• ६ साउन २०८२, मङ्गलबार

बिपी स्मृति दिवस

समाजवादी चिन्तक

blog

बिपी कोइराला प्रजातान्त्रिक समाजवादका चिन्तक हुनुहुन्थ्यो । सुरुमा उहाँ माक्र्सवादबाट प्रभावित र कम्युनिस्ट विचारधाराको नजिक हुनुहुन्थ्यो । यसबारे बिपीले भन्नुहुन्थ्यो, “कम्युनिस्ट आन्दोलनमा मलाई आकर्षित गर्ने व्यक्ति ट्रटस्की हुनुहुन्थ्यो । उहाँ अध्ययनशील बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । प्रतिभाको दृष्टिले उहाँ लेलिनबाट माथि हुनुहुन्थ्यो । सोभियत सङ्घमा सन् १९२९ को सत्ता लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँका हत्या घटनाका समाचार सुन्दा मलाई ठुलो चोट पुग्यो । तसर्थ मैले कम्युनिस्ट विचार नै त्यागेँ । तिनीहरू आफूलाई राष्ट्रिय भावना वा आन्दोलन अनुकूल बनाउन सकेका थिएनन् । आलोचनात्मक कुरा पचाउन सकिरहेका थिएनन् ।”

त्यसपछि आफू कांग्रेस समाजवादी पार्टीतिर लागेको बिपीले बताउनुभएको थियो । त्यस पार्टीमा लागेपछि भारतीय स्वतन्त्रता आन्दोलनमा अनूकूल वातावरण पाउनुभयो । उहाँका विचारमा धेरै व्यक्तिका लागि समाजवादी सिद्धान्तप्रति आकर्षित हुनुको मुख्य कारण यही नै थियो । खासमा समाजवादी आन्दोलन त राष्ट्रिय आन्दोलन कै एउटा अङ्ग थियो । समाजवादी पार्टी त्यसबेला माक्र्सवादी समाजवादी नामको एउटा ठुलो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको अङ्गसमेत थियो । तसर्थ त्यसमा लाग्दा दोहोरो सन्तुष्ट प्राप्त भएको थियो । कम्युनिस्ट आन्दोलनमा लाग्दा त्यस्तो दोहोरो सन्तुष्टि प्राप्त हुन सम्भव थिएन । त्यसका दुई वटा कारण थिए । पहिलो कम्युनिस्ट आन्दोलनले आफूलाई राष्ट्रिय भावनाबाट अलग्याएको थियो । दोस्रो ट्रटस्की र स्टालिनको सत्ता सङ्घर्षबाट उनीहरूको सिद्धान्त उदाङ्गो भइसकेको थियो ।

यसरी बिपीको कम्युनिस्टप्रतिको बुझाइले उहाँ प्रजातान्त्रिक समाजवादप्रति आकर्षित हुनुभएको थियो । माक्र्सवादबारे उहाँ भन्नुहुन्छ, “पहिला माक्र्सवादीहरू माक्र्सवादलाई प्राथमिकता दिन्थे । पछि माक्र्सवादलाई लेलिनवादसित जोडेर पार्टीको नामकरण गरे । लेलिनको ‘राज्य र क्रान्ति’ र प्लेखानोभ नामको माक्र्सवादका आधारभूत समस्याहरू तथा साम्राज्यवाद पुँजीवादको उच्चतम तह जस्ता पुस्तकहरू अत्यन्त महत्वपूर्ण थिए । माक्र्सका मौलिक कृतिहरू पढ्नुभयो, कम्युनिस्ट घोषणा पत्र र दास क्यापिटल पनि बिपीले पढ्नुभयो । माक्र्सवादप्रति बिपी निकै प्रभावित हुनुभयो । समाजको मनोविज्ञानमा आर्थिक अवस्थाले कसरी ठुलो असर पार्छ । क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरू कसरी क्रान्तिमा एक हुन्छन् भन्ने उहाँको धारणा निकै महत्वपूर्ण छ भन्ने बिपीको विचार थियो । त्यसै गरी उहाँ भन्नुहुन्छ, “म कालमाक्र्ससित गान्धीको तुलना गर्दिन । माक्र्स आफैँमा विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । त्यस्तै गान्धी पनि विशिष्ट नै हुनुहुन्थ्यो तर २० औँ शताब्दीका राजनीतिक विचारमध्ये गान्धी नै सबैभन्दा बढी सान्दर्भिक हुनुहुन्थ्यो । गान्धीवाद कसरी असफल भयो भन्ने सन्दर्भमा मैले केही आलोचना पनि गरेको थिएँ । पछि उहाँको विचार नवीन विचार हो भन्ने मैले क्रमशः बोध गर्दै गएँ । गान्धीको विचार लेलिनभन्दा पनि महान थियो ।”

दुई/तीन कारणले गान्धीको पुनर्मूल्याङ्कन गर्न थालेको बिपीले भन्नुभएको थियो । पहिलो भारत स्वतन्त्र भएपछि यसले पारेको नैतिक र आध्यत्मिक प्रभाव हो । भारतमा प्राप्त भएको लोकतन्त्र र स्वतन्त्रताको वातावरण गान्धीकै देन हो । गान्धीलाई साथ दिने डा. राजेन्द्रप्रसाद, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, डा. राममनोहर लोहियाहरू हुनुहुन्थ्यो । गान्धीको विचारलाई औद्योगिकीकरणसँग पनि जोडिएको छ । औद्योगिकीकरणले उत्पन्न गरेका समस्यालाई गान्धीले गम्भीरतापूर्वक लिनुभएको थियो । पश्चिमी जगत्ले औद्योगिकीकरण कारण प्राकृतिक स्रोतको विनाश भएको परिस्थिति बिग्रेको र प्रदूषणलगायत समस्याहरू बढेको अनुभव गर्न थालेका थिए ।

बिपी अगाडि भन्नुहुन्छ, “सम्भवतः ऊर्जा र पेट्रोलियम पदार्थका अभावका कारण हामीले आफ्नो आर्थिक नीतिको पुनर्मूल्याङ्कन गर्न बाध्य हुनुपर्ने छ । हामी कस्तो किसिमको समाज निर्माण गर्न चाहन्छौँ । हामीसँग अमेरिकी नमुना मात्र छ । रुसले पनि अमेरिकी नमुना नै प्रयोग गरिरहेको छ । उनीहरू पनि आफ्नो उत्पादनको स्तरसँग तुलना गर्छन् । अमेरिकामा बस्ने विश्वका छ प्रतिशत जनसङ्ख्याले विश्वको ६० प्रतिशत प्राकृतिक स्रोतको उपयोग गरिरहेका छन् । हामी त्यसको स्तरमा कहिल्यै उक्लन सक्दैनौँ । त्यो सम्भव नै छैन । तसर्थ गान्धीले दिएको नमुना नै उपयुक्त हुन्छ भन्ने बिपीको ठहर थियो ।

गान्धी समाजवादी चिन्तकभन्दा बेग्लै धारणा राख्नुहुन्थ्यो । गान्धीका अनुसार राज्य र समाजले सर्वप्रथम निमुखा र भोकाको समस्याको हल गर्नु पर्छ । त्यो काम शारीरिक श्रम र प्राकृतिक अवदानका भरमा मात्र पनि हुन सक्छ । त्यसका लागि पुँजीवादी सम्पन्नता चाहिँदैन । त्यसका लागि जीवन दर्शन र मूल्यबोधमा क्रान्ति हुनु पर्छ । समकालीन पुँजीवादले कुनै राष्ट्रको उन्नतिलाई वृद्धिदरका आधारमा मूल्याङ्कन गर्छन् । गान्धीले यस्तो मूल्याङ्कनमा विश्वास गर्दैन । कुनै पनि समाज र राज्यले सर्वप्रथम पूर्ण रोजगारको लक्ष्यलाई प्रमुखता दिनु पर्छ । आर्थिक विकासको वैकल्पिक अर्थात् गान्धीको दृष्टिकोणले विश्वको पुँजीवादीकरण वा भूमण्डलीकरणलाई राम्रो ठान्दैन । बिपीले पनि विकासको प्रचलित मोडलको विरोध गर्नुभएको छ । नेपाललाई ठुला ठुला आयोजना किन चाहियो ? सर्वप्रथम करोडाँै नेपालीको गाँस, बास, स्वास्थ्य र शिक्षाको समस्या हल गर्नु पर्छ । त्यसैले बिपीले राष्ट्रिय योजना आयोगमा हलो जोतेको किसानको तस्बिर राखी त्यसलाई सम्झेर योजना बनाउनु पर्छ भन्नुभएको थियो ।

बिपीले आफ्नो राजनीतिक जीवन गान्धी र भारतीय स्वतन्त्रता आन्दोलनबाट सुरु गर्नुभएको थियो । युवा अवस्थामा बिपी माक्र्सवाद र युरोपको सोसल डेमोक्रेसीबाट प्रभावित हुनुभएको थियो तर जीवनको अन्तिम समयमा पुनः गान्धीको नीतिको समीप पुग्नुभएको थियो । बिपीले जुन मोडल अन्तिम बेलामा दिनुभएको थियो, त्यो गान्धीको चिन्तनमा आधारित थियो । गाउँका गरिब जनताको आर्थिक विकासका लागि गाउँस्तरमा नै कुटिर उद्योग (ससाना उद्योग) हरू खोल्नु पर्छ जो गाउँलेको आवश्यकतालाई पूर्ति गर्न सकोस् । ससाना मिल, सहकारी बैङ्क, महिलाका लागि सहकारितामा आधारित उद्योगको स्थापना नै गान्धीको विकासको मोडल थियो । जुन एउटा अविकसित देशका लागि उपयुक्त हुन्छ ।

बिपीको विचारमा समाजवाद भनेको एउटा ठुलो सभ्यता र संस्कृति हो यसले केवल आर्थिक पक्षलाई मात्र नछोएर मानव सभ्यताका तमाम कलात्मक र सांस्कृतिक पक्षलाई बेवास्ता गरेको हुन्छ । मानिस रोटीका लागि मात्र बाँच्दैनन् । रोटीले मात्र उसलाई सन्तुष्ट पार्न सकिँदैन । बिपीले माक्र्सवादको गहन अध्ययन गर्नुभएको थियो । मानिसलाई केवल आर्थिक आधारमा मात्र हेर्न र मूल्याङ्कन गर्न खोजियो भने मानिस सानो र सीमित भएर जान्छ । मानिस भनेको त भावना र चेतनाको प्राणी हो । मानिसको उत्थानमा भावनाले महत्वपूर्ण स्थान ओगटेको छ । भावना निरपेक्ष हुँदा मानिस एक्लो र जडवत् हुन्छ । यसरी बिपी आर्थिक पक्षलाई मात्र जोड दिने र मानिसलाई केवल आर्थिक प्राणी मात्र सम्झने माक्र्सवादी विचारसँग सदैव असहमत रहनुभयो ।

माक्र्सवाद र त्यसका अनुयायीको भनाइलाई मात्र समाजवाद मान्ने हो भने हामी समाजवादको लक्ष्यमा कदापि पुग्न सक्दैनाँै भन्ने बिपीको भनाइ थियो । उहाँको चिन्तनको मूल तìव चेतना हो, पदार्थ होइन । मस्तिष्क पक्षलाई गौण रूपमा हेरेर समाजवादी संस्कृति अगाडि बढ्न सक्दैन । यही विचारको सारका रूपमा उहाँ सधैँ भन्ने गर्नुहुन्थ्यो, मानिस ब्रेडले होइन ब्रेनले सञ्चालित हुन्छ । बिपीले जहिले पनि समृद्धि र उत्पादनमा जोड दिनुहुन्थ्यो । प्रचूर मात्रामा राज्यमा उत्पादन भएन भने समाजवादको कल्पना गर्न सकिँदैन । गरिबी र अभावग्रस्त समाजमा समाजवाद फस्टाउन सकिँदैन । उहाँले एक लिटर दुध सय जनालाई बाँड्दा एक÷एक चम्चाले मात्र पुग्छ । यसले समानता र सन्तुष्टि दिन सक्दैन । त्यसैले समाजवाद र समता रूपी समाज निर्माणका लागि प्रशस्त पुँजीको उत्पादन हुनै पर्छ । जति बढी वस्तुको उत्पादन हुन्छ त्यति नै समाज समृद्धि र समतामूलक बन्छ । यसरी बिपीको समाजवादी नीतिलाई बुझ्न सकिन्छ ।