सुरेन्द्र नेपाल श्रेष्ठ
बेलायत आएको दोस्रो दिन नै यहाँको पबमा जाने मौका मिल्यो । मलाई सँगै लिएर आउने रिचर्डले आफ्ना साथीहरू नभेटेको एक वर्ष भइसकेको रहेछ । भोलिपल्ट बेलुकी नै केही साथीसँग भेट्ने समय मिलाएछन् । मलाई पनि उसको साथीसँग परिचय गराइदिने भनेर सँगै लगे । मलाई भने अचम्म लागिरहेको थियो । साथीभाइ भेट्न त घरमा जानुपर्ने वा बोलाउनुपर्ने हैन र ? पछि पो थाहा भयो घरमा भेट्न आउनेहरू पनि घन्टौँ ढोकाबाहिरै बसेर कुरा गर्ने यहाँको चलन रहेछ ।
पश्चिमी देशको इतिहासमा रोमन साम्राज्यको महìवपूर्ण भूमिका रहेको छ । त्यसैले अहिले विकसित हुँदै आएका प्रायःजसो सबै क्षेत्रमा रोमन संस्कार र संस्कृतिको प्रभाव देखिन्छ । रोमन साम्राज्य सेल्टिक युरोपमा विस्तार हुँदै गर्दा आफ्ना सेना तथा व्यापारीका लागि यात्रा गर्न सजिलो होस् भनेर जहाँ जहाँ पुग्यो, त्यहाँ बाटो पनि बनाउँदै गयो । यसरी बाटो बनाउँदा करिब २० माइलभित्र एउटा आराम गर्ने र खानेपिउने ठाउँ पनि बनाउन थाल्यो । त्यसलाई ‘ट्याबर्ना’ भनिन्थ्यो । यो शब्द ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ शेड, कार्यशाला, स्टल वा पसल भन्ने हुन्छ । यही शब्दलाई बिस्तारै ताभेर्न भन्न थालियो । कालान्तरमा यहाँ खाना खाने, मादक पेय पदार्थ पिउने व्यवस्थासमेत हुन थाल्यो । त्यतिबेलाका व्यापारी, कर्मचारी, सेना, धर्म गुरु, तीर्थालु यस्तो ठाउँमा बास बस्ने चलन चल्यो ।
रोमनहरू आउनुअघि पनि बेलायतीहरू घरमा नै ऐल (घरमा बनाएको रक्सी) बनाएर पिउने चलन थियो । यो परम्परालाई उनीहरूले कायम नै राखेका थिए । रोमनहरूको पतनपछि ताभेर्नलाई ऐल हाउस पनि भन्न थालियो । घरमा बनाए पनि यो पेय पदार्थको बेचबिखन हुन थालेपछि पहिलो पटक राजा रिचर्ड दोस्रोले सन् १३९३ मा अब उप्रान्त सार्वजनिक रूपमा प्रयोग गर्न बनाइने ऐलको उत्पादन हुने ठाउँ पनि स्पष्ट रूपमा देखिने गरी बोर्ड राख्नुपर्ने आदेश दिएका थिए । यसको मुख्य उद्देश्य चाहिँ त्यस्तो उत्पादनले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्नका लागि के कसरी उत्पादन भएको छ, जाँचपड्ताल गर्न सजिलो होस् भन्ने नै थियो ।
ताभेर्नहरू सुरुमा आफ्नै लागि बनाइएको थियो । पछि यात्रुका लागि पनि यहाँ खानेपिउने सुविधा उपलब्ध भयो । आवश्यकताले अब बासस्थानको पनि माग भयो । जहाँ बस्ने पनि सुविधा हुन्छ, त्यसलाई भने इन भन्न थालियो । बिस्तारै जनसङ्ख्या वृद्धि हुँदै गर्दा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत बढ्दै जाँदा गाउँ वा सहरमा पनि थप इन, ऐल हाउस थपिँदै गए । स्थानीयले पनि यसको प्रयोग बढाउँदै गएपछि उनीहरूको घर र कामबाहेक जमघट हुने तेस्रो स्थानका रूपमा ऐल हाउसलाई प्रयोग गर्न थालियो । जहाँ उनीहरू राजनीति, खेतीपाती, व्यापार, व्यवसाय र पारिवारिक जीवनबारे छलफल गर्न जान थाले । यसरी बिस्तारै यो सार्वजनिक भवन जस्तो हुन गयो ।
ऐलहाउस, इन र ताभेर्नहरू सामूहिक रूपमा सार्वजनिक घरजस्तो भएपछि राजा हेनरी सातौँको शासनकालमा यसलाई पब्लिक हाउस भन्न थालियो । सजिलोका लागि छोटकरीमा पब भनियो । त्यसपछि देशैभरि थप पब स्थापना भए । केही समयपछि एडवार्ड पाँचौँको कार्यकालको अन्तिमतिर सन् १५५२ मा पहिलो पटक पब सञ्चालन गर्नका लागि विशेष लाइसेन्स लिनुपर्ने व्यवस्था भएको ऐन पारित भयो । त्यही ऐन समयको गति सँगसँगै विभिन्न कालखण्डमा परिमार्जित हुँदै आएको छ । नयाँ कानुन आएपछि देशैभरिका पबहरूको तथ्याङ्क राख्न पनि सजिलो भयो । सन् १५७७ को अन्त्यसम्म आइपुग्दा बेलायत र वेल्समा लगभग १७ हजार ऐल हाउस, दुई हजार इन र चार सयवटा ताभेर्न थिए भन्ने अनुमान गरिएको छ । जुन त्यतिबेलाको जनसङ्ख्याको आधारमा हिसाब गर्दा दुई सयभन्दा कम नागरिकका लागि एउटा पब भागमा पथ्र्याे । अहिले पनि करिब एक हजार ३५० जनाका लागि एउटा पब उपलब्ध छ भन्ने तथ्याङ्क देखिन्छ ।
उद्योगधन्दाको स्थापना र विस्तार सँगसँगै त्यहाँ काम गर्ने मजदुरले आफ्नै सदस्यको सक्रियता, लगानी र सञ्चालनमा सन् १८५७ देखि वर्किङ मेन्स क्लब भनेर पहिलो पटक म्यानचेस्टरको रेडिस भन्ने ठाउँबाट सुरुवात भयो । बिस्तारै देशैभरि यसको प्रचारप्रसार भयो । अहिले करिब दुई हजार दुई सय यस्ता क्लब रहेको अनुमान गरिन्छ । यसले आफ्नै ब्रुअरी पनि स्थापना गरेको थियो । पछि बिक्री गरियो । सुरुमा क्लबका सदस्यलाई मात्र प्रवेश दिइने गरिएको यस्तो क्लबमा सुपथ मूल्यमा खानपिन सेवा मात्रै नभई मजदुरलाई विविध विषयमा शिक्षा, तालिम पनि प्रदान गर्ने व्यवस्था थियो ।
हालसालै प्रकाशित एक तथ्याङ्कअनुसार सन् २०२१ मा चार अर्ब ६० करोड लिटर बियर बिक्री भएको देखिन्छ । यो सन् २०२० को तुलनामा १३ प्रतिशतभन्दा बढी हो । कोभिडका कारण मानिस घरभित्रै बस्न परेको हुँदा पिउने बानीमा पनि फेरबदल भएको देखिन्छ । त्यतिबेला वाइनको बिक्री बढेर ११ करोड २० लाख लिटर पुगेको थियो । सन् २०१९ मा आठ करोड ४० लाख लिटर मात्र बिक्री भएको थियो । अहिले पबहरू पुनः खोलिन थालेपछि बियरको बिक्रीमा वृद्धि भएको छ ।
सन् २००० मा पबको सङ्ख्या झन्डै ६१ हजार थियो तर सन् २०२१ सम्म आइपुग्दा यो सङ्ख्या घटेर करिब ४७ हजार भएको छ । महामारी र त्यसपछिको मन्दी, मूल्य वृद्धि आदिका कारणले गर्दा यो क्रम झनै बढ्दै जाने अनुमान गरिएको छ । सरकारले सन् २००७ देखि सार्वजनिक सबै स्थानमा धूमपानमा बन्देज लगाएपछि त्यसको सबैभन्दा बढी प्रभाव यही क्षेत्रमा परेको थियो । त्यसमाथि मद्यपानमा थपिएको करका कारण मानिस सस्तो पसलमा किनेर घरमा नै पिउन बाध्य भएका थिए । त्यस्तै एक अर्को तथ्याङ्कअनुसार सन् २०२१ मा ३३ प्रतिशत बेलायती वयष्कले १५ दिनको एक पटक, आठ प्रतिशतले हप्तामा दुई पटक र एक प्रतिशतले दैनिक पबमा खानपिनका लागि जाने गरेका छन् ।
सन् २०२० को अर्को प्रतिवेदनअनुसार बेलायतमा सबैभन्दा बढी पब व्यवसाय भएको कम्पनी ‘ई आई ग्रुप’ हो । स्टोनगेट कम्पनीअन्तर्गत देशभरिमा यसको चार हजार ७०८ वटा शाखा छन् । त्यसैगरी दोस्रोमा ‘मिचेल एन्ड बटलर्स’को एक हजार ६६० र तेस्रोमा ‘जे डी वेदरस्पुन’को ८७१ वटा शाखा छन् । सङ्ख्यामा तेस्रो भए पनि प्रख्यातिमा भने ‘वेदरस्पुन’को नाम अग्रणी सुनिन्छ भने सबैभन्दा बढी व्यापार गर्नेमा दोस्रोमा पर्छ । आम्दानीका आधारमा ‘मिचेल एन्ड बटलर्स’ले सबैभन्दा बढी एक अर्ब ५० करोड, ‘वेदरस्पुन’ले एक अर्ब २६ करोड र तेस्रोमा स्टोनगेटले ७० करोड ७० लाख पाउन्डको कारोबार गरेको देखिन्छ । अन्य प्रख्यात नाममा ‘क्राउन’, ‘रोयल ओक’,
‘ह्वाइट हार्ट’, ‘द स्वान’, ‘द प्लाव’, ‘द बेल’, ‘रोज एन्ड क्राउन’, ‘क्विन्स हेड’, ‘रेलवे टेभर्न’, ‘ह्वाइट हर्स’ आदि हुन् । लन्डन अन्डर ग्राउन्ड निर्माण भएसँगै छवटा स्टेसनको नामकरण नै त्यहीँनजिकैको पबको नामबाट भएको थियो । ती हुन्– ‘द एन्जल’, ‘इलेफेन्ट एन्ड कासल’, ‘मेइदा भेल’, ‘म्यानर हाउस’, ‘रोयक ओक’ र ‘स्विस कटेज’ ।
एक २४ वर्षे युवा मार्टिनले सन् १९७९ मा ‘मसवेल हिल’, ‘ह्यारङ्गे’बाट सुरु गरेको पब व्यवसाय अहिले बेलायत र आयरल्यान्डमा गरेर ८२० वटा शाखा पुगेको छ । प्रायःजसो पुराना फिल्म हल, बैङ्क र ठूला घर खरिद गरी पब बनाउने मार्टिनको उद्देश्य सकेसम्म सस्तो र गुणस्तरीय खानपिन र बासको सुविधा दिनु हो । उहाँको स्कुले पढाइ न्युजिल्यान्डमा भएको थियो । पढाइ उहाँको रुचिको विषय थिएन । उहाँले जब आफ्नै व्यवसाय सञ्चालन गर्ने निर्णय गर्नुभयो तब के नाम राख्ने होला भन्नेबारे सोच्न थाल्नुभयो । त्यस बखत एक अमेरिकी हास्य टेलिशृङ्खला ‘द ड्युक्स अफ ह्याजार्ड’ सुरु भएको थियो । त्यसको मुख्य पात्र जे डी मा उहाँको ध्यान पुग्यो । यो अलि छोटो भएकाले के थप्ने भन्ने सोच्दै हुनुहुन्थ्यो । उहाँले आफूले ठूलो उद्देश्यसहित व्यवसाय सञ्चालन गर्न लागेको तर भूगोल पढाउने गुरुले रिसाएर एक पटक तिमीले जिन्दगीमा केही गरौला जस्तो छैन, तिम्रो मूल्य शून्य देखिन्छ भनेको सम्झन पुग्नुहुन्छ । त्यसैले यो उहाँका लागि ठूलो चुनौती पनि भएकाले उनै गुरुको थर ‘वेदरस्पुन’ जोडेर ‘जे डी वेदरस्पुन’ नाम राखिएको थियो । यसपछि बेलायतको पब संस्कृतिमा व्यापक परिवर्तन आएको देखिन्छ । सबैखाले ग्राहकलाई आकर्षण गर्न उहाँले सधैँ पाउने खानाबाहेक प्रत्येक दिन फरक फरक खालको खाना आइतबार सन्डे रोस्ट, शुक्रबार फ्राइडे फिस, मङ्गलबार स्टेक क्लब, बुधबार चिकेन क्लब, बिहीबार करी क्लब पनि उपलब्ध गराउनुहुन्छ । सायद यही सिको गरेर हुनुपर्छ, आजभोलि धेरैजसो पबमा चाइनिज, थाई, भारतीय, नेपाली खाना पनि पाइन्छन् ।
२४ नोभेम्बर २००५ देखि बेलायतमा पनि अन्य मुलुकमा जस्तै चौबिसै घण्टा मादक पेय पदार्थ उपलब्ध हुन थालेको हो । हाल करिब सात सयवटा पब र करिब तीन हजार दुई सयवटा बार होटलले चौबिसै घण्टा व्यापार गर्न सक्ने लाइसेन्स पाएका छन् । अन्य पब, होटल रेस्टुरेन्टको चाहिँ खुल्ने समय कानुनअनुसार नै सीमित हुन्छन् । हुन् त मानिसको व्यस्तता र पारिवारिक कारणले अहिले क्रिसमसको दिन पनि पसल तथा पब रेस्टुरेन्ट खुला हुन थालेका छन् ।
पबलाई यहाँका औसत मानिसको दोस्रो घरका रूपमा लिइन्छ । साथीभाइ, इष्टमित्र, आफन्त भेट्ने भनेको नै पबहरूमा हो । चाडबाड, उत्सव प्रायः सबै मनाउने पनि यतै हो । स्थानीय रूपमा जमघट गर्ने थलो पनि यही नै हो । अवकाश पाइसकेपछि एक्लो जीवन बिताउनेहरू त हिँडडुल गर्न सकेसम्म बिहान खुलेदेखि बेलुकी अबेलासम्म पबमै बसेर सुत्न मात्रै घरमा जाने गर्छन् । युवाले हप्ताको पाँच दिन पढ्ने तथा काम गर्ने तर बाँकी दुई दिन पबमा नै बिताउँछन् । अहिले त झन् प्रविधिको विकास सँगसँगै राष्ट्रिय
अन्तर्राष्ट्रिय खेलकुदहरू प्रत्यक्ष प्रसारण गरिने हुँदा सबै किसिमका मानिसको जमघट हुने थलो बनेको छ पब । परम्परागत पबहरूमा अहिले पनि अझै स्नुकर पुल, डार्ट्स, इनडोर क्विट र अन्य खेल पनि खेल्ने गरिन्छ । प्रायःजसो गाउँका पबमा हप्ताको कुनै एक दिन गीत/सङ्गीतका लागि काराओके, बौद्धिक विकासका लागि हाजिरीजवाफ, रमाइलोका लागि बिङ्गो खेलाउने पनि गर्छन् । बालबालिकाका लागि छुट्टै खेलाउने ठाउँको पनि व्यवस्था गरिएको हुन्छ । समग्रमा भन्दा पब भनेको स्थानीय रूपमा बसोबास गर्नेहरूको सबै खालका आवश्यकता पूरा गर्ने एउटा थलो हो । पब हटाइदिने हो भने बेलायती समाज ‘पानीबिनाको माछा’जस्तो हुनेछ ।