अमरराज नहर्की
तनहुँ, साउन ७ गते । सघन सहरी तथा भवन निर्माण कार्यालयले देवघाट धाममा निर्माण गरेको विद्युतीय शवदाह सञ्चालनमा ल्याउने तयारी गरिएको छ । शवदाह भवनको निर्माण पूरा भएकोले एक महिनाभित्रै सञ्चालनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ ।
भदौदेखि सञ्चालनमा ल्याउने गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । शवदाहमा भवनमा विद्युत् र मेसिन जडान गरिसकिएको छ । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै सम्पन्न भएको हो । शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालयले निर्माण गरेको हो ।
भवनको निर्माणसम्पन्न सञ्चालन गर्नेलाई प्रविधिलाई तालिमको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । थापाले भन्नुभयो, ‘‘शव पोल्ने जनशक्तिलाई तालिम दिई भदौबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।’’ महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिमको तयारी भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।
भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउनेछन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ । बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याउन बाँकी छ । भवनमा शौचालय, स्नानघर लगायतका सुविधा छ । भवन निर्माणको लागि मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले छिटो शव चल्ने र वर्षायामा पनि जलाउन समस्या नपर्ने भएकोले सहज हुने बताउनुभयो ।
दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा रु दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उहाँ बताउनहुन्छ । बर्षायाममा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा विद्युतीय शवगृह सञ्चालनमा आएपछि वर्षा याममा पानी परिहेको बेला शव चलाउन सहज हुनेछ । पानी परेको बेला चिसो भएर दाउरा सल्काउन झन्झन्ट हुँदै आएकोमा सञ्चालनमा आए पनि सो समस्या समाधान हुने बराल बताउनुहुन्छ ।