संसारको इतिहासलाई हेर्ने हो भने एक जना महान् व्यक्ति र उसको विचार, दर्शन र साहसले समाज, राष्ट्र र मानव सभ्यता बदलेको प्रमाणित छ । कुनै सत्ता र सरकारले बदलेको इतिहास छैन, बरु उनीहरूले परिवर्तनको ब्याज खाएर बसेको र प्राप्त उपलब्धिलाई झन् ध्वस्त पारेको इतिहास छ । त्यसैले एक जना मान्छे वा नेतृत्व सही भए उसको विचार, दर्शन र साहसले नै सम्पूर्ण समाज, राष्ट्र र मानव सभ्यता परिवर्तन गर्न सकिन्छ । मानव जातिको विकास क्रममा केही व्यक्तिको महान् सोच, चिन्तन, विश्लेषण तथा अथक प्रयास र सङ्घर्षले अर्थात् समाजप्रतिको उसको गहिरो समर्पणले नै हरेक परिवर्तन सम्भव भएको हो । ती व्यक्ति र नेतृत्वको फरक फरक किसिमको आफ्नो राजनीतिक, वैचारिक र धार्मिक वैज्ञानिक दार्शनिक वैचारिक दृष्टिकोण किन नहोस् । उनीहरूको विचारले नै संसार निर्माण गरेका हुन् र ठुला ठुला परिवर्तन सम्भव भएका हुन् ।
दार्शनिक क्षेत्रमा परिवर्तनको इतिहासलाई नजिकबाट अध्ययन गर्ने हो भने सुकरात, प्लेटो र अरस्तुहरूको ठुलो योगदान छ । किनभने हामी आज जे तर्क वितर्क गर्छौं र ज्ञानविज्ञानको खोजी र विवेकको प्रयोग गर्छौं त्यो केवल यिनै युनानी दार्शनिकका कारणले हो । करिब २५ सय वर्षअघि एथेन्सका एक साधारण व्यक्ति सुकरातले ‘मलाई थाहा छैन’ भन्ने स्विकारोक्तिबाट ज्ञानविज्ञानको सुरुवात गर्नुभयो । उहाँले समाजमा रहेका स्थापित अन्धविश्वास र मिथ्या मान्यताको खण्डन गर्नुभयो । उहाँले नै हरेक प्रश्नको उत्तर खोज्ने तरिका सिकाउनुभयो । त्यो नै हरेक मानिसको नैतिकताको जग बन्यो । उहाँका शिष्य प्लेटोले ‘गुफा रूपक’ जस्ता गहिरो दृष्टान्तमार्फत सत्य र मायाबिचको द्वन्द्वको व्याख्या गर्नुभयो । उहाँले राज्य, न्याय र ज्ञानको संरचनाको विकास गर्नुभयो । जसले राजनीतिक दर्शनको दिशा दियो । प्लेटोका शिष्य अरस्तुले विज्ञान, तर्कशास्त्र, जीवविज्ञानदेखि राजनीति र काव्यशास्त्रसम्मका क्षेत्रमा अद्वितीय योगदान दिनुभयो । उहाँले ‘मानव एक सामाजिक प्राणी हो’ भन्ने आधारभूत सत्य स्थापित गर्नुभयो । जुन आजका समाजशास्त्रीय अध्ययनको मूल तत्वका रूपमा छन् ।
दार्शनिक परिवर्तन जस्तै धर्म र नैतिकताको क्षेत्रमा गौतम बुद्ध, महावीर र कन्फ्युसियसको ठुलो योगदान छ । उहाँहरूको त्याग, तपस्या र योगदानले विश्वलाई नयाँ चेतनाबाट विकास ग¥यो । इसापूर्व पाँचौँ/छैटौँ शताब्दीमा सिद्धार्थ गौतमले वैभवको जीवन त्यागी ‘बुद्ध’ बनेर संसारलाई ‘मध्यमार्ग’ को शिक्षा दिनुभयो । बुद्धले दुःख, तृष्णा र मोक्षको सम्बन्ध स्पष्ट गर्दै अहिंसा, करुणा र आत्मबोधको बाटो देखाउनुभयो । उहाँको यो विचारले केवल नेपाल र भारतमा मात्र नभएर चीन, जापान, श्रीलङ्का, बङ्गलादेशलगायत एसिया र पश्चिमी समाजमा गहिरो प्रभाव पा¥यो । त्यस्तै महावीरले जैन दर्शनको स्थापना गर्नुभयो । उहाँले सत्य, अहिंसा, अपरिग्रह र आत्मानुशासनको मार्गमार्फत जीवनको अर्थ व्याख्या गर्नुभयो । आत्मशुद्धि र मोक्ष प्राप्तिको उहाँहरूको अवधारणा आज पनि लाखौँ मानिसको जीवनशैलीको आधार बन्न पुगेको छ । चीनका महान् दार्शनिक कन्फ्युसियसले सामाजिक अनुशासन, कर्तव्यपरायणता, पारिवारिक निष्ठा र सामाजिक सद्भावको महìवलाई स्थापित गर्नुभयो । उहाँको दर्शन आज पनि चीन, कोरिया, जापान, भियतनामलगायतका राष्ट्रमा नैतिक जीवन र शासन पद्धतिको आधारका रूपमा छन् ।
यसलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने चाल्र्स डार्बिन र आइन्स्टाइनको संसार परिवर्तनमा ठुलो योगदान छ । १९ औँ शताब्दीमा चाल्र्स डार्बिनले ‘विकासको सिद्धान्त’ प्रस्तुत गर्दा समाजमा ठुलै हलचल ल्याएको थियो । उहाँले ‘प्राकृतिक छनोट’ मार्फत जातिको विकासक्रम व्याख्या गर्नुभयो । यसले मानव उत्पत्तिका धार्मिक व्याख्यालाई चुनौती दिँदै वैज्ञानिक सोचका आधारमा नयाँ युगको आरम्भ ग¥यो । यस्तै २० औँ शताब्दीमा एल्बर्ट आइन्स्टाइनले ‘सापेक्षताको सिद्धान्त’ प्रस्तुत गर्नुभयो । उहाँले भौतिकवादी सिद्धान्तको नियमलाई परिवर्तन नगरी समय, ऊर्जा, गति र ब्रह्माण्डप्रतिको सोचमा परिवर्तन ल्याउन सफल हुनुभयो । उहाँ केवल वैज्ञानिक मात्र नभएर शान्तिका पक्षपाती, मानवता र विश्व नागरिकको प्रवर्तकसमेत जोडिनुभयो । त्यसैले आइन्स्टाइनलाई एउटा विज्ञानका रूपमा मात्र नभएर दार्शनिकका रूपमा पनि चिनिन्छ ।
राजनीतिक क्रान्ति र विचारको योगदानका क्षेत्रमा माक्र्स, लेनिन र माओको विचारधारालाई महìवपूर्ण रूपमा लिइन्छ । दुनियाँको राजनीतिक इतिहासमा सबैभन्दा बढी प्रभाव पार्ने विचारमध्ये माक्र्सवाद, लेनिनवाद र माओवादको ठुलो योगदान र प्रभाव छ । कार्लमाक्र्सले समाजको संरचना, वर्ग सङ्घर्ष, श्रमको उचित मूल्य र राज्यप्रणालीको विश्लेषण गर्नुभयो । उहाँका अनुसार ‘दास कैदमा छ, ऊ क्रान्तिबिना मुक्त हुँदैन’ भन्ने सन्देश स्थापित गर्नुभयो । उहाँले ‘दी कम्युनिस्ट म्यानिफेस्टो’ मार्फत सम्पूर्ण श्रमिक समुदायमा एक किसिमको फरक चेतनाको विकास गर्नुभयो ।
कार्लमाक्र्सको विचारधाराबाट प्रभावित भएर रुसी क्रान्तिको नेतृत्व गरेका भ्लादिमिर लेनिनले पहिलो कम्युनिस्ट राज्यको स्थापना गर्नुभयो । उहाँले ‘सर्वहारा तानाशाही’ को सिद्धान्त प्रयोग गर्दै पुँजीवादविरुद्ध ठुलठुला आन्दोलनको नेतृत्व गर्नुभयो । उहाँले देखाएको बाटो पछ्याउँदै चीनमा माओत्सेतुङले जनयुद्धमार्फत सांस्कृतिक क्रान्तिको नेतृत्व पनि गर्नुभयो । माओको नेतृत्वमा चीनले सामन्तवाद अन्त्य गर्दै नयाँ समाज निर्माणको प्रयास ग¥यो । उहाँहरू तिनै जनाको उद्देश्य एउटै थियो, सर्वहारा श्रमजीवी वर्गको मुक्तिका निम्ति राजनीतिक व्यवस्थाको परिवर्तन । उहाँहरूको त्यो विचारधाराले संसारका धेरै राष्ट्रमा प्रभाव पार्न सफल भयो ।
आजसम्म संसारमा जति पनि परिवर्तन भए त्यो केवल एक जना व्यक्ति र उसको विचारले नै सम्भव भएको देखिन्छ । चाहे त्यो कुनै विचार, धर्म र भौतिकवादी दर्शन वा विज्ञानको नाममा होस् वा कुनै राजनीतिक क्रान्तिको नाममा होस् । हरेक परिवर्तनमा एक जना मानिस र उहाँको विचारलाई केन्द्रमा राखेर भएको हो । जुन महान् मानिस र उहाँको विचारधारा बहुसङ्ख्यक थिएनन् । न त ती मानिस संसार र समाजमा बहुसङ्ख्यक हुनुहुन्थ्यो । बरु उहाँहरू कतिपय विवादित हुनुहुन्थ्यो । विचारधारा र दृष्टिकोणको हिसाबले समेत अल्पमतमा हुनुहुन्थ्यो । उहाँहरू दण्डित पनि हुनुभएको थियो तर उहाँमा थियो केवल संसार र युग परिवर्तनको उत्कट चाहना, साहस र सही दृष्टिकोण । त्यसैले एक युगमा सफल हुनुभयो । आज हामी जुन संसारमा बाँचिरहेका छौँ त्यो केवल उनै सुकरातको योगदान, बुद्धको करुणा, डार्बिनको विज्ञान, माक्र्सको वर्ग सङ्घर्ष र आइन्स्टाइनको वैज्ञानिक सोच, चिन्तन र विचारधाराको युग हो । के हामी र हाम्रो देशका शासक प्रशासक, नेता र राजनीतिक दलले अङ्गीकार गरेका उनै नीति, सिद्धान्त र विचारका आधारमा नेपाललाई सुन्दर देशका रूपमा संसारमा स्थापित गर्न सक्छौँ ? यहाँका चरम बेथिति, भ्रष्टाचार र अन्याय अत्याचारलाई निषेध गर्दै मानव रूपी समाजको कल्पना गर्न सकिन्छ ? जब एक जना व्यक्ति र उहाँको विचारले संसार बदल्न सक्छ भने हाम्रो देशका नेता जो उहाँहरूकै विचारबाट प्रेरित छन्, हाम्रा नेताले नेपाल किन बनाउन सक्दैनन् ? लोकतन्त्रपछिको आमप्रश्न यही हो । सकिन्छ तर त्यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ । असम्भव त केही पनि छैन । इमानदारीपूर्वक प्रयास गर्ने हो भने समृद्ध नेपाल, विकसित नेपाल र समुन्नत नेपाल सम्भव छ ।