• १३ साउन २०८१, आइतबार

एक्वा मुनको जारमा कीरा भेटियो

blog

एक्वा मुनको जारमा कीरा...

काठमाडौं, भदौ २० गते । पिउनयोग्य पानीको रूपमा बजारमा पाइने मिनरल वाटर (पानी) लाई लिइन्छ । उपभोक्ताले निर्धक्कसाथ सो पानी पिउनेदेखि लिएर खाना पकाउन पनि प्रयोग गर्दछन् । 

विभिन्न प्रविधिहरूद्वारा आठ प्रकारले प्रशोधन गरिने पानी भएकाले पनि आम उपभोक्ताले भान्सामा सिधै प्रयोग गर्दछन् । जसरी आम उपभोक्ताले स्वच्छ हुन्छ भनेर सोच्छन्, त्यस्तो कहिलेकाहीँ नभइरहेका प्रमाणहरू बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।


यस्तै, राजधानीको बजारमा उपलब्ध ‘एक्वा मुन’ मिनरल वाटरको जारमा कीरा भेटिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ (सर्वेश्वर मन्दिर क्षेत्र) मा आइतबार किनेर घरमा उपभोक्ताले पानी प्रयोग गर्दा कीरा भेटेका हुन् । 

‘एक्वा मुन’मा भेटिएको कीराबारे गोरखापत्र अनलाइनले सञ्चालक कुमार लामासँग सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘‘कम्पनीमा कुनै समस्या छैन । बजारबाट विभिन्न प्रकारका जार दैनिक हजारको सङ्ख्यामा पानी भर्न आउँछन् । जारमा लामखुट्टेले अण्डा पारेका हुन्छन् । पानी भर्दा राम्रोसँग जार सफा भएन होला, हामीले जारमा पानी भरेपछि कम्पनीको स्टिकर टाँसेर पठाउने हो ।’’ 

‘अ क्वालिटी प्रोडक्ट अफ मञ्जुश्री गणेश हिमाल खानेपानी प्रालि’ गोकर्णेश्वरले उत्पादन गरेको उक्त ‘एक्वा मुन’ मा सञ्चालकसँग उपभोक्ताले फोन गरेर गुनासो गरेका थिए । 


यसअघि सञ्चालकले कम्पनीको मेसिन बिग्रिएकाले बाहिरबाट पानी भरेर पठाएकाले सो गल्ती भएको हुनसक्ने स्वीकार गर्नुभएको एक उपभोक्ताले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

पानी दूषित भेटिए ५ वर्ष कैद हुन्छ: खाद्य विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारमा भेटिएको उक्त ‘एक्वा मुन’ मिनरल वाटरको विषयमा अनुगमन हुने  जनाएको छ । 

विभागका एक खाद्य निरीक्षकले भन्नुभयो, ‘उक्त कम्पनीको तुरुन्तै अनुगमन गरिन्छ । पानीको नमूना परीक्षण हुन्छ । परीक्षणमा यस्तो पाइएमा यो अखाद्य मानिन्छ ।’

पानी अखाद्य भएमा उक्त कम्पनीलाई अदालतमा मुद्दा दायर गरिने र यस्तो कम्पनीलाई दोषी पाए ५० हजार जरिवानादेखि ५ वर्षसम्म कैद हुने प्रावधान रहेको छ । 



लेखक बाट थप