्यवस्थापन अध्ययन क्षेत्र फराकिलो बन्दै गइरहेको छ । व्यवस्थापन विषयमा स्नातक पूरा स्वरोजगार व्यवसाय सञ्चालन गर्नुभएका युवा उद्यमी गणेश टन्डन भर्खरै एसइई सकेका विद्यार्थीलाई व्यवस्थापन विषय अध्ययन गर्न सुझाव दिनुहुन्छ । टन्डन भन्नुहुन्छ, “व्यवस्थापनको दायरा र यसको आयाम अत्यन्तै फराकिलो छ अध्ययन पूरा गरे पनि तुलनात्मक रूपमा रोजगारी पाउन सजिलो हुन्छ । व्यवस्थापनको अध्ययनले आफैँलाई उद्यमी बनाउन पनि अभिप्रेरित गर्छ ।” 

व्यवस्थापन अध्ययनसँगै विभिन्न वित्तीय संस्थाको अनुभव लिँदै हाल कामना सेवा विकास बैङ्कमा कार्यरत विष्णु भण्डारी रोजगारीको अवसर र करिअर डेभलपमेन्टका लागि व्यवस्थापन सङ्काय अध्ययन अत्यन्त महत्वपूर्ण हुने बताउनुहुन्छ । भण्डारी भन्नुहुन्छ, “व्यवस्थापन पढ्दा विभिन्न क्षेत्रमा जागिर पाउने सम्भावना हुन्छ । यसको अर्थ अन्य विषयको महत्व नै छैन भन्ने हैन तर मलाई अन्यको तुलनामा व्यवस्थापन विषय नै जीवनोपयोगी हुन्छ भन्ने लाग्छ ।” व्यवस्थापन सङ्काय अन्तर्गत पनि विभिन्न विषय पढाइ हुने गर्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययन र उपयोगी मानिने वित्तीय व्यवस्थापनका विभिन्न कोर्ससमेत पछिल्लो समय नेपालमै पढाइ सुरु भएका छन् । यस्ता विषयको अध्ययनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत रोजगारको अवसर हुने भएकाले विद्यार्थीको रोजाइ हुने गरेको छ । बजारको माग अनुसार तयार भएका विभिन्न सङ्कायले आफूलाई थप परिष्कृत गर्दै लगेका छन् । 

जस्तै बिबिएस, बिबिए, होटेल म्यानेजमेन्ट, एकाउन्टेन्सी, फाइनान्स, ट्राभल एन्ड टुरिजम, बैङ्किङ एन्ड इन्स्योरेन्स जस्ता विषयमा विद्यार्थीले अध्ययन गर्न सक्छन् । यसका साथै प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत व्यवस्थापन विषय उपयोगी हुने भएकाले यसमा विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । विश्वविद्यालय शिक्षा पूरा गरेर मात्र रोजगारी तथा स्वरोजगारीका लागि तह प्रतिस्पर्धी हुन्छ भन्ने हुँदैन । यसका ट्रेन्ड अन्तर्राष्ट्रिय अभ्यास केसस्टडी गरी त्यसको व्यावहारिक प्रयोगलाई आत्मसात् गरी अध्ययनबिना सफलता हासिल गर्न भने कठिन छ । व्यवस्थापनसँगै हरेक विषयमा मेहनत र लगनशीलता अपनाउन सके सफलता सहजै प्राप्त हुने भएकाले अनुशासनपूर्वक अध्ययन गर्न विद्यार्थी भाइबहिनीलाई शिक्षा क्षेत्रका जानकारहरूको सुझाव छ ।

लक्ष्यप्राप्तिमा सहयोग रणनीतिक योजना बनाएर संस्थागत उद्देश्य पूरा गर्न सजिलो हुन्छ । निर्णय क्षमतामा सुधार, तथ्याङ्क विश्लेषण र तर्कका आधारमा उत्तम निर्णय लिन सकिन्छ । आवश्यकता व्यावसायिक सफलताका लागि हालको प्रतिस्पर्धी बजारमा व्यवसाय चलाउन, नयाँ उत्पादन ल्याउन र ग्राहक समाधान गर्न व्यवस्थापन ज्ञान आवश्यक छ । 

व्यक्तिगत विकास : समय प्रबन्ध, टोली नेतृत्व र समस्या समाधान क्षमताले व्यक्तिलाई प्रोफेसनल र व्यक्तिगत जीवनमा अगाडि बढाउँछ । एमबिए, एचआर, फाइनान्स, मार्केटिङ, बैङ्किङ, इन्स्योरेन्स तथा सिए जस्ता व्यवस्थापनका कोर्सले रोजगारीमा प्राथमिकता दिलाउन सक्छन् । व्यवस्थापन पढ्दा प्रयोगात्मक ज्ञान हासिल हुनुका साथै केसस्टडी, प्रोजेक्ट वर्क र इन्टर्नसिपले वास्तविक जीवनमा प्रबन्धनले कसरी काम गर्छ भन्ने बुझ्न सिकाउँछ । नेतृत्व क्षमतामा वृद्धि, ग्रुप डिस्कसन, प्रिजेन्टेसन र टिमवर्कले आत्मविश्वास बढाउँछ । तथ्याङ्क विश्लेषण विषय औसत रूपमा गाह्रो हुने भएकाले अध्ययनमा मेहनत आवश्यक पर्छ । व्यवस्थापन केवल डिग्री मात्र नभई जीवनभर प्रयोग हुने कौशल रहेकाले यसलाई रोजगारीमा मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन ।