जल, जङ्गल, जमिन साँधकिल्लाबाट जोडिएका त्रिदेशीय ‘चीन–नेपाल–भारत’ परम्परागत अन्तरसम्बन्धमा आधारित सँधियार मित्रराष्ट्र हुन्। उत्तरी सँधियार राष्ट्र चीनको (छिङ्हाई तिब्बती) हिमनदी क्षेत्रबाट ‘सिन्धु’, ‘ब्रह्मपुत्र’, ‘सालविन’, ‘याङ्चे’, ‘मेकोङ’, ‘वाङ हो’ नदी उत्पत्ति भएका छन्। कैलाश मानसरोवरादिबाट उद्गमित ब्रह्मपुत्र नदीको जल पूर्वी बङ्गालको खाडीमा, सिन्धु नदीको जल पश्चिमको अरब सागरमा गएर मिल्छ।
प्राचीनकालदेखि कैलाश क्षेत्रलाई पृथ्वीको केन्द्र, सृष्टिको मुहान मानिएको शिवराज श्रेष्ठ मल्लले ‘मानव यात्रा’ (पृ. २७१) मा जनाएका छन्। यो विशाल झाङझुङ क्षेत्र (कैलाश–गुगे–पुराङ–ङारी) एसियाली सभ्यता प्रणालीको विशिष्ट अवस्था हो। अमेरिकी पूर्वउपराष्ट्रपति एल गोरको ‘एन इन्कन्भिनेन्ट ट्रुथ’ (पृ. ५८) मा ‘छिङ्हाई तिब्बती’ हिमनदीबाट उद्गमित जलभण्डारले संसारको करिब ४० प्रतिशत मानिसलाई पिउने पानी उपलब्ध गराएको दर्शाएका छन्। वास्तवमा तिब्बत ‘एसियाको पानी ट्याङ्की’ हो। यसकारण मानव आवश्यकता केन्द्रित चिनियाँ ‘कुनलुन हिमालय क्षेत्र’ अनि ‘छिङ्हाई तिब्बती’ हिमनदी प्रणालीको भूराजनीतिक महत्व अझै बढेको हो।
‘कार्बन १४’ पद्धतिअनुसार सिन्धुघाँटीको सभ्यता करिब ई.पू. २३०० वर्षदेखि ई.पू. १७५० वर्षसम्म मानिएकाले हालको पाकिस्तानस्थित सिन्धु प्रान्तमा रहेको ‘मोहेन जो दाडो’ तथा पश्चिम पञ्जाबस्थित राबी नदी किनार ‘हरप्पा’ सभ्यताको उद्गमस्थल हो। इराकी सिमानास्थित कसहरूको स्थान खसिस्थानबाट पूर्वतिर बढ्दै आई चीनको सिन्जियाङस्थित तरिम उपत्यकाको कासगर वा खसघर (ताक्लाखर, ताक्लामकान मरुभूमि) क्षेत्रमा बसोबास गर्ने वैदिककालीन ककेसियन खस जातीय सभ्यताको केन्द्रस्थल पनि सिन्धु नदीको मुहान क्षेत्र वरपरको भूखण्ड नै हो। इतिहासकारले ई.पू. १५०० वर्षदेखि ५०० वर्षसम्मको अवधिलाई ‘वैदिक युग’ मानेको डा. विपीन अधिकारीको ‘नेपालका खस जाति’ (पृ. ४८) गोजिकाबाट बुझ्न सकिन्छ। तल्लो सिन्धु तटीय क्षेत्र वारपार अफगानिस्तान र हालको पाकिस्तानस्थित पञ्जाव क्षेत्रको राबी नदी किनारमा करिब ई.पू. १५०० वर्षदेखि ई.पू. १००० वर्षसम्ममा ऋग्वेदको रचना गरिएको अनुमान छ। ऋग्वेदमा अफगानिस्तानका काबुल, सुवास्तु, कुर्म, गौमती नदीको बारम्बार चर्चा चुलिएको पाइन्छ।
त्यसैगरी ऋग्वेदमा पञ्जावका सिन्धु, झेलम, चिनाव, राबी, व्यास, सतलज, सरस्वती सात नदी मिश्रित सप्तसिन्धुको पनि बारम्बार उल्लेख गरेको पाइएको ‘विश्वको प्राचीन सभ्यताको इतिहास’ (पृ. ४१) मा शिवकुमार श्रेष्ठको प्रस्टोक्ति छ। विद्वान्हरू खस (य+कस् . यक्ष) सभ्यताको विकास र उनीहरूले गरेको शासनको प्रारम्भिक केन्द्रबिन्दु प्राचीन महाचीनको झाङझुङ (सिन्जियाङ–भोट) क्षेत्रस्थित सिन्धु नदी जल पकडकेन्द्र (मुहान) वरपर रहेको तथ्यमा सहमत देखिन्छन्। ङारी प्रान्त पुराङ काउन्टीको बीचमा उभिई करिब चार हजार ६०० मिटरको उचाइमा रहेको ‘काङसा’ गाउँको फेदमा अवस्थित पिरामिड आकारको छ हजार मिटरभन्दा अग्लो चुचुरो काङ्रिन्पोछे पर्वतलाई नै ‘कैलाश पर्वत’ भनिन्छ (छन् र अरूहरू। सन् २०२२। ‘आजको तिब्बत’, वर्ष १५, अङ्क १ : पृ. १८,२२)। कैलाश मानसरोवर क्षेत्र हिन्दु, बोन, बौद्ध, जैन, मुस्लिम सभ्यताको मुख्य केन्द्रस्थल हो, जसलाई एसियाली सभ्यताको उर्वर भूमि मानिन्छ।
यार्लुङ त्साङ्पो, नुचियाङ प्रमुख नदीहरू र ल्हासा, न्याङ्छु, यार्लुङ, साङ्ये खापाफ ठूला सहायक नदीलाई तिब्बतका ‘दुई नदी, चार ठूला सहायक नदी’ भनिन्छ। यिनलाई तिब्बतको पर्यावरणीय सुरक्षा बाँधको प्रमुख तत्व नै मानिएको छ। अथवा तिब्बती स्वायत्त क्षेत्रको चार हजार ५०० मिटरको उचाइमा रहेको ङारी प्रान्तलाई क्षितिज समाप्त हुने स्थान मानिएकाले ङारीलाई ‘संसारको छानो’ भनिन्छ। विश्वको सबैभन्दा उच्च स्थानमा भएको मानव बस्तीका कारणले पनि ङारीलाई ‘संसारको छानो’ भनिएको हो। अथवा शन् होङ्फिङलगायतका चिनियाँ विद्वानका अनुसार तिब्बतको ङारीलाई संसारको छानो भनिएको, त्यसको औसत उचाइ समुद्र सतहदेखि चार हजार ५०० मिटरमाथि रहेको दाबी गरेका छन्। यसरी ‘ङारी’ प्रान्तलाई संसारको छानो मानिएको हुँदा समग्र तिब्बतले नै संसारको छानोको संज्ञा पाएको हुन सक्छ।
तिब्बतको मानसरोवर, राक्षसताल क्षेत्रबाट करिब आठ किलोमिटर दक्षिणपट्टि अवस्थित मयुरको मुखजस्तो ‘माप्चा चुङ्ग’ (माप्चा खम्बाव) स्थानबाट एउटा नदीको उत्पत्ति भएको छ। त्यही नदी नेपालको हुम्ला जिल्लातर्फ आएको छ, त्यो ‘हुम्ला कर्णाली’ हो, जुन सप्तकर्णाली नदीको सहायक हो। तिब्बतस्थित केरुङको सदरमुकाम झोङखा क्षेत्रमा उत्पत्ति भई सबैभन्दा गहिरो तिब्बती स्थान ‘ग्येफुग गाउँ’ परिसरबाट नेपालतर्फ बग्दै आएको अर्को नदी छ, त्यो ‘केरुङ नदी’ हो। केरुङ नदी र पूर्वतिरबाट आएको अर्को तिब्बती लेङ्दे नदी नेपालको रसुवागढी क्षेत्रतर्फ आई दुई नदीको दोभान बनेको छ। त्यसपछि केरुङ नदी वा भोटेकोसीकै नामबाट दक्षिणतर्फ केही किलोमिटर बगेर त्रिशूली नदीमा मिसिई सप्तगण्डकी नदीमा मिल्छ।
भोट तिब्बत क्षेत्रमा उत्पत्ति भई नेपालतर्फ बगेर आएका नदीलाई पनि ‘भोटेकोसी’ भनिन्छ। यसरी तिब्बतमा उत्पत्ति भई नेपालको सिन्धुपाल्चोक जिल्लाको लिपिङ क्षेत्रमा आएको अर्को भोटेकोसी र दोलखा जिल्लाको तामाकोसी नदीपूर्वको सप्तकोसी नदीमा मिल्छन्। तामाकोसी नदी तिब्बती सीमानजिकैको रोङसार चु (त्साङ्पो) र लाप्चिगाङ नदी क्षेत्रबाट निस्किई नेपालतर्फ बग्दै आएको छ।
तिब्बतस्थित न्यालम काउन्टीको गुत्सोनजिकैबाट निस्कने अरुण नदीलाई तिब्बती भाषामा पुमछु (पुङ्चु, वुमचु) भनिन्छ। अधिकांश स्रोतले यो नदीलाई तिब्बतको शिशापाङमा हिमालबाट निस्कने हिमनदीको माथिल्लो सहायक नदी भन्छन्। स्रोतका अनुसार अरुण नदी करिब १७ कि.मि. उत्तरी तिब्बततर्फ बगेर करिब १०० कि.मि. पूर्वतिर बग्छ। त्यहाँबाट त्यो करिब ८० कि.मि. दक्षिणतर्फ बगेर चीनको चेन्ताङ सहरबाट नेपालको सङ्खुवासभा जिल्ला (किमाथाङ्का)मा प्रवेश गरी सप्तकोसी नदीमा मिल्छ। भूगोलविद् तथा नदी विशेषज्ञका अनुसार मकालु र कञ्चनजङ्घा दुवै हिमालको उचाइ करिब आठ हजार ५०० मिटर र सीमावर्ती क्षेत्रमा अरुण नदीको उचाइ करिब तीन हजार ५०० मिटर रहेका कारण त्यसबाट बनेको अरुण उपत्यकाको गहिराइ करिब पाँच हजार मिटर छ, जुन विश्वको सबैभन्दा गहिरो उपत्यकामध्येको एक हो।
यसरी चीनको स्वायत्त क्षेत्र तिब्बतमा उत्पत्ति भई पूर्वी नेपालमा बगेर आएका क्रमशः भोटेकोसी, तामाकोसी, अरुणमिश्रित ‘सप्तकोसी नदी’मध्ये नेपालको केरुङ तथा लेङ्दे नदीमिश्रित त्रिशूली नदी मिलेर बनेको ‘सप्तगण्डकी नदी’ र पश्चिम नेपालमा हुम्ला कर्णालीमिश्रित ‘सप्तकर्णाली नदी’ देशका महìवपूर्ण जलपकड क्षेत्र हुन्। तिनीमध्ये तिब्बतको हुम्ला कर्णालीमिश्रित सप्तकर्णाली नेपालको सबैभन्दा लामो नदी हो। जलस्रोतविद्का अनुसार गोसाइँकुण्डदेखि पूर्व र कञ्चनजङ्घादेखि पश्चिमको पानी कोसी नदीमा, गोसाइँकुण्ड पश्चिमदेखि मुस्ताङसम्मको पानी गण्डकी नदीमा र मुस्ताङ क्षेत्र पश्चिमदेखि महाकाली जलाधार क्षेत्रभन्दा पूर्वतर्फको पानी कर्णाली नदीमा मिसिएको छ। यसरी तिब्बतबाट लामो दूरी पार गरी हिमाच्छादित सहायक भोटेकोसी नदी मिसिएर बनेका त्रिनदी प्रणालीको रहस्यमय गुणधर्म प्रतिरक्षार्थ नेपालका लामा नदीले भूपरिवेष्टित स्वरूपलाई आंशिक रूपमा तोड्दै चीन–भारतसँग जोडेर देशलाई भूजडित बनाएको छ।
वैज्ञानिकका अनुसार हालको हिमालय पर्वत शृङ्खला क्षेत्रमा करिब पाँच करोड वर्षअघि ‘टेथिस सागर’ थियो। वर्षौंदेखि शक्तिशाली युरेसियन (तिब्बती) टिक्टेनिक प्लेटभित्र घुस्दै गएको इन्डियन टिक्टेनिक प्लेटको टकरावबीच असन्तुलन भई उत्पन्न महाभूकम्पादिको परिणामले जमिनको सतहदेखि उच्च पहाडी तथा हिमालय पर्वत माथि उठ्दै जाने क्रम बढेसँगै टेथिस सागरको अस्तित्व मेटिँदै गयो। भूगोलविद् एल.आर. वागरले सन् १९३७ मा भूगोलसम्बन्धी जर्नलमा एउटा आलेख छापे। त्यसमा पूर्ववर्ती जल निकासीसम्बन्धी स्वीकृत सिद्धान्तका आधारमा दिएको सुझावअनुसार अरुण नदीलगायतका प्रमुख हिमनदी हिमालय पर्वतभन्दा पहिले नै विकसित भई ती नदीले माथि उठेका पहाडको भागलाई क्रमशः काटेर गहिरो खाडल निर्माण गर्दै आफ्नो मार्ग कायम राखेको नोलेस पिटरले ह्वाइट वाटर नेपाल’ (पृ. २०७) मा उल्लेख गर्न चुकेका छैनन्।
यसरी भूवैज्ञानिक तथा नदीविद्ले यस क्षेत्रमा हिमालय पर्वतको निर्माण हुनुअगावै नदीको विकास भएको जनाएका छन्। त्यसकारण परापूर्वकालदेखि हिमाच्छादित क्षेत्र पार गरी नेपालतर्फ बग्दै आएका तिब्बती नदी नेपालका नदीसँग मिसिई भारततर्फ बगेर गएकाले चीन र भारतसँग सार्वभौम नेपाल (न) नछुट्टिने गरी प्राकृतिक समसामीप्यताबीचको भूसन्तुलनमा अवस्थित छ। नेपाली नदी कोरिडोरलाई नै आधार बनाई सञ्चालित आवादी, व्यापार, पारवहन विस्तारका साथै नदी करिडोर हुँदै दक्षिणी गङ्गा मैदान भएर उत्तर नेपालतर्फ आउने र नेपाल भएर तिब्बत छिर्ने रणनीतिक बाटो पनि जुगौँदेखि प्रयोग हुँदै आएका थिए।
तिब्बतमा उद्गमित नदी नेपाल हुँदै भारतमा प्रवेश गरी समुद्रभित्र मिल्दासम्ममा एसियाली सभ्यता प्रणालीका अनगिन्ति स्थानीय जीवन पद्धति र जगत् निर्माण परिचक्र निरन्तर गतिशील छ। सामुद्रिक प्रक्रिया पूरा गर्दै पुनः जलवाष्पीकरणादिका माध्यमबाट निर्मित चिनियाँ हिमनदी र समग्र उत्तरी हिमालय क्षेत्रतर्फ पुनरागमन गरी नियमित विकसित पर्यावरणीय परिचक्र घुम्दो छ। नेपाली चारकोसे झाडीको पर्यावरणीय सुरक्षाचक्रले एसियाली भूखण्डभित्र जलउत्पन्न निर्माण प्रक्रियासँगै सन्तुलनमा दोहोरो भूमिका निर्वाह गरेको छ। यसरी पारिस्थितिकीय प्रणालीको नियमित परिचक्र पूरा गर्दै एसियाली भूखण्डमा जोडिएका ‘चीन–नेपाल–भारत’को राजनीतिक भूगोल र अर्थतन्त्रको त्रिदेशीय अन्तरसम्बन्ध नै विशेषतः ‘अनेकताभित्र एकता’मा आधारित छ। कोसी, गण्डकी, कर्णाली जलपर्यावरणीय प्रतिरक्षात्मक राजनीतिक अर्थतन्त्रले नेपाली विशेषता सुहाउँदो नीति, विधिको शासनसँग सन्तुलन कायम राख्दै राष्ट्रिय हित प्रवद्र्धनमा थप टेवा पु-याउँछ।