• १२ साउन २०८१, शनिबार

इन्टरनेट यसरी आउँछ घर–घरमा .........

blog

भाइबहिनीले इन्टरनेट प्रयोग गरेर गेम खेल्ने, युट्युबमा भिडियो हेर्ने, टिकटक अथवा फेसबुक चलाउने गरेको त पक्कै थाहा पाएको हुनुपर्छ । आफैँ पनि इन्टरनेट प्रयोग गरेर यस्ता काम गरेको अनुभव पनि होला । कतिपयले मोबाइलमा इन्टरनेट चलाउनुभएका होला अनि कतिपयले ल्यापटप र कम्प्युटरमा । भाइबहिनीले कहिलै सोच्नुभएको छ, हामीले चलाउने यस्तो इन्टरनेट हाम्रो घरसम्म कसरी आइपुग्छ त ?

झट्ट हेर्दा घरमा जोडिएको राउटरबाट नै इन्टरनेट आएजस्तो पनि लाग्न सक्छ । राउटरबाट आउने सिग्नललाई मोबाइलमा जोडेपछि इन्टरनेट चल्ने भएकोले पनि राउटर नै इन्टरनेट आउने ठाउँ जस्तो भान हुन सक्छ तर हामीले राउटरबाट पाउने इन्टरनेट सबैभन्दा अन्तिम चरण मात्र हो । त्यसअघि इन्टरनेटले धेरै लामो दूरी पार गरेपछि मात्र हाम्रो घरसम्म आइपुग्छ । यो लेखमा भाइबहिनीलाई इन्टरनेट हाम्रो घरसम्म आइपुग्ने तरिकाबारे जानकारी दिने जमर्को गरेका छौँ । 

इन्टरनेटमार्फत हामी जे कुरा हेर्छौं त्यसलाई ‘कन्टेन्ट’ भनिन्छ । जस्तो कि भाइबहिनीले युट्युबमा हेर्ने भिडियो, फेसबुकमा देख्ने स्टाटस, फोटो । हामीले इन्टरनेटमार्फत जे कुरा प्रयोग गर्छौं त्यसलाई नै ‘कन्टेन्ट’ भनेर बुझौँ । हरेक दिन विश्वभर करोडौँ इन्टरनेट कन्टेन्ट उत्पादन भइरहेको हुन्छ । यसरी हरेक दिन तयार हुने ‘कन्टेन्ट’ हामीले चाहेको समयमा पछि पनि हेर्न सक्छौँ । यसरी ‘कन्टेन्ट’ जहिले पनि उपलब्ध होस् भनेर त्यसलाई सुरक्षित राखिन्छ । यसरी सुरक्षित राख्ने ठाउँलाई डेटा सेन्टर भनिन्छ । जस्तो कि हामीले मोबाइलबाट खिचेको फोटो, भिडियो मेमोरी कार्डमा रहन्छ र त्यसलाई हामीले पछिसम्म हेर्न सक्छौँ, त्यसरी नै इन्टरनेट कन्टेन्ट डेटा सेन्टरमा रहन्छन् । 

गुगल, फेसबुक, अमेजन, माइक्रोसफ्टलगायत विश्वका ठूला कम्पनीले विशाल डेटा सेन्टर बनाएका छन् । त्यस्तै डेटा सुरक्षित राख्ने सेवा मात्रै दिने गरी विश्वभर अनेकौँ कम्पनी प्नि सञ्चालनमा छन् । जसले कन्टेन्ट उत्पादन गर्ने कम्पनीलाई डेटा सेन्टरको सुविधा प्रदान गर्छन् । 


यतिञ्जेल डेटा सेन्टरको कुरा गर्नुको खास अर्थ छ । इन्टरनेट भनेकै डेटा सेन्टरमा रहेको कन्टेन्टलाई हाम्रो मोबाइलसम्म उपलब्ध गराइदिने माध्यम हो । त्यसो भए डेटा सेन्टरमा रहेको त्यस्तो ‘कन्टेन्ट’ कसरी आउँछ त ? यसमा स्याटेलाइट, अप्टिकल फाइबरजस्ता तरिका प्रयोग भएका हुन्छन् । हामीसँग आइपुग्ने इन्टरनेट खासगरी अप्टिकल फाइबरबाट आउने भएकोले यो लेखमा हामी त्यसकै चर्चा गर्छौं है त । 

अप्टिकल फाइबर भनेको तार हो । 

भाइबहिनीले हाम्रो घरसम्म इन्टरनेट जोड्ने क्रममा पोलहरूमा तार जोडेको त पक्कै देख्नुभएको होला । त्यही नै हो अप्टिकल फाइबर तर डेटा सेन्टरमा प्रयोग हुने यस्तो अप्टिकल फाइबर निकै ठूलो र धेरै क्षमताको हुन्छ । यस्तो फाइबरभित्र सिसा जडान गरिएको हुन्छ । जसले इन्टरनेट कन्टेन्टलाई छिटो हाम्रो घरसम्म पु¥याउन सहयोग गर्छ । त्यस्तो अप्टिकल फाइबरलाई एउटा डेटा सेन्टरबाट जोडेर अर्को ठाउँसम्म पु¥याउने गरिन्छ । उदाहरणका लागि सिङ्गापुरमा रहेको डेटा सेन्टरमा जोडिएको अप्टिकल फाइबर भारतसम्म ल्याइएको छ । यसरी भारतसम्म ल्याउँदा त्यस्तो अप्टिकल फाइबरलाई समुद्रमुनि बिछ्याइएको छ । त्यसैले त कहिलेकाहीँ सामुद्रिक आँधी अथवा कुनै घटना हुँदा इन्टरनेट नचल्नेसम्मको अवस्था बन्नसक्छ । यसरी भारतसम्म इन्टरनेट ल्याउन भारतका टाटा, एयरटेल साइफाइजस्ता ठूला कम्पनीले धेरै लगानी गरेका छन् । 

उनीहरूले भारतभर इन्टरनेट विस्तार गर्न आफ्नो नेटवर्क तयार गरेका हुन्छन् । तिनै कम्पनीहरूले विस्तार गरेको नेटवर्क हाम्रो देशको सीमासम्म पनि आइपुगेको छ । नेपालको टनकपुर, भैरहवा, वीरगञ्ज, ढल्केबर र दुहबीमा त्यस्तो नेटवर्क उपलब्ध छ । अब त्यस्तो नेटवर्कमा कनेक्सन गर्ने काम भने नेपाली नेटवर्क कम्पनीले गर्छन् । सीमासम्म आइपुगेको नेटवर्कमा कनेक्सन गरेर उनीहरूले काठमाडौँमा तयार नेटवर्कसम्म त्यस्तो कन्टेन्ट ल्याई पु¥याउँछन् । नेटवर्क कम्पनीले ल्याएको कनेक्सन इन्टरनेट कम्पनीलाई उपलब्ध गराउँछन् । यसरी बल्ल इन्टरनेट कम्पनीसम्म इन्टरनेट आइपुग्छ । 


अब इन्टरनेट कम्पनीले देशभर अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट बिक्री गर्ने काम गर्छन् । त्यसका लागि पोलपोलमा तार राख्दै हाम्रो घरसम्म ल्याउने तरिका अपनाइन्छ । धेरै कम्पनीले पोलमा तार राख्दा एकैठाउँ धेरै तारहरू जम्मा भएको त भाइबहिनीले पनि देखेकै हुनुपर्छ । नेपाल टेलिकमले भने जमिनमुनिबाट पनि यस्तो तार बिछ्याउने गर्छ । 

इन्टरनेट कम्पनीले पोलमा राख्दै ल्याएको अप्टिकल फाइबर हाम्रो घर नजिकैको पोलमा राखिएको बक्ससम्म ल्याइन्छ । जसभित्र घरघरमा कनेक्सन पु-याउनका लागि तार जोड्ने ठाउँ हुन्छ, जसलाई पोर्ट भनिन्छ । बक्सभित्र जतिवटा पोर्ट हुन्छन्, त्यति मात्र घरमा जोड्न सकिन्छ । त्यसरी बक्समा जोडेर ल्याइएको अप्टिकल फाइबर अब हाम्रो घरमा राखिएको राउटरमा ल्याएर जोडिन्छ । राउटरमा जोडिएपछि त्यसले सिग्नल देखाउँछ । जसलाई हामी वाईफाई भन्छौँ । त्यही वाईफाई सिग्नललाई मोबाइलमा कनेक्ट गरेपछि हामीले इन्टरनेट प्रयोग गर्न सक्छौँ । राउटरमै भएको एउटा पोर्टबाट हामीले तार लगेर सिधै कम्प्युटरमा पनि जोड्न सक्छौँ । त्यसपछि कम्प्युटरमा पनि इन्टरनेट प्रयोग गर्न सकिन्छ ।  

हामीले इन्टरनेट प्रयोग गर्न डेटा सेन्टरदेखि तारैतारको यात्रा त भाइबहिनीले जानकारी पायौँ तर हामीले इन्टरनेटमा बारम्बार प्रयोग गर्ने फेसबुक र युट्युब केही छिटो खुल्छ भने पहिलो पटक सर्च गरिएको कन्टेन्ट किन ढिला खुल्छ त ? यसको पनि सजिलो उत्तर छ ।

 नेपालका इन्टरनेट कम्पनीले नेपालमा धेरै प्रयोग हुने कन्टेन्टको क्यास सर्भर राखेका छन् । यस्तो सर्भरले इन्टरनेटमा सोही कन्टेन्ट खोज्दा मुख्य डेटा सेन्टरसम्म पुग्न नपर्ने सुविधा दिन्छ । जस्तो नेपाल टेलिकमले फेसबुकको सर्भर राखेको छ । टेलिकमको इन्टरनेट प्रयोग गरेर फेसबुक खोल्दा अरू कन्टेन्ट खोल्नुभन्दा छिटो खुल्न सक्छ । 

वल्र्ड लिङ्कले पब्जी गेमको सर्भर राखेको छ । वल्र्ड लिङ्कबाट पब्जी खेल्दा त्यो छिटो खुल्न सक्छ । धेरै प्रयोग हुने कन्टेन्टमा ब्यान्डविथ पनि धेरै लाग्ने भएकोले त्यस्तो नहोस् भनेर कम्पनीले क्यास सर्भर राख्ने गरेका हुन् । जसले गर्दा हामीले पनि इन्टरनेट छिटो प्रयोग गर्न पाएका छौँ । ब्यान्डविथ बाहिरबाट किनेर ल्याउनुपर्ने र त्यसले गर्दा धेरै पैसा विदेश जाने भएकोले पनि थोरै ब्यान्डविथ प्रयोग होस् भन्ने उद्देश्य इन्टरनेट कम्पनीको हुने गर्छ ।