• १२ साउन २०८१, शनिबार

पहिचानजन्य काममा सबै जुट्नुपर्छ : मन्त्री श्रेष्ठ

blog

तस्बिर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १७ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र संस्कार नै पहिचानको मूल आधार भएकाले त्यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । नेवार समुदायको संस्कृति र संस्कार दिनदिनै ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो ।

नेपाल (नेवार) भाषाको साप्ताहिक पत्रिका ‘लहना’को ४०० अङ्क प्रकाशन भएको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भन्नुभयो, “नेवार समुदायबाट यो अवस्थासम्म आइपुग्दा निकै चुनौती र समस्यासँग जुध्नुप¥यो, पदमा रहँदा वा नरहँदा नेवार समुदायको पहिचानजन्य काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” 


नेवार समुदायको कला, साहित्य, मूर्त तथा अमूर्त संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरेर पहिचान कायम राख्नु अनिवार्य रहेको तर त्यसलाई जोगाउन चुनौतीपूर्ण अवस्था आएको उहाँले चर्चा गर्नुभयो । समुदायका सबैले आफ्नो भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणमा लागेमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रिकाका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद राजेश शाक्य, नेपाल भाषा एकेडेमीका कुलपति यज्ञराज धाख्वा, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, नेवाः पत्रकार राष्ट्रिय दवुका अध्यक्ष सुरजबीर बज्राचार्य, लहनाका सम्पादक सुरेन्द्रभक्त श्रेष्ठलगायतले पत्रिकाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सम्मान प्रदान

यसैगरी लहना पत्रिकाका व्यवस्थापन समूहले सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पत्रकारिता माध्यमबाट नेवार समुदायको उत्थानमा योगदान दिएको भन्दै गोरखापत्रका फोटो पत्रकार प्रजित शाक्य, पत्रकार यलु जोशी पनि सो अवसरमा सम्मानित हुनुभयो । शाक्यलाई नगद १५ हजार र सम्मानपत्र तथा जोशीलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।


सो अवसरमा संघीय मन्त्री राजेन्द्र श्रेष्ठ, पूर्व मेयर विद्यासुन्दर शाक्य, पत्रकार विराजकाजी राजउपाध्याय, रत्नकाजी महर्जन, कलाकार रामकृष्ण खड्गीलगायतका व्यक्तित्वहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।