• १२ असार २०८१, बुधबार

अग्रिम टिकट बुकिङ् असोज पहिलो साताबाट खुल्न सक्ने

blog

काठमाडौं, भदौ १९ गते । दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

भदौ १५ गते भएको पहिलो चरणको वार्ताअनुसार असोजको पहिलो साताबाट नै अग्रिम टिकट बुकिङ् खुल्ने सम्भावना रहेको राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् लागि पहिलो चरणको वार्ता भदौ १५ गते सम्पन्न भएको छ । पहिलो चरणमा भएको वार्तामा असोज पहिलो साताबाट टिकट बुकिङ् खुलाने गरी छलफल चलेको थियो ।’

तर, अब फेरि बस्ने बैठकले असोजको कति गतेबाट अग्रिम टिकट बुकिङ् खुल्ने भन्ने तय गर्ने उहाँले बताउनुभयो । गत सालभन्दा याे पटक सवारीको सङ्ख्या पनि केही थपिन सक्ने महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गतसाल कोरोना महामारीको प्रभाव रहेका कारण सवारीको चाप धेरै थिएन । तर अहिले कोरोना महामारी मत्थर हुँदै गएको र मानिस पनि धेरै सङ्ख्यामा उपत्यका छोड्न सक्ने आँकलन छ ।’ त्यसैले सवारीको सङ्ख्या पनि थप्नुपर्ने अवस्था आउने उहाँ बताउनुहुन्छ ।

उपत्यकाभित्र नै सञ्चालनमा रहेका धेरै बसहरूको अवस्था राम्रो रहेका कारण यिनै बसहरूलाई विभिन्न रुटहरूमा सञ्चालन गर्ने योजना पनि रहेको उहाँले सुनाउनुभयो । अहिले गतसालभन्दा कोरोना सङ्क्रमणको अवस्था पनि कम भएको छ । मानिसको आवतजावत पनि बढी हुने देखिन्छ ।

त्यसैले बसहरू थप्नुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो ‘यदि त्यस्तो अवस्था आयो भने काठमाडौंमा सञ्चालित बसहरूको अवस्था राम्रो रहेकाले विभिन्न रुटहरूमा थप्न सकिन्छ ।’ त्यस्तै देशैभर सञ्चालनमा रहेका बसहरू पनि यस बेलामा विभिन्न रुटहरूमा परिवर्तन गर्न सकिने सम्भावना रहेको सिटौलाले सुनाउनुभयो ।

सरकारको समन्वय आवश्यक दशैँ, तिहार र छठजस्ता पर्वको लागि उपत्यकाबाहिर जाने मानिसको सङ्ख्या धेरै हुने भएकाले सरकारले समन्वय गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महा सङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । कतिपय सडकहरूको अवस्था बिग्रेकाले सरकारले तत्काल सडकको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

अहिले विशेष गरी काठमाडौंबाट पूर्व जाने वीपी राजमार्गका साथै थानकोट भएर पश्चिम जाने मुग्लिन–नारायणगढ सडकखण्ड, नारायणगढ–बुटवल सडकखण्डका साथै सुर्खेतबाट हुम्ला र जुम्ला जाने सडकको सरकारले तत्काल मर्मत स‌म्भार गर्नुपर्ने आवश्यकता रहेको सिटौला बताउनुहुन्छ ।


उहाँले भन्नुभयो, ‘अहिले केही सडकको अवस्था बिग्रिएको छ, सरकारले तत्काल यी सडकको सुधार गरी दशैँमा घर जाने यात्रुलाई सहजता बनाउनुपर्छ ।’ यस्तै विभिन्न स्थानमा हेल्प डेस्कको पनि स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशैँको समयमा यात्रुका साथै सवारी चालकलाई पनि कठिनाइ हुने गर्दछ । यस कारण सरकारले देशका विभिन्न ठाउँमा हेल्प डेस्कको निर्माण गरेर सघाउनुपर्दछ ।’

त्यसैगरी यस पटक अनलाइन टिकटको पनि धेरै नै प्रयोग हुने अनुमान गरिएको छ । अग्रिम टिकट खुल्ने अघिल्लो दिन नै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला, चाबहिल, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की र सुनधारालगायतका स्थानमा मध्यरात नै यात्रु लाइनमा बस्नुपर्ने बाध्यता विगतमा थियो। अब भने मोबाइलमार्फत् टिकट काट्ने व्यवस्था छ।

यसले गर्दा यात्रुहरूले सहज तरिकाले टिकट काट्ने र घर जान पाउने व्यवस्था हुने सिटौलाको अनुमान छ । यस कारण यात्रुहरू ठगिने सम्भावना पनि न्यून रहेको उहाँ बताउनुहुन्छ ।

दशैँका लागि २० लाख यात्रुले काठमाडौं उपत्यका छाड्छन् भने झण्डै ६० हजार सार्वजनिक यातायात सञ्चालन हुने अनुमान छ। पेट्रोलियम पदार्थको मूल्य बढाउनु हुँदैन ।

सरकारले दशैँको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने व्यवसायीको माग छ । यदि मूल्य बढे सवारी भाडा पनि स्वतः रूपमा बढ्ने भएकाले सरकारले यात्रुलाई मर्का नपार्नको लागि अहिलेकाे मूल्यलाई स्थिर राख्नुपर्ने उहाँहरुको माग छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।