• ६ साउन २०८२, मङ्गलबार

मध्यमर्स्याङ्दीमा सौर्य ऊर्जा उत्पादन हुने

blog

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशय । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजु󠇗ङ, साउन ६ गते । दर्जनौँ जलविद्युत् आयोजना निर्माण भएको लमजुङमा अब सौर्य ऊर्जा पनि उत्पादन गरिने भएको छ । बेंसीसहर–११ चिती बरबोटमा एक दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने भएको हो ।

७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको जग्गामा पिक क्षमताको ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा उत्पादन केन्द्र निर्माण गरिन लागेको हो । सौर्य विद्युत् उत्पादनका लागि बेंसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय १३ वर्ग किलोमिटर जमिन प्रयोगमा ल्याइने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत् उत्पादनका लागि जर्मन सरकारको आर्थिक अनुदान सहयोगमा जर्मन विकास बैंक (केएफडब्ल्यू) को आर्थिक सहयोग रहनेछ । जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको २० प्रतिशत लगानीमा डेढ दशकअघि मध्यमर्स्याङ्दी जलविद्युत् परियोजना निर्माण भएको थियो । अहिले सोही केएफलडब्ल्यूको अनुदान सहयोगमा परियोजना क्षेत्रभित्रै सोलार ऊर्जा केन्द्र निर्माण हुन लागेको हो ।

२०८१ माघ २४ मा ठेक्का सम्झौता भइ २०८२ जेठ १३ बाट सम्झौता लागू गरिएको यो आयोजना २०८२ फागुन १ मा सक्ने लक्ष्य लिइएको आयोजना प्रमुख प्रकाश राउतले जानकारी दिनुभयो । उत्पादित विद्युत् मध्यमर्स्याङ्दीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जाबाट उत्पादित दुई मेगावाट डिसी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिँदा १ दशमलव ६ मेगावाट हुने आयोजनाले जनाएको छ । 

प्राधिकरणका अनुसार आगामी फागुन १ गतेभित्र ९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन हुनेछ । लुम्बिनी प्रदेशको नवलपरासी गण्डक सुरजपुरामा ५ दशमलव ८ मेगावाट र कर्णाली प्रदेशको सुर्खेत झुप्रामा २ मेगावाटको सौर्य ऊर्जा आयोजना सुरु भएको छ । कुलेखानीको मार्खुमा सौर्य ऊर्जा उत्पादनका लागि अध्ययन भइरहेको छ । 

ग्राउन्ड माउन्टेड ग्रिड जडित सौर्य ऊर्जा परियोजनाका लागि जर्मन सरकारले ८ मिलियन युरो बराबरको अनुदान उपलब्ध गराएको छ । चारवटै सौर्य ऊर्जा केन्द्रका लागि जर्मन सरकारबाट ८ लाख युरो अनुदान लगानी हुने र नेपालको करिब ३० प्रतिशत अर्थात् करिब ३ लाख युरो लगानी हुने प्रक्षेपण गरिएको छ ।

जर्मन परामर्शदाता संस्था गोपा टेकको प्राविधिक सहयोगमा भारतीय कम्पनी प्रोजेल ग्रीन इनर्जी लिमिटेडले यी आयोजनाको निर्माण गर्नेछ । निर्माण कम्पनीले नै आयोजनाको सम्पूर्ण डिजाइन, उपकरण आपूर्ति, जडान, गुणस्तर तथा सम्बन्धित प्रसारण लाइनहरुको निर्माण गर्नेछ । साथै सौर्य केन्द्रको ५ वर्षको सञ्चालन तथा मर्मतसम्भार र २ वर्षको जिम्मेवारी अवधि निर्माण कम्पनीले नै लिनेछ।