शङ्कर केसी
शारदा (सल्यान), मङ्सिर ४ गते । दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणको क्रियाकलापमा जोड दिँदै वनस्पति अनुसन्धान केन्द्र, सल्यानले औषधीय गुण भएका वनस्पतिको खेती विस्तारमा लगानी गरेको छ ।
आर्थिक वर्ष २०८१–८२ मा ५० हजार औषधीय गुण भएका बिरुवा उत्पादन गरेर अनुसन्धान केन्द्रले खेती विस्तारका लागि ३५ हजार बिरुवा वितरण गरेको छ । टिमुर, तेजपात, मलागिरी, कुरिलो, हर्रो, बर्रो, अमला, चिउरी, ओखर, काउलो र अश्वगन्धाजस्ता बहुमूल्य जडीबुटीहरू उत्पादन तथा वितरण गरिएको केन्द्रका प्रमुख डा. मित्र पाठकले जानकारी दिनुभयो ।
“जैविक विविधता संरक्षणका लागि अनुसन्धान केन्द्र निरन्तर लागिपरेको छ । हामीले यस वर्षा याममा किसान तथा समुदायलाई बहुमूल्य जडिबुटीका बिरुवा वितरण गरेका छौँ” उहाँले भन्नुभयो, “किसानहरुको आर्थिक समृद्धि, व्यक्तिको स्वास्थ्य सुरक्षा, वातावरण संरक्षण र परम्परागत ज्ञानको निरन्तरताका लागि जडिबुटीका बिरुवा उत्पादन र खेती विस्तारको काम गरिरहेका छौँ ।”
विगतमा वार्षिक एक लाख बढी बिरुवा उत्पादन हुने गरेकोमा पछिल्लो समय बजेटको सीमित्ता तथा मागको आधारमा कम बिरुवा उत्पादन भएको केन्द्रले जनाएको छ ।
व्यक्तिगत रूपमा किसानले विशेषगरी टिमुर, मलागिरीका बिरुवा रोप्नेगरेको र तेजपात, काउलोका विरुवा बढीजसो सामुदायीक वनहरूमा लगाउने गरिएको कार्यालय प्रमुख डा. पाठकले बताउनुभयो । उहाँका अनुसार सल्यानसहित दाङ, रोल्पा, रुकुम, जाजरकोट, दैलेख लगायतको जिल्लामा विरुवा जानेगरेको छ ।
अनुसन्धान केन्द्रले कपुरकोट–३, मूलपानी वनस्पति उद्यानका तीन वटा नर्सरी र कपुरकोट–३, जम्पानीस्थित चार वटा नर्सरी तथा नर्सरी बाहिर एवं त्रिवेणी–६, सल्लेखोलास्थित एउटा नर्सरी र नर्सरी बाहिर बिरुवा उत्पादन गर्दै आएको छ ।
जडिबुटी खेतबाट किसान तथा वन समूहले मनग्य आम्दानी पनि गर्ने गरेका छन् । वनस्पति अनुसन्धान केन्द्रले जडीबुटी खेती प्रवर्धनको क्रियाकलापहरू सञ्चालन गर्न थालेको २५ वर्ष बढी भैसकेको छ । त्यसअघि जङ्गलबाट सङ्कलन गरेर एक दुई लाख रुपियाँको मात्रै टिम्मुर लगायतका जडिबुटी बिक्री हुने गरेकोमा पछिल्लो समय करोडौँको जडिबुटी सल्यानबाट निकासी हुनेगरेको सरकारी तथ्याङ्कले देखाउँछ ।
अनुसन्धान केन्द्रको कार्यक्षेत्र तल्लो कर्णालीका पाँच जिल्ला तथा रोल्पा, दाङ र प्युठानसहित आठ जिल्ला हो । यहाँ पालैपालो कार्यक्रम सञ्चालन हुनेगरेका छन् । जडीबुटी खेती प्रवर्धन, विद्यालयस्तरीय सचेतना, विषालु च्याउसम्बन्धी जागरण, जैविक विषादी प्रयोग र वनस्पति खोजीका कार्यहरू प्रमुख रूपमा सञ्चालन हुने गरेको केन्द्रले जनाएको छ ।
कम लगानीमा दिगो आम्दानी, रोग प्रतिरोधक क्षमता वृद्धि, माटो संरक्षण तथा जैविक विविधता जोगाउने औषधी गुणले भरिपूर्ण बिरुवाहरूले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन टेवा दिइरहेका छन् । दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षण अन्तर्गत काँकडसिङ्गी, विभिन्न सुनाखरी, बन चाँप, टटेलो, सिप्लीकान र रुख उन्युजस्ता दुर्लभ प्रजातिहरूको संरक्षणबारे विशेष प्रशिक्षण दिइएको केन्द्रले जनाएको छ ।