आत्मपरक निबन्धभित्र पर्ने नियात्रा साहित्य नेपाली साहित्यमा लोकप्रिय सिर्जनाका रूपमा विकसित हुँदै आएको छ । नेपाली साहित्यका नियात्रा विधामा सयौँ कृति सिर्जना भइसकेका छन् र सिर्जना हुने क्रम निरन्तर रूपमा जारी नै रहेको छ । विभिन्न स्रष्टाले यस विधामा कलम चलाइरहेका छन् । ती विभिन्न स्रष्टामध्ये पवन आलोक पनि एक हुनुहुन्छ ।
साझा प्रकाशनद्वारा प्रकाशित उहाँको ‘पहाड र लमतन्न समुद्र’ नियात्रासङ्ग्रह देशदेखि विदेशसम्मका यात्राका हृदय संवेद्य दृश्य र भोगाइहरूको चिन्तनप्रधान अभिव्यक्ति हो । स्वदेश तथा विदेशका विभिन्न रमणीय प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि स्थलहरूको भ्रमणका क्रममा नियात्राकार आलोकले आफूले देखेका, सुनेका र अनुभूति गरेका विषयका कलात्मक वर्णन गर्नुभएको छ । आफ्नै देश, स्थान, समाज, संस्कृतिबारे पनि धेरै कुरा देख्न सुन्न नभ्याएका जिज्ञासु पाठकका लागि देशभित्रकै भिन्न भूगोल, संस्कृति तथा रहनसहनबारे वा आफूले नदेखेका, नसुनेका र अनुभूति नगरेका विषयप्रतिको अनेक जिज्ञासा पूरा गर्न सक्ने सामथ्र्य रहेको आलोकको यस नियात्रा कृति पढिरहँदा पाठकलाई आफू पनि ती ती ठाउँमा भ्रमण गरिरहेको भान हुन्छ ।
वास्तवमा मानिसको चेतना विश्वव्यापी बनाउन नियात्राको महत्व व्यापक छ । समय, स्वास्थ्य, धनलगायत अन्य विविध कारणले यात्रा गर्न समर्थ नभएको खण्डमा अनुभवी नियात्राकारका नियात्रा पढेर आफ्नो ज्ञान र बुझाइलाई फराकिलो बनाउन सक्छौँ । मानिसको यात्राको उद्देश्यअनुसार नै यात्राको अनुभव, अनुभूति र दृष्टिकोण फरकफरक हुन सक्छन् ।
नियात्रा लेख्नु मनोविनोद या बुद्धिविलासको कुरो होइन । यो एउटा जिम्मेवारीपूर्ण लेखन हो । नियात्रा विधा पछिसम्म पनि पढिरहिने र ज्ञानको प्रसारण गर्न सक्ने सामथ्र्य भएको सुन्दर माध्यम हो । साहित्यका अन्य विधाभन्दा नियात्रा विधामा पाठकलाई बेग्लै स्वादको अनुभूति दिलाउन सक्ने सामथ्र्य हुन्छ । नियात्रामा यात्रामा आधारित अनुभूति र दृष्टिकोणसहितको विचारको प्रवाह हुन्छ । वास्तवमा नियात्रा पढ्नु भ्रमण गर्नुजस्तै हो ।
देशभित्रैका पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँ र अमेरिका, बेलायत, फ्रान्स, बेल्जियम, लक्जेमवर्ग, जर्मनी, जेनेभा, स्विट्जरल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, बैङ्कक, हङकङ, चीन, भारत, पाकिस्तान, इस्लामावाद आदि थुप्रै विदेशी मुलुकमा भ्रमण गर्नुभएका आलोकले आफ्नो स्मृतिमा सुरक्षित रहेका विभिन्न प्रकारका परिदृश्य र भोगाइको पूर्वस्मृतिहरूलाई अनुभवगत र लेखनगत दुवै स्थितिका कोणबाट रोचक र कलात्मक अभिव्यक्ति दिनुभएको छ । मानिस जिज्ञासु प्राणी हो । मानिसले जीवनमा विभिन्न किसिमले ज्ञान हासिल गर्न चाहन्छ । यात्रा पनि ज्ञान हासिल गर्ने एउटा किसिम हो । यात्रा पनि ज्ञानको अजस्र स्रोत हो । यात्राबाट मानिसले अनेकौँ कुरा देख्छ, भोग्छ । यात्रातर्फ उन्मुख हुनु अर्थात् घुमक्कड हुनु मानिसको स्वभाव नै हो । भ्रमणशीलता मानिसको नैसर्गिक प्रवृत्ति पनि हो । यस नियात्रा कृतिमा पनि नियात्राकार आलोकले स्वदेशविदेश भ्रमण गर्दा बाह्य आँखाले देखेका, भोगेका र भित्री आँखाले अनुभूत गरेका तीतामिठा विषयलाई आत्ममन्थन गरी त्यसको सजीव प्रकाशन गर्नुभएको छ ।
विकसित देशको भ्रमणमा निस्केका बेला नियात्राकार आलोकलाई स्वदेशको अभाव र दुःख अनि यहाँको संस्कृति, प्रकृति र विकृतिको सम्झना आएका कुराको अभिव्यक्ति छ । यसले पाठकलाई देश र परदेशको, नागरिक हुनु र अनागरिक हुनुको अन्तरबारे बोध गराउँदै स्वदेशप्रति श्रद्धा, आस्था र कर्तव्यको भावना जागृत गराउने सामथ्र्य राखेको छ ।
आफ्नै देश, स्थान, समाज, प्रकृति, संस्कृतिसम्बद्ध विषयका साथै विदेशी मुलुकका विभिन्न ठाउँका भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक तथा रहनसहन आदि चीजहरूलाई पनि सजीव देखिने गरी गरिएको चित्रमय वर्णनले गर्दा यो नियात्रा कृति सुन्दर बनेको छ । कृति पढिरहँदा पाठकका आँखामा अनेकौँ दृश्य सल्बलाउने स्थिति भएकाले यो रोचक पनि छ । कृति पढ्न प्रारम्भ गरेपछि नसिध्याइ छोड्नै मन लाग्दैन । प्राकृतिक सौन्दर्य, भौतिक उन्नति, प्रगति, रहनसहन, वातावरण तथा जनजीवनलाई केन्द्रमा राखेर कलात्मक ढङ्गले सिर्जना गरिएको यो नियात्रा कृति सबै पाठकका माझ लोकप्रिय बन्न सक्ने छ ।
कृतिमा यात्रा गरेको स्थानको समाज, संस्कृति, कला, ज्ञान, स्वास्थ्य, इतिहास, राजनीति, उद्योग व्यवसाय, व्यक्ति–व्यक्तिको स्थानीय प्रभाव, घटना, परिवर्तन, भाषा, भेष र जीवनशैली आदिको वर्णनका क्रममा उब्जिएका लेखकीय दृष्टिकोण चित्ताकर्षक र मननीय छ । वास्तवमा यात्राका क्रममा देखेभोगेका र थाहा पाएका तथ्यगत सूचनाहरूलाई निजी अनुभव र अनुभूतिको गहिरो तालमा डुबाइ आत्मपरकताको महकले सजाएर साहित्यिक मिठासका साथ अभिव्यक्त दिन सक्ने नियात्राकार पवन आलोकको खुबी प्रशंसनीय छ ।
पर्याप्त ज्ञान, धारणा, सूचनाको प्रवाह, अनुभव र अनुभूतिहरूको निजात्मकताको प्रस्तुति तथा बौद्धिक चिन्तनशीलताको समुचित र कलात्मक अभिव्यक्तिको सँगालोको रूपमा रहेको यो नियात्रा कृति सबै पाठकका लागि पठनीय र सङ्ग्रहणीय छ ।