• ८ मंसिर २०८१, शनिबार

सार्थक जीवन बाँच्ने कला

blog

मानिसले कहिलेकाहीँ गर्ने जथाभावी हर्कतलाई हेर्दा लाग्छ, उसको चेतनामा मानवताको कुनै अवशेष बाँकी छ कि छैन ? सम्भवतः तपाईंलाई पनि यस्तो लाग्दो हो। भन्नलाई त हामी आफूलाई प्राणीमध्येको सर्वोत्कृष्ट भन्छौँ। वास्तविकता त्योभन्दा टाढा भएजस्तो लाग्छ। कहिलेकाहीँ यसो आफूले गर्ने गरेका यावत् क्रियाकलापको संश्लेषण गरेर हेरौँ त आफूलाई सर्वोत्कृष्टता या निकृष्टता कुन पाटोमा उभ्याउन लायक सम्झन्छौँ ? यो यथार्थ अरूले भन्दा पनि आफैँले अनुभव र अनुमान गर्ने हो।

मानिसको मस्तिष्क निर्माण गजबले भएको छ। जति मस्तिष्कलाई काममा लगायो त्यति ऊर्जावान्, रचनात्मक, सिर्जनशील हुँदै जाने यसको गुणको विशेषताको कहिले परख गरी सकिएला ? मेरो मस्तिष्क कमजोर र उसको बलियो वा बलशाली भन्ने हुँदैन। जन्मजात रोगी र अपवादबाहेक कमजोर/बलियो भन्ने पनि हुँदैन। ज्ञान/विज्ञान दुवैले त्यही धारणा राख्छन्। त्यसलाई जति कुनै काममा अभ्यस्त बनायो, तिखा–यो त्यति गतिशील, सिर्जनात्मक र रचनात्मक बन्दै जाने स्वभाव हुन्छ।

जुनसुकै परिवेश, संस्कार र संस्कृतिमा हुर्केको होस्, उसँग हुने अमोघ सम्पत्ति भनेको नै यही दिग्गज मस्तिष्कको करामत नै हो तर त्यसको सही सदुपयोग गर्न नजानेर दुरुपयोग गरिरहेका हुन्छौँ, जसको कारणले कतै कमजोरी छ कि ? वा विकसितै नभएको मस्तिष्क हो कि भनी अलमलिएर बस्छौँ। त्यसलाई जागृत तुल्याइराख्नुपर्छ, ऊर्जावान् तुल्याउन सदैव सधाइराख्नुपर्छ। बस, त्यति भए पुग्छ। आमा र बाबुको क्रोमोजोनको संयुक्त परिणतिस्वरूप मानव मस्तिष्कमा दुवैको केही न केही गुण जरुर आएको हुन्छ। हुन त त्यो त्यसभन्दा माथिल्लो पुस्ताका हजुरबुवा/हजुरआमा, जिज्यूबुबा/ जिज्यूआमाको पनि वा त्यसभन्दा धेरैअघिको पुस्ताको पनि आएको हुन सक्छ तर के कस्तो गुण आएको छ, त्यसको तुलना गर्न वर्तमानमा ती हजुरबुबा/हजुरआमा वा जिज्यूबुबा/जिज्यूआमा नहुँदा सामान्य केही तुलना गर्न सकिए पनि उनीहरूको अभावमा सर्वाङ्ग तुलनीय हुँदैन।

परिस्थिति हाम्रो हातमा छैन भने पनि त्यसले केही बिग्रेको हुँदैन। कम्तीमा हामी आफ्नो मनस्थितिलाई त काबुमा राख्न सक्ने बनौँ। मनलाई असल कुरा र चिन्तन तथा सकारात्मक सोच लगाएर सुख, शान्ति र आनन्द प्राप्त गर्ने बाटोमा प्रवृत्त गराउन सकिन्छ। मानिसको जीवनमा ‘कीर्ति’ भन्ने कुरा जीवनभन्दा पनि शाश्वत भएजस्तो लाग्छ कहिलेकाहीँ। हुन पनि कीर्तियुक्त मानिस युगौँयुग बाँचिरहेको हुन्छ, जब कि बिनाकीर्तिको मानिस आउँछन्/जान्छन्, त्यसको लेखाजोखा नै कतै हुँदैन भनिदिए हुन्छ।

जीवनलाई सम्झनलायक तुल्याउन जहाँ छौँ, जेजस्तो क्षमता, शक्ति बुद्धि, गच्छे, अनुभव, ज्ञान र सीप छ, त्यसैअनुसार परिवार, समाज, राष्ट्र र विश्वका लागि मूर्त÷अमूर्त जेजति असल कार्य हुन्, त्यसका लागि जीवन समर्पित गर्न पाउनु नै जीवनको सार्थकता बन्न पुग्छ। जो यो मार्गमा हिँड्यो, उही नै असल, ठूलो र अनुकरणीय व्यक्ति बन्न पुग्ने गरेको इतिहास साक्षी छ।

गलत र कुकामदेखिबाहेक कुनै पनि काम आफैँमा सानो हुँदैन। कामलाई सानो भनेर हेला गर्नु पनि हुँदैन। त्यसलाई सानो वा ठूलो के बनाउने ? आफ्नै हातको कुरा हो भन्ने सम्झी मेहनत, परिश्रम र इमानदारीसाथ त्यसलाई के, कसरी सफल र प्रभावकारी तुल्याउन सकिन्छ, निरन्तर लागिरहे असम्भव भन्ने शब्दलाई प्रयोगै गर्न नपर्ने स्थिति आउँछ। 

बुद्धिमान व्यक्ति त्यस्तोलाई भनिन्छ, जो आफूसँग नभएको कुरामा शोक गर्दैन र आफूसँग भएको कुरामा सन्तोष हुन्छ, खुसाउँछ र रमाउँछ। मानिसमा गजबको स्वभाव हुन्छ, त्यसलाई विकृति भनौँ कि प्रकृति अधिकांशको स्वभाव नराम्रो या नकारात्मक विचार, सोच, चिन्तनका लागि धेरै समय व्यतीत गर्ने हुन्छ। जसका कारण भय, सन्ताप, रोग, निराशा आदि अनेकथरी व्याधिको तानाबाना दिनहुँ बुनेर बस्दा अमूल्य समय यसै खेर गइरहेको उसलाई पत्तै हुँदैन। हरेक दिनजसो दुःख बेहोरेर बस्न तथा आँधीहुरीजस्तो जीवनलाई आउँदो समय निष्पट्ट अँध्यारो तुल्याउन तिनै व्याधिहरूले भरथेग गरिरहेको हुन्छ भन्ने कुरा थोरै मानिसले मात्र बुझेका हुन्छन्।

सत्य कुरा के हो भने राम्रो, असल र उपयोगी विचारको उद्भवका लागि जानी नजानी जति समय खर्च हुन्छ, परिश्रम पर्छ, त्यति नै समय नराम्रो चिन्तन, सोच र कर्मका लागि पनि खर्च भइरहेको हुन्छ। तिनमा अन्तर केवल दोस्रोमा संस्कार, शिक्षा, वातावरण, परिस्थिति र अभ्यासको न्यूनता र अज्ञानता नै हावी हुन्छ। ती मिहिन कुरालाई बाह्य चर्मचक्षुले मात्र खुट्याउन सक्दैन, महसुस गर्न सक्दैन।

मानिसलाई सबैभन्दा ठूलो डर मृत्युकै हुन्छ। के पशुपन्छी मरुँला भन्ने डरले बाँचिरहेका छन् ? के रुखमा भएको पहेँलो पात, जो जमिनमा झर्नका लागि तयार भएको छ, त्यो झरुँला र मरुँला भनेर आत्तिएर रुखकै हाँगामा टाँसिएर बस्छ ? बस्दैन।

चराचुरुङ्गी, कीरा, फट्याङ्ग्राको सिकारमा, गुड बनाउनमा, बिहानको शुभमुहूर्तमै चिचि र चूचू गर्दै अलमस्त भएर गाउनमै व्यस्त हुन्छन्। के खान पाइएला, के नपाइएला ? उनीहरू त्यसको रत्तिभर चिन्ता गर्दैनन्। मानौँ ईश्वरको सृष्टिमा प्रकृतिप्रदत्त जीवन छ, भोकै किन बस्नु पर्ला र ? भनेजसो उनीहरू बिहानदेखि बेलुकासम्म कुनै न कुनै काममा लागिरहेकै हुन्छन्। बेकारमा समय बिताउँदैनन् मान्छेले जस्तो। केही नभए आकाशमा उडेर आनन्दको मजा लुट्छन्। जङ्गलमा रुखको डाली डाली चहार्दै, नाच्दै/उपँ्रmदै, गाउँदै एकआपसमा रमाइरहेका हुन्छन्। 

घरेलु हुन् कि जङ्गली जनावर, जीवनलाई रमाइलोसँग व्यतीत गर्नमै आनन्द मान्छन्। जङ्गली जनावरको अवस्था कति जोखिमपूर्ण छ ? लाग्छ उनीहरू आँखा झिमिक्क त गर्न पाउँछन् ? शङ्कै लाग्छ। यतै मृत्युको मुख, उतै मृत्युको मुखसरी हिंसक जनावर मडारिरहेका हुन्छन्। पूरा आयु त जङ्गली जनावरले बिरलैले बाँच्न पाउँछन्! यसो भए पनि अनेक तरहले लुकेर, छिपेर जीवन बाँचिरहेका हुन्छन्। कति कष्टकर छ उनीहरूको जीवन ? पलपलमा मृत्यु नाचिरहेको हुन्छ।

उनीहरूका लागि मृत्यु आइहाल्यो भने पनि अरू कुनै उपाय छैन, त्यसलाई स्वीकार्नुबाहेक। मानिसलाई जस्तो न सहयोग गर्ने परिवार न साथीभाइ, न अस्पताल, न औषधिमूलो! एकछिन सम्झँदा पनि शरीरमा काँढा उम्रन सक्छ मानिसको! त्यही मानिस पशुपन्छीप्रति कति निष्ठुर छ। कहिल्यै यो यथार्थ सोच्न भ्याएका छौँ ?

मृत्युको चिन्ता गरेर बस्ने हो भने पशुपन्छी जन्मनासाथ मर्नु नै निको हुनेजस्तो अवस्था संसारमा व्याप्त छ। सायद उनीहरू कहिल्यै पनि मृत्युको भयमा बाँचेका हुँदैनन्। मृत्यु आए पनि ठीक, मृत्यु नआएर बाँचे पनि ठीकको आशामा जीवन बाँचिरहेका हुन्छन्। यो उनीहरूको नियति हो। यसरी क्षणक्षणमा बाँच्नु परेको हुन्छ पशुपन्छीले।

मानिस मात्र यस्तो प्राणी छ, जो हरहमेशा मृत्युको भयले गाँजिएको हुन्छ। हरेक पल मरिरहेको हुन्छ, बाँच्ने भन्ने सोच त बिरलै गर्छ ऊ। सानो घाउखटिरा आए पनि पहिल्यै ठूलो रोग लागेको हो कि भनी शङ्काले ग्रस्त हुन्छ। सामान्य ज्वरो, रुघाखोकी लाग्दा पनि अत्तालिन्छ कतै यसैले गर्दा मरिने पो हो कि भनेर। मृत्युको अर्थ दैहिक रूपमा सदा–सदाका लागि बिसर्जन होइन, बरु मृत्यु त शाश्वत सत्य हो भन्ने सम्झी त्योसँग डराउनुभन्दा समय मिल्दा उम्दा कर्म गरेर, असल क्रियाकलाप सम्पादन गरेर, दुःख, पीरले सन्त्रस्तहरूको के कसरी पीर हटाउन, सुख दिन सकिन्छ भनेर, नहुने दीनहीनहरूका लागि के सेवा दिन सकिन्छ भनेर, असहाय, सडकआश्रित, सहयोगापेक्षीलाई स्वार्थले ग्रस्त भएर होइन निस्वार्थ र निसर्त सहयोगका हात बढाउन पाइयो भने मृत्युको भयले सताउन छोड्छ। 

मृत्युपछि आखिर केही बच्छ र ? कुनै व्यक्ति दुःखले भरिएर, अज्ञान र अन्धकारको गर्तमा पुगेर बाँच्नुको पनि त्यति अर्थ रहँदैन। यसैले मृत्युसँग डराउने होइन बरु मृत्युसँगको डर हटाउन अवश्यम्भावी मृत्यु आउनुभन्दा अगाडि नै असल कृत्य गर्न सकियो भने मृत्युको भय रहँदैन। यसैले हो– आध्यात्मिक ज्ञानको उच्च स्थितिमा पुगेकाहरू मृत्युसँगको भयबाट अतीत भइसकेका हुन्छन्। उनीहरू मृत्युलाई स्वीकार्न र स्वागत गर्न तम्तयार भएर बसेका हुन्छन्। अध्यात्ममा लाग्नुको फरक त्यही भेटिन्छ।

कसैको मृत्यु कसैको जीवन, कसैको जीवन कसैको मृत्यु यही नै त हो नि जीवनको कथा। हरेक क्षण अनेक खतरा र सङ्कट छलेर लुक्न सकुञ्जेल त हो जीवन। कहीँ अलिकति मात्र पनि तल÷माथि भयो भने कुन बेला मृत्युको लप्का आइलाग्छ थाहै नहुने। यसैगरी युगयुगान्तरदेखि चलिरहेको छ जीवन र मृत्युको लुकामारी। आफू पनि बाँच्ने र अरू पनि बाँच्ने परिवेश र वातावरण हुनुपर्छ। डरभर, दबाब र बलमिच्याइँ हुने हो भने के जीवन ? अरूलाई बाँच्न नदिने हो भने के काम जीवनको ? जीवनको सही अर्थ बुझेर जीवन्त जीवन बाँच्न नपाउने हो भने पनि जीवन जिउनुको के अर्थ ?

जसरी दुर्गन्धित स्थानलाई शुद्ध तुल्याउन सुगन्धित वस्तु छर्कनुपर्छ, चिसो हटाउन तातोको सेवन वा प्रयोगको जरुरी पर्छ, त्यसैगरी खराब विचार नष्ट गर्न राम्रा विचार बढाउनु आवश्यक पर्छ। क्रोधका विचारको नाशका लागि शान्त विचारलाई प्रोत्साहित तुल्याउनुपर्छ। लोभका विचारको निवृत्यर्थ सन्तोष र उदारताका विचार अधिक ल्याउनुपर्छ। द्वेषको विचारका नाशका लागि स्नेह, प्रेमको विचार र अभिमानको विचारको नाशका लागि नम्रताका विचार एवं भयको विचारको नाशका लागि निर्भयताको विचारलाई उकास्नु जरुरी छ।

जीवन सार्थक बनाउने हो भने भूतकालको डर, भविष्यको आशा र अहिले बाँचेकै समय अर्थात् वर्तमानलाई बढीभन्दा बढी सदुपयोग गरेर बाँच्न सकियो भने त्योजत्तिको सुख, शान्ति र आनन्दको क्षण कुनै हुँदैन। भूतकालमा बाँच्ने होइन, मात्र भूतकालबाट पाठ सिक्ने हो। वर्तमान असल भयो, यसलाई सही रूपले सदुपयोग गरियो भने निश्चित रूपले भविष्य मनोहारी बन्छ, त्यसमा कुनै शङ्का छैन। यसैले मानिस बाँच्ने वर्तमानमै हो भूत र भविष्यमा अल्मलिएर होइन भन्ने सन्देश हरेकको मनमस्तिष्कमा उदाउन सक्नुपर्छ।