• २० फागुन २०८२, बुधबार

रास्वपाले बाँकेमा सुनारसहित थारु र श्रेष्ठ चयन

blog

बाँकेबाट रास्वपाले उम्मेदवार बनाएको थारु, श्रेष्ठ र सुनार । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ ६ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । उक्त पार्टीले बाँकेमा चर्चित दलित अभियन्ता खगेन्द्र सुनारसहितका उम्मेदवार टुङ्गो लगाएको हो ।

पार्टीले क्षेत्र नम्बर १ मा सुरेश थारु, क्षेत्र नम्बर २ मा विवेक श्रेष्ठ र क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपाका नेता डा. राजकुमार सुवेदीले बताउनुभयो ।

‘‘पार्टीले क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवार टुङ्गो लगाइसकेको छ, आज सबै उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम छ,’’ सुवेदीले भन्नुभयो ।

पार्टीबाट टिकट पाएका तीन जनाले मङ्गलबार बाँकेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने तयारी गरेका छन् । क्षेत्र नम्बर १ बाट टिकट पाउनु भएका थारु यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।

यस्तै, श्रेष्ठ नेपालगन्जमा व्यवसायसँगै रास्वपाको राजनीतिमा छिर्नुभएका युवा हुनुहुन्छ । यसैगरी, चर्चित दलित अभियन्ता हुँदै राजनीतिमा लाग्नुभएका सुनार केही दिनअघि मात्र रास्वपामा प्रवेश गर्नुभएको थियो ।

दलितका मुद्दामा उत्तेजनात्मक भाषण गरेर उहाँ चर्चामा आउनुभएको हो । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री बन्ने निश्चित भए पनि केही कानुनी अडचनका कारण अन्तिम समयमा उहाँको शपथग्रहण रोकिएको थियो ।