गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँहरुले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो ।
मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभयो भने मन्त्री गुप्ता प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
दुवैजना मन्त्री आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित पदबाट राजीनामा दिनुभएको छ । यद्यपि उहाँहरुले राजनीतिक दलको नाम भने राजीनामापत्रमा खुलाउनुभएको छ । जेनजी आन्दोलनपछि बनेको सरकारमा सहभागी मन्त्रीहरुले रास्वपाबाट निर्वाचनमा होमिने अनुमान गरिएको छ ।
राजीनामापत्रमा मन्त्री खरेलले लेख्नुभएको छ, “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवम् उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निस्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय मैले लिएको छु ।”