काठमाडौँ, साउन ६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटवर्क सुचारु गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
मन्त्रालयमा आज एनटिसी र एनटीएको २०८२-०८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर जी सेवा विस्तार व्यापक बनाउँदै फाइभ जी नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री गुरुङका अनुसार आफूले मन्त्री भए लगत्तै पटक पटक फाइभ जी नेटवर्क सुरु गर्न भन्दै आए पनि एक वर्ष पुगी सक्दा त्यसको कार्य सम्पादन नहुनु दुःख लाग्दो विषय रहेको बताउनुभयो ।
उहाँले अब भने चाँडो भन्दा चाँडो नेटवर्क विस्तार गर्नुपर्ने बताउनुभयो । त्यस्तै, छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु पर्याप्त नरहेको स्पष्ट पार्नुभयो । उहाँले फोर जी नेटवर्क हरेक जनताका घर घर मा पुर्याउने काम प्राथमिकतामा राख्नुपर्ने जोड्दिनुभयो ।
साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेम वर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गर्नुभएको हो ।
यसै गरी उहाँले राजमार्गहरूमा देखा पर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटिसीलाई ध्यानाकर्षण गराउनुभयो । जहाँ जनतालाई अत्यन्त नेटवर्कको जरुरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि उहाँले जोड दिनुभयो । मन्त्री गुरुङका अनुसार पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै पर्यटकीय गन्तव्यहरूमा नेटवर्क विस्तार र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “जहाँ जनतालाई अति आवश्यक पर्छ, त्यहाँ एनटीसी हुनुपर्छ, यो वर्ष फाइभ जीको सुरुवात छिट्टै गर्नु पर्छ ।”
साथै मन्त्री गुरुङले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा प्रचार गरेर एनटीसीबारे जनतालाई सुसूचित गराउन अनुरोध गर्नुभयो ।
छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटीएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनु पर्नेमा जोड्दिनुभयो ।
उहाँले सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजना समेत बनाउन निर्देशन दिनुभयो । “सूचना प्रविधिको क्षेत्रमा नवीन कार्य गर्ने युवालाई हौसला दिने खालका गतिविधि समेत समेट्नु पर्छ”, सचिव अर्यालले भन्नुभयो, “यस्ता कार्यक्रमहरू राख्नु समयको माग सँगै राज्यको दायित्व पनि हो ।”
एनटीएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ जी नेटवर्क सुचारु गर्ने कार्य लगभग अन्तिम चरणमा पुगेको मन्त्री समक्ष जानकारी गराउनुभयो । अब केही समयमै टेन्डर प्रक्रिया थालनी गरेर नेटवर्क विस्तार सुचारु गर्ने उहाँले बताउनुभयो ।
एनटीसिका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के (प्रधान) ले पनि फोर जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ जी सुरु गर्ने तयारीमा जुटेको बताउनुभयो ।