• ६ साउन २०८२, मङ्गलबार

वैज्ञानिक र प्रयोगात्मक पठनपाठन

blog

विसं २०१६ साल नेपालमा उच्च शिक्षाको सुनौलो वर्ष थियो । यसै वर्ष नेपालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो । यस विश्वविद्यालयले भारतीय विश्वविद्यालयको पाठ्यक्रमलाई केही संशोधन गरेर आफ्नो कार्यक्रम लागु गर्‍यो । नेपालमा शिक्षणका निम्ति भारतीय शिक्षकलाई कोलम्बो प्लान अन्तर्गत बोलाइएको थियो । विश्वविद्यालयमा शिक्षण गर्न आएका शिक्षकका निम्ति जमल र त्रिपुरेश्वरमा भवनहरू बनेका थिए । यी शिक्षकले त्रिचन्द्र र त्रिभुवन विश्वविद्यालयमा शिक्षण गर्नुहुन्थ्यो । नेपालमा नै शिक्षक तयार भएपछि भारतीय शिक्षक क्रमशः फर्केर जानुभएको थियो ।

विसं २०२८ सालमा नयाँ शिक्षा योजना लागु भएपछि विद्यालय र विश्वविद्यालयका संरचना र पाठ्यक्रमका केही परिवर्तन भएका थिए । विद्यालयमा साधारण र प्राविधिक गरी दुई किसिमका शिक्षा लागु गरिएका थिए । त्रिभुवन विश्वविद्यालयका संरचनात्मक र पाठ्यक्रममा संशोधन गरिएका थिए । राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भएपछि त्रिुभवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र डिनहरूको व्यवस्था गरिएको थियो । यसबाहेक त्रिभुवन विश्वविद्यालय अन्तर्गत राष्ट्रिय सेवा र पाठ्यक्रम विकास केन्द्रको स्थापना गरिएको थियो । स्नातकोत्तर तहका अन्तिम वर्षका विद्यार्थीले एक वर्षमा दिनुपर्ने परीक्षा छ/छ महिनामा दिनुपर्ने भयो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागु भएपछि विश्वविद्यालयका कुलपति हुने व्यवस्थामा परिवर्तन गरियो । जस अनुसार प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्था गरिएको थियो । केही विश्वविद्यालयमा सहकुलपतिको व्यवस्था हटाई शिक्षामन्त्रीलाई नै कुलपति हुने व्यवस्था गरियो । यसका साथै त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालयमा शिक्षाध्यक्ष राख्ने व्यवस्थालाई निरन्तरता दिइएको पाइँदैन । विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रक्रियामा पनि परिवर्तन गरेर विश्वविद्यालयका सबै पदमा पदपूर्ति प्रतिस्पर्धाबाट गर्ने अभ्यास गरिएको पाइन्छ । यसमा उमेरको प्रावधान राखिनाले युवालाई विश्वविद्यालयको नेतृत्व दिन खोजेको देखिन्छ । शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्ने प्रयास शिक्षा मन्त्रालयबाट गरिएको पाइन्छ । दलीय व्यवस्थामा शिक्षक र विद्यार्थीलाई दलबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अलग गर्न सकिने कुरामा शङ्का गर्ने गरिन्छ ।

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भारलाई थेग्न सक्दैन भन्ने सिद्धान्तका आधारमा बहुविश्वविद्यालयको अवधारणा अगाडि सारेको थियो । यस अनुसार त्रिभुवन विश्वविद्यालयले आफ्ना चल अचल सम्पत्ति हस्तान्तरण गर्दै जाने सिद्धान्त स्वीकार गरेको थियो तर यस्तो भएको पाइँदैन । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको भौतिक सम्पत्ति व्यक्तिको नियन्त्रणमा राखिएको कुरामा छानबिन गरेर प्रतिवेदन बुझाइएको छ । यस अनुसार कारबाही अगाडि बढेको पाइन्न । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रयोगात्मक विद्यालयका रूपमा खोलिएको ल्याबोरेटरी विद्यालय खण्डहरमा परिणत हुँदै छन् । शिक्षाशास्त्रलाई शिक्षण अभ्यासमा आफ्ना विद्यार्थीलाई पठाउन सकस परेको छ । त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा र सेमेस्टर परीक्षा दुवै किसिमका परीक्षा प्रणाली सञ्चालित छन् । यी दुवै परीक्षाको परिणाम समयमा प्रकाशित भएन भन्ने गुनासो छ । त्रिभुवन विश्वविद्यालयले वार्षिक क्यालेन्डरलाई प्रभावकारी ढङ्गबाट लागु गर्न नसकेको गुनासो आउने गर्छ । त्रिवि सेवा आयोगले आफ्ना केही कार्यक्रम लोक सेवा आयोगबाट सञ्चालन गराउने गर्छ । विद्यार्थी निर्वाचनको कार्यतालिका र विश्वविद्यालय सञ्चालनको कार्यतालिका जुध्न जाँदा प्रशासनिक तनावका साथै तोडफोडको गतिविधि हुने गर्छ । एउटै उपाय विद्यार्थी र विश्वविद्यालयबिच निरन्तर संवाद गरेर समाधान गरिनु पर्छ । विश्वविद्यालय विद्यार्थीका निम्ति खुलेका हुन् । अन्य सबै कुरा तिनका सहयोगका निम्ति हुन् भन्ने कुरा बिर्सनु हुँदैन । विद्यार्थीले पनि विश्वविद्यालयमा प्रशासन हाम्रै निम्ति हुन् भन्ने कुरा बिर्सनु हुँदैन । प्रादेशिक लोक सेवा आयोग पनि कार्यरत रहेका छन् ।

हाम्रो शिक्षा प्रणाली गुणात्मक शिक्षातर्फ उन्मुख हुनु पर्छ । यसका निम्ति सबै विश्वविद्यालय खास गरेर त्रिभुवन विश्वविद्यालयले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसका निम्ति ‘क्यालेन्डर अफ अपरेसन’ लागु गर्ने, पाठ्यक्रम र पाठ्यपुस्तक समय अनुसार परिवर्तन तथा परिमार्जन गर्ने, कक्षाको अनुगमन गर्ने, पर्याप्त भौतिक सुविधा उपलब्ध गराउने, वैज्ञानिक र प्रयोगात्मक पठनपाठन र परीक्षा पद्धति लागु गर्नुपर्ने हुन्छ । 

ठुलो बलिदानपछि देशमा गणतन्त्र आएको छ । यसको संवर्धन र विकासका निम्ति त्रिभुवन विश्वविद्यालयले आफू र राष्ट्रप्रति नकारात्मक भावना हटाउने र आफ्ना विद्यार्थीलाई स्वदेशमै स्वरोजगार र विश्व बजारमा खपत हुन सक्ने बनाउनु पर्छ । यस आर्थिक वर्षमा विगतका वर्षभन्दा बढी दुई खर्ब ११ अर्ब १६ करोड रुपियाँ शिक्षा विज्ञान र प्रविधिका निम्ति विनियोजन गरिएको छ । यो बजेटको सदुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्ना कार्यक्रमलाई अगाडि बढाउनु जरुरी छ ।