• ६ साउन २०८२, मङ्गलबार

मोरङको क्रसर उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

blog

खेमराज सापकोटा

रानी, साउन ६ गते । । मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीस्थित महादेव क्रसर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मङ्गल चेपाङ रहनुभएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सोमबार राति करिब १० बजे वेल्डिङको काम गरिरहेका बेला चेपाङलाई करेन्ट लागेको थियो। गम्भीर घाइते चेपाङलाई तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । 

मृतक चेपाङ करीब दुई महिना अघि मात्रै सो क्रसर उद्योगमा वेल्डिङ मिस्त्रीका रूपमा काम गर्न आउनुभएको थियो । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको छ ।