• १३ साउन २०८१, आइतबार

हनुमानढोका–स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व नमुना बन्नेछ– पर्यटनमन्त्री श्रेष्ठ

blog

स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठसहित

काठमाडौं, भदौ २०  गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदा मार्ग विश्व पर्यटनकै नमुना बन्ने बताउनुभएको छ ।

हनुमानढोका–स्वयम्भू सम्पदा मार्ग लक्षित गरी पहिलोपटक आयोजना गरिएको स्थानीय पथप्रदर्शक तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले हनुमानढोका(स्वयम्भू जोड्ने ‘सम्पदा पदमार्ग’ आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्ने नमुना गन्तव्यस्थल बन्ने बताउनुभयो ।

विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा जोड्ने गरी पदमार्ग बन्नु विश्व पर्यटनमै दुर्लभ संयोग रहेको मन्त्री श्रेष्ठको भनाइ छ । 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक तालिम सञ्चालन गरेको हो ।

पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भू सम्पदा मार्ग क्षेत्रका ३० जना स्थानीय युवालाई तालिममा सहभागी गराइएको थियो ।

स्थानीय पथप्रदर्शक तालिममा स्थानीय महत्त्वका विभिन्न संरचना र दुर्लभ वास्तुकलाका साथै पदमार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुङ्गेधारा, पार्क, नदी र पोखरीहरूबारे जानकारी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।  

पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको छ । उक्त क्षेत्रमा रहेका परम्परागत नेवार शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिनेछ ।

विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदाबीचको दुरी २.२ किलोमिटर रहेको छ । पदमार्गमार्फत पर्यटन तथा सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको छ ।