सानो छँदा ‘आमा दिदी बहिनी हो...’, ‘सारङ्गी बजाउँदै गाउँदै गीत सुनाउँदै...’, ‘स्नेहका मुहान नारीका मन अचानो बन्दछन्...’ आदि गीत गाउँदै वा गुनगुनाउँदै बजार र गाउँबस्ती हिँड्थ्यौँ । त्यो बेला पञ्चायती व्यवस्था थियो । एक दिन हामी यस्तै गीत गाउँदै बाटोमा हिँड्दै थियौँ, एक जनाले हामीलाई एकान्तमा बोलाएर त्यस्तो गीत गाएको प्रहरीले थाहा पायो भने जेलमा थुन्छ भनेपछि हामीले ती गीत गाउन छाड्यौँ । यसरी नै जेबी टुहुरेसित हाम्रो अनौठो तर अभौतिक चिनजान भएको थियो । सङ्कल्प परिवारले प्रकाशन गरेका जनताका गीत पनि पढ्यौँ । त्यसपछि टुहुरेको थप परिचय मिल्यो ।
२००१ साल कात्तिक १५ गते धरानको पुतलीबजारमा बाबु कृष्णबहादुर र आमा दानदेवीको कोखबाट जन्मनुभएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उहाँभन्दा अघिका पाँच जना सन्तान अल्पायुमा नै मरेकाले गाउँघरको अन्धविश्वासी चलनले जन्मेपछि उहाँलाई घरको जुठेल्नोमा राखिएको थियो जसका कारण उहाँको नाम नै जुठबहादुर खड्गी रहन गएको हो । यो कुरो टुहुरे आफैँ भन्नुहुन्थ्यो । धेरै सन्तान मरेपछि जन्मेको सन्तानको नाम समाजले हरदम नपचाउने किसिमको राख्नुपर्छ भन्ने अन्धविश्वास पनि थियो जसले गर्दा अनौठो किसिमको नाम उहाँको राखियो । यस्तो नाम जोकसैको हम्मेसी पाइन्न ।
१७÷१८ वर्षको उमेरमा टुहुरे भागेर काठमाडौँ आउनुभयो । रेडियो नेपालमा गीत रेकर्डिङ गरी गायन यात्रा सुरु गर्नुभयो तर रेडियो छाडेर उहाँ वामपन्थी विचारधारातिर ढल्कनुभयो । तत्कालीन झापाली समूह पूर्वकोसी प्रान्तीय कमिटी कोअर्डिनेसन केन्द्रमा विलय भएपछि टुहुरे पनि यही पार्टीतिर लाग्नुभयो । २०३५÷३६ सालको जनसङ्घर्षमा गीतसङ्गीतको माध्यमबाट जनताका घरआँगनमा पुग्नुभयो । गीतसङ्गीत भन्नु मायाप्रीतिको खेल र यौवनको उन्माद मात्र होइन यो त समाजलाई अग्रगति दिने माध्यम पनि हो भन्ने कुरा टुहुरेले परिभाषित गरिदिनुभयो ।
‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भै सुखको सधैँ प्यासी बनेर...’, ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ...’, ‘छोराहरू हो छोरीहरू हो...’, ‘आमा तिम्रो माया कञ्चन पानी जस्तो ...’, ‘सानो नानी सानो नानी कति राम्रो नि लै लै हो तिम्रो त बानी...’, जस्ता युगान्तकारी गीत आफ्नो साङ्गीतिक जीवनमा उहाँले पस्कनुभयो भने कतिपय गीतरचना र सङ्गीतको संयोजन पनि उहाँले गर्नुभयो । उहाँको प्रतिनिधि गीत ‘आमा दिदीबहिनी हो...’को रचनागर्भमा गायक रामेस र बम देवानको पनि शब्दहरू परिमार्जन गर्नमा ठूलो योगदान रहेको छ ।
आफ्नो झन्डै साढे पाँच दशकको जागरणमूलक साङ्गीतिक अभियानमा उहाँले १५० जति गीतको सिर्जना गर्नुभयो । उहाँका गीतहरूमा सङ्गीतको शास्त्रीय विधिपद्धति खोज्नुभन्दा समाजलाई अग्रगमनतिर लैजानमा भएको योगदान खोज्नुपर्दछ । राजनीति र अन्य घरायसी कारणले उहाँको औपचारिक अध्ययन त्यति माथि पुग्न सकेन । फेरि त्यतिखेरको बुर्जुवा शिक्षा बहिष्कारको नाराले पनि उहाँलाई तान्यो होला तर जीवनको विश्वविद्यालयका जनतारूपी विद्यार्थीलाई उहाँले आजन्म जनचेतनाको शिक्षादीक्षा दिनुभयो । टुहुरेको सम्झनलायक पाटो यो हो । उहाँले औपचारिक रूपमा तीन कक्षासम्म मात्र पढ्नुभयो । बरु बाबुको व्यापारव्यवसायलाई भरथेग गर्दै पूर्वका धेरै सहरबजार डुल्नुभयो । गीत गाउँदागाउँदै धेरै पटक जेल पनि पर्नुभयो । धरान छाडेर उहाँले विराटनगरको ट्राफिक चोकमा लज व्यवसाय पनि गर्नुभयो । ग्राहकहरू उधारोमा लजमा सुत्न, बस्न आउने तर जिन्दगीभर त्यो उधारो तिर्न नसम्झने बानीका कारण उहाँले लज व्यवसाय छाड्नुभयो । २०३९ सालमा त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा ‘हाम्रो गीत हाम्रो आवाज’ नामक गीति कार्यक्रम टुहुरेको नेतृत्वमा भएको थियो ।
राजनीतिमा टुहुरेले झन्डै साढे पाँच दशक बिताउनुभयो । मुलुकमा बहुदलीय व्यवस्थाको आगमनपछि हिजो जसको विरोधमा टुहुरेले गीतमार्फत विरोधका स्वर उराल्नुभएको थियो, तिनै पात्र आफ्ना नेताका नजिक हुँदै सत्ताको चास्नीमा तर मार्न पुगेपछि उहाँ केही मर्माहत पनि बन्नुभयो । चुनावका बेलामा नेताहरूलाई जिताउन हरेक कार्यक्रममा गाइनेका रूपमा कलाकारको उपयोग गरिएको महसुस पछिल्ला दिनमा उहाँलाई हुन थालेको थियो । सशस्त्र सङ्घर्षबाट शान्ति प्रक्रियामा आएको तत्कालीन विद्रोही नेकपा माओवादीले भने उहाँलाई संविधान सभा सदस्य बनायो ।
भारत, हङकङ तथा कोरियालगायतका केही देशमा उहाँले प्रस्तुति दिनुभएको छ । केही एकल प्रस्तुति स्वदेश र विदेशमा गर्नुभएको छ । दुई वर्षअघि पनि काठमाडौँको प्रज्ञा भवनमा उहाँको एकल प्रस्तुति आयोजना भएको थियो । दुई वर्षअघि नै उहाँकी छोरी निर्भीका टुहुरेको सक्रियतामा स्थापित जेबी टुहुरे फाउन्डेसनको आयोजनामा उहाँको जन्मस्थान धरानमा एकल प्रस्तुति गर्ने योजना थियो । यसलाई नै उहाँले आफ्नो अन्तिम एकल प्रस्तुति बनाउने इच्छा पनि गर्नुभएको थियो । पञ्चायतकालमै राष्ट्रिय जनसांस्कृतिक मञ्चको संस्थापक केन्द्रीय सदस्य रहनुभएका उहाँ समय क्रममा त्यसको केन्द्रीय अध्यक्षसमेत बन्नुभयो ।
सरल शब्दको चयन उहाँका गीतको परिचय हो जो सहजै निरक्षर जनताको जिब्रोमा पनि झुन्डिन सक्छ । उहाँको स्वर बिछट्टको जादूगरी त होइन तर उहाँका गीतले महŒवपूर्ण सन्देश दिन्छ । स्वर्गीय नेता मदन भण्डारीको सम्झनामा उहाँको रचना, सङ्गीत र स्वर रहेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देशभक्त छोरो मर्दा देशै रुँदो रै’छ...’ बोलको गीत त्यति बेला बौद्धिक वर्गका बीचमा पनि चर्चाको विषय बनेको थियो । आफू २० वर्षको छँदै बाबु गुमाएको पीडामा उहाँले टुहरे उपनाम राख्नुभयो । २०७८ सालको भदौ १० गते अनन्तमा उहाँ बिलाउनुभयो । जन्मस्थान धरानमा एकल प्रस्तुति गर्ने उहाँको धोको अधुरै रह्यो । उहाँले मदन भण्डारीको मृत्युमा सिर्जना गरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदै रै’छ...’ उहाँको आफ्नै जीवनमा अक्षरशः लागू भयो । जेबी टुहुरेको गीत सुनेर राजनीतिमा लाग्नेहरू आजभन्दा तीन दशकअघि नै शासनमा पुगे तर टुहुरे जहाँको तहीँ रहे किनभने उहाँको जीवन जनताको मायाले बाँचेको थियो । निकै सरल र सादगीपूर्ण जिन्दगी थियो उहाँको । नेपाली जनवादी गीतसङ्गीतको एउटा ‘अर्काइभ’ टुहुरे न्याय, समानता, स्वतन्त्रता, नारी जागरण र जनअधिकारका उच्च हिमायती थिए । नेकपा एमालेबाट सञ्चालित साहित्य सन्ध्या नामक संस्थाले उहाँलाई साहित्य सन्ध्या पुरस्कार दियो । पदमा त जो पनि पुग्लान् तर जेबी टुहुरे जस्ता जनसमर्पित कलाकार पाउन मुलुकले एउटा युग नै पर्खनुपर्छ । यही प्रसङ्ग रामेश, रायन, अरिम, चेतनारायण राई, माहिला लामा, जीवन शर्मा आदिमा पनि लागू हुन्छ ।