• १२ असोज २०८१, शनिबार

प्रतिनिधिसभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

blog

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) । फाइल तस्बिर

काठमाडौं, भदौ १९ गते । प्रतिनिधिसभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो ।

कानुन मन्त्री शर्माले प्रतिनिधिसभामा बोल्नुहुँदै संसद्को कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो । उहाँले विधेयकले प्रतिनिधिसभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट सुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधिसभाको पहिलो बैठकबाट सकिने व्यवस्था गरेको उल्लेख गर्नुभयो । 

मन्त्री शर्माले भन्नुभयो, ‘‘पहिलो बैठक बसेको मितिबाट सुरु हुने र सकिने कहिले भन्दा नयाँ निर्वाचन भएर आइसकेपछि बसेको पहिलो बैठकबाट सकिने । यसबाट डराउनुपर्ने वा कुनै खालको अस्पष्टता ल्याउँदैन । किनभने निर्वाचन भइसकेपछि संसद्को बैठक तुरुन्त आह्वान हुन्छ, संसद् बैठक ।’’

मन्त्री शर्माले विधेयकले गरेको व्यवस्था संविधानले अगाडी सारेको सिद्धान्तलाई कार्यान्वयन गर्ने प्रयोजनले नै राखिएको स्पष्ट पार्नुभयो ।

‘‘निर्वाचनको परिणाम आउनासाथ आह्वान गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यो बैठक आह्वान भएर बैठक बसेको दिनमा सुरु हुन बित्तिकै स्वतः समाप्त हुने व्यवस्था अहिले प्रस्तावित कानुनमा गरिएको छ । त्यसैले यो प्रस्तावित कानुनले वास्तवमा संविधानले अगाडि सारेको जुन सिद्धान्त छ त्यसलाई कार्यान्वयन गर्ने प्रयोजनका लागि ल्याएको हुनाले यसले अन्यथा गर्ने अवस्था नरहेको ब्यहोरा म सम्मानित सभालाई अवगत गराउन चाहन्छु ।’’

उहाँले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा अस्पष्टता रह्यो भने खतरा पैदा हुने बताउनु भयो ।