काठमाडौँ, साउन ६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन–२०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताउनुभएको छ ।
जापानमा आगामी वर्ष आयोजना हुने २०औँ एसियाली खुलकुदमा स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यका साथ राखेपले राष्ट्रिय टिम तयारी गरिरहेको छ ।
तयारीको विशेष प्रशिक्षणमा सहभागी १० खेल सङ्घका पदाधिकारी र मुख्य प्रशिक्षकको उपस्थितिमा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘खेलाडीले निरन्तर प्रशिक्षणको अवसर पाउनुपर्छ, अनि मात्र खेलाडीले पदक जित्न सक्छन् । यो योजनालाई सफल बनाउन खेल सङ्घको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी छ । यो अवधिमा कुन कुन समय के गर्ने भन्ने स्पष्ट र ठोस् कार्य योजना एक साताभित्र बुझाउनुस् ।’’
उहाँले खेलाडीको प्रशिक्षणका लागि सङ्घले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासङ्घ र दूतावाससँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।’’ उहाँले सङ्घहरुलाई तयारीका लागि बजेटको चिन्ता नगर्न आग्रह समेत गर्नुभयो ।
उहाँले नेपाल हाइ पर्फमेन्स सेन्टर र खेलकुद विज्ञान अनुसन्धान केन्द्र स्थापना हुनुले पनि खेलाडीको क्षमतामा उल्लेख्य सुधार हुने बताउनुभयो ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले प्रशिक्षणलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने सुझाव लिन बैठक राखिएको बताउदै खेलाडीको फिट्नेस टेस्टपछि प्रशिक्षण सुरु हुने बताउनुभयो ।
सहभागी खेल सङ्घका प्रतिनिधि र मुख्य प्रशिक्षकले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षकको व्यवस्था वा वैदेशिक प्रशिक्षण, सुविधामा बृद्धि, खुराक, स्पाइरिङ पार्टनरको व्यवस्थालगायतका विषयमा धारणा राख्नुभएको थियो ।
जापानमा हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राखेपले आर्थिक वर्ष २०८०/८१ देखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।
कुनैपनि एसियाली खेलकुद वा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लामो समयको तयारी सुरु गरिएको नेपाली खेलकुदको इतिहासमै पहिलोपटक हो ।
गत आर्थिक वर्षमा पारा तेक्वान्दोसहित विभिन्न १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षकसहित एक सय २१ जनालाई सुविधासहित विशेष प्रशिक्षणमा राखिएको थियो ।